नवराज कट्टेल
विराटनगर, असोज ७ गते । बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् ।
यद्यपि अहिलेसम्म निर्यात रोकेको भनेर बङ्गलादेशले भनिसकेको छैन तर, नेपालमा कच्चा जुट निर्यात गर्न कडाइ गरेपछि नेपालमा आयात गर्न नसकिएको उद्योगीहरूले बताएका छन् ।
नेपालबाट वार्षिक आठ अर्ब रुपियाँभन्दा बढीका जुटका सामग्री भारत निर्यात हुँदै आएको छ । जुटका सामग्री उत्पादनका लागि कच्चा जुटका लागि भने नेपाल–भारत र बङ्गलादेशसँग निर्भर छन् । त्यसमध्ये पनि दुई वर्षयता बङ्गलादेशबाट आयात गरिने कच्चा भारतको भन्दा कम मूल्य पर्ने गरेको थियो । त्यसैले बङ्गलादेशको कच्चा जुटका तयारी सामग्री भारत निर्यात गर्दा उद्योगीलाई बढी मुनाफा हुन्थ्यो ।
बङ्गलादेशबाट कच्चा जुट आउन नसक्दा भारतमा निर्भर हुनुपर्ने हुन्छ तर, कच्चा पनि भारतबाटै ल्याएर वस्तु निर्यात गर्दा त्यहाँका उद्योगका उत्पादनसँग नेपाली उद्योगका उत्पादन प्रतिस्पर्धी बन्न सक्दैनन् ।
नेपाल जुट उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवं बाबा जुट मिल्स उद्योगका सञ्चालक प्रकाश मुन्दडाका अनुसार बङ्गलादेशले एकाएक यस्तो गरिदियो । नेपालले बङ्गलादेशका लागि सौहार्दपूर्ण बजार स्थापित गरिदिएको थियो । उद्योगी मुन्दडाले भारतसँगसमेत कच्चा जुट अभाव रहेकाले अझ बढी सङ्कट हुने सङ्केत गर्नुभयो । भारतले नेपालको सीमा क्षेत्रमा उत्पादन भएको जुटसमेत किसानसँग खरिद गरेर लगिरहेको मुन्दडाको दाबी छ ।
मोरङ सुनसरी औद्योगिक कोरिडोरमा छ वटा जुट उद्योग सञ्चालनमा छन्, जसले नेपालमा उत्पादन भएको १५ देखि २० हजार टन जुट खपत गर्दछन् । यी छ वटा उद्योगले वार्षिक ७० हजार टन जुट प्रशोधन गरेर वस्तु निर्यात गर्दै आएका थिए । आयात हुने ५० देखि ६५ हजार टन जुट भारत र बङ्गलादेशबाटै आयात हुने गरेको थियो । उद्योगी मुन्दडाका अनुसार सिजनमा कहाँ सस्तो पर्छ त्यहीँ बढी जुट खरिद गर्ने ध्याउन्न हुन्थ्यो तर यस पटक बङ्गलादेशले रोकिदियो र भारतमा उत्पादन नै कम भएको हो ।
जुटको सिजन साउन १५ देखि नै लाग्छ । यस पटक भारतभन्दा बङ्गलादेशमा १० देखि १५ रुपियाँ प्रतिकिलोग्राम सस्तो थियो । स्वस्तिक जुट मिल्सका सञ्चालक रमेश राठीले युवामा झन्झट बेहोर्ने बानी हटेका कारण भारत र बङ्गलादेशमा पनि खेती विस्थापित हुँदै गएको बताउनुभयो । नेपालमा जुट खेतीप्रति आकर्षण १५ वर्षअगाडि नै घटिसकेको थियो ।
उद्योगी राठीले बङ्गलादेशको वाणिज्य मन्त्रालय अन्तर्गतको निर्यात शाखाले बङ्गलादेश जुट एसोसिएसन (बिजेए) लाई सेप्टेम्बर ८ मा पत्र काटेको थियो, जसमा कच्चा जुटको निर्यातलाई ससर्त निर्यातको सूचीमा राखिएको जानकारी दिएको थियो । त्यसपछि कारोबार गर्दाको क्षण निर्यातसम्बन्धी एलसी, टिटी, सम्झौता, प्रोफर्मा इन्भ्वाइसलगायतका सबै कागजात एसोसिएसनका कार्यालय र वाणिज्य मन्त्रालयमा बुझाउन भनियो । त्यस नियममा बङ्गलादेशका निर्यातकर्ता हच्किएका हुन् । निर्यातकर्ताले ससर्त सूची अनुसारको नियम पालना गर्नुभन्दा नेपालमा जुट रोक्नु उचित ठानिरहेका हुन् । त्यसको मार भने नेपालका उद्योग र यहाँ रोजगारी पाइरहेका नेपालीमा परेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा बङ्गलादेशबाट किलोको १०१ रुपियाँ ८० पैसा र भारतबाट १०४ रुपियाँ १२ पैसामा कच्चा जुट नेपालमा आयात भएको थियो । बङ्गलादेशबाट दुई करोड ६३ लाख ५७ हजार ७४० किलो र भारतबाट दुई करोड ३७ लाख ८७ हजार आठ सय किलो कच्चा जुटको आयात भएको थियो ।
अघिल्लो आव २०८०/८१ मा बङ्गलादेशबाट दुई करोड ३७ लाख ३५ हजार किलो र भारतबाट दुई करोड सात लाख ६१ हजार ८८३ किलो आयात भएको थियो । बङ्गलादेशबाट ८२ रुपियाँ प्रतिकेजी र भारतबाट ८७ रुपियाँ २६ पैसा प्रतिकेजी मूल्यमा जुट आयात भएको देखिन्छ । आव २०७९/८० मा भने भारतबाट कच्चा जुट बढी आयात भएको देखिन्छ । बङ्गलादेशबाट ९८ रुपियाँ २६ पैसा प्रतिकिलोग्राममा एक करोड ३१ लख ९८ हजार ७२६ किलो र भारतबाट किलोको ९९ रुपियाँ ६० पैसामा तीन करोड ३९ लाख ५० हजार २२९ किलो आयात गरिएको देखिन्छ ।
उद्योगी राठीका अनुसार एक/दुई रुपियाँ मात्रै सस्तो मूल्य भए बङ्गलादेशबाटभन्दा भारतबाटै जुट आयात गर्दा ढुवानीबाट सहुलियत लिन सकिन्छ ।
चालु आवको साउनमा भारतबाट पाँच करोड ६५ लाख ६७ हजार मूल्यको चार लाख ३२ हजार चार सय किलो जुट आयात भएको देखिन्छ । यसमा एक किलो जुटको १३० रुपियाँ ८२ पैसा परेको उद्योगी राठी बताउनुहुन्छ । बङ्गलादेशबाट गत साउनमा किलोको ११९ रुपियाँ चार पैसामा २८ करोड ५७ लाख छ हजार मूल्यको २४ लाख किलो कच्चा जुट आयात भएको थियो । पछिल्लो २० दिनयता भने बङ्गलादेशबाट जुट आउन सकेको छैन । सेप्टेम्बर ७ तारिखमा भुक्तानी भएका वा एलसी खोलिएका सामान चार दिनअगाडि मात्रै छोडिएको छ । ८ सेक्टेम्बरमा वाणिज्य मन्त्रालयको परिपत्रपछि निर्यात रोकिएको छ ।