• ७ असोज २०८२, मङ्गलबार

‘म सहयोग गर्न आएको हुँ’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू शासन गर्न नभई सहयोग गर्न आएको बताउनुभएको छ । सोमबार शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जेनजी आन्दोलनको मुद्दालाई आत्मसात् गर्दै सुशासन र चुस्तदुरुस्त सेवालाई प्राथमिकता दिने बताउनुभएको हो । मन्त्री खरेलले काठमाडौँका सार्वजनिक स्थलमा दुई महिनाभित्र र सात प्रदेशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको छ । फागुन २१ गतेको निर्वाचन, भष्टाचार नियन्त्रण र सुशासन तथा पुनर्निर्माण सरकारको प्रमुख काम भएको चर्चा गर्दै मन्त्री खरेलले भन्नुभयो, “खरानी र धुलो टकटक्याउँदै जनतालाई अनुभूति हुने गरी हामीले केही काम पक्कै गर्छौं ।”

आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको निर्माणले मात्र पुनर्निर्माण नहुने भएकाले सुशासन, न्याय र भष्ट्राचारको अन्त्य पनि सँगसँगै गर्नुपर्ने उहाँको भनाइ छ । मन्त्री खरेलले भन्नुभयो, “यो सरकार जेनजी आन्दोलनको जगमा उभिएको छ । यसले गर्ने काम जटिल र चुनौतीपूर्ण छन् ।” उहाँले नेपालको कर्मचारी प्रशासन राजनीतिक हस्तक्षेप भएन भने काम गर्न सक्छ भनेर आफूले बुझेको बताउँदै भन्नुभयो, “देशको कर्मचारी  संयन्त्रलाई विश्वास गर्न चाहन्छु । छ महिनापछि म बाहिरिँदा नेपालका कर्मचारीतन्त्र सक्षम छ भन्न पाऊँ ।” प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्ने प्रतिबद्धतासहित देशको जिम्मेवारी लिनुभएको र त्यसमा आफूहरूले सहयोग गर्ने उहाँको भनाइ छ । 

एआई नीति कार्यान्वयनमा गएको र डिजिटल नेपाल फ्रेमवर्क मन्त्रीपरिषद्बाट पास हुने क्रममा रहेकाले यी दुवै काम प्रभावकारी रूपमा गरिने उहाँले बताउनुभयो । जीवनको यो २५ वर्षमा अरूलाई प्रश्न सोधेर बिताएको चर्चा गर्नुहुँदै मन्त्री खरेलले आफू अहिले जिम्मेवारीमा आएर जवाफ दिने ठाउँमा पुगेको बताउनुभयो । आफू पत्रकारिताको पृष्ठभूमिबाट आएकाले देश बनाउन सबै पक्षको हातेमालोको आवश्यकता हुने बताउनुभयो । नेपाली पत्रकारिताले देशको परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अबका दिनमा पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री सुशीला कार्कीले सुशासन कायम गर्ने प्रतिबद्धतासहित देशको जिम्मेवारी लिनुभएको र त्यसमा आफूहरूले सहयोग गर्ने उहाँले बताउनुभयो । नेपाललाई डिजिटल फ्रेमवर्क बनाउने यसअघिको सरकारको योजनालाई आफूले पनि अगाडि बढाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । युवापुस्ताका लागि केही भए पनि राम्रो गर्न पाऊँ भन्ने आफ्नो उद्देश्य रहेको बताउँदै उहाँले थप्नुभयो, “देशको महत्वपूर्ण ठाउँमा इन्टरनेटको निःशुल्क सेवा प्रदान गर्नेछौँ । इन्टरनेट पहुँच सबैसामु पु¥याउन यो काम गर्नु पर्छ ।” अबको दुई महिनाभित्र निःशुल्क इन्टरनेट सेवा व्यवस्था भइसक्ने उहाँले बताउनुभयो । 

मन्त्रालयका सचिव राधिका अर्यालले अन्तरिम सरकारको जिम्मेवारी पूरा गर्न मन्त्रालयको प्रतिबद्धता रहेको बताउनुभयो । सूचना प्रविधिलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सके भष्ट्राचार नियन्त्रण गरी सुशासन कायम गर्न सकिने उहाँको भनाइ छ । 

मन्त्री खरेल पत्रकारिता पृष्ठभूमिको हुनुहुन्छ । इमेज च्यानलको समाचार प्रमुखका रूपमा सक्रिय खरेल दोलखाको कालिञ्चोक गाउँपालिका, सुनखानी भदौरेका स्थायी बासिन्दा हुनुहुन्छ । स्थानीय कालीनाग माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि काठमाडौँको रत्नराज्यलक्ष्मी क्याम्पसमा अध्ययन गर्नुभएका उहाँले पत्रकारितमा स्नातकोत्तर गर्नुभएको छ भने अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गर्दै हुनुहुन्छ । विगत २५ वर्षदेखि उहाँ पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।