गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा ८० बमोजिम नियुक्त चार मन्त्रीलाई राष्ट्रपति पौडेलले सोमबार शपथ गराउनुभएको हो ।
राष्ट्रपतिले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा महावीर पुन, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा डा. मदनप्रसाद परियार र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेललाई शपथ गराउनुभयो । प्रधानमन्त्री कार्की नेतृत्वको सरकारमा सात जना मन्त्रीले जिम्मेवारी समाल्नुभएको छ । मन्त्रीत्रय पुन, परियार र खरेललाई एक/एक मन्त्रालयको मात्रै जिम्मेवारी दिइएको छ भने मन्त्री सिन्हालाई उद्योगसँगै कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । अब प्रधानमन्त्री कार्कीले नौ वटा मन्त्रालयको जिम्मेवारी समाल्नुभएको छ ।
राष्ट्रपतिबाट शपथ लिएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारमन्त्री खरेलले अहिले देश बचाउने र देश बनाउने समय आएको प्रतिक्रिया दिनुभयो ।
यसैबिच शिक्षामन्त्री पुनले मन्त्री हुँदिनँ भन्दाभन्दै बाध्यताले जिम्मेवारी लिनु परेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “मैले वीरगन्ज औजार कारखाना चलाउँला भनेको थिएन । परिस्थितिले चलाउने बाध्यता बनायो । मन्त्री पनि त्यस्तै भयो । बाध्यता भएपछि छोरो मान्छेले जिम्मेवारी लिएर पूरा गर्नु पर्छ ।” मन्त्री पुनले छ महिनाका लागि मन्त्री भएकाले धेरै काम गर्न नसकिने स्वीकार गर्नुभयो । उहाँले तत्काल नयाँ ऐन ल्याएर पास गराउन समय नभएकाले वर्तमान मौजुदा ऐनमा जति गर्न सकिन्छ, त्यति गरिने बताउनुभयो ।
मन्त्री पुनले जीवनमा १३ वर्ष पढाएर धेरै अनुभव हासिल गरेकाले अरू विज्ञको समेत सल्लाह सुझाव लिएर अघि बढ्ने बताउनुभयो । “म भगवान् भएको भए तीन नेत्र लगाएर यो यो गर्छु, त्यो गर्छु भनेर झ्वाट्ट भन्ने थिएँ । अपर्झट मन्त्री भएको छु । यो काम गर्छु भनेर योजना बनाएर आएको भए भन्न सकिन्थ्यो । अपर्झट किताब बेच्दै गरेको मान्छेलाई मन्त्री बनाएर पठाएका छन्,” उहाँले भन्नुभयो ।
उहाँले युवालाई जे काम गरे पनि आफ्नै बुद्धि र विवेक लगाएर काम गर्न सुझाव दिनुभयो । उहाँले सेवासुविधा केही नचाहिने प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मन्त्रालयमै ओछ्यान लगाउने हो, त्यतै सुतेरै काम गर्ने हो । त्यहीँ पकाउने, त्यहीँ खाने र सुत्ने हो ।”
यसअघि अर्थमन्त्रीमा रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्यालले गत भदौ ३० गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
फाइल अड्काउने प्रवृत्ति सहन्न
यसै गरी नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले मन्त्रालय र मातहतका निकायबाट सम्पादन हुने काममा जनतालाई अनावश्यक झन्झट नदिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
सोमबार केशरमहलस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गरेपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री पुनले सेवाग्राहीका कुनै पनि काममा ढिलासुस्ती गर्न नहुने बताउनुभयो ।
मन्त्री पुन म्याग्दीको नाङ्गी भन्ने गाउँमा २०११ साल माघ ५ गते जन्मनुभएको हो । तत्कालीन प्रमाणपत्र तह (हाल कक्षा १२) सम्मको शिक्षा नेपालमै पूरा गर्नुभएका पुन स्नातक तह अध्ययनका लागि ३३ वर्षको उमेरमा अमेरिकाको नेब्रास्का विश्वविद्यालयमा जानुभएको थियो । त्यहा उहाँले पूर्ण छात्रवृत्ति पाउनुभएको थियो ।
अमेरिकाबाट फर्केपछि उहाँले पुराना कम्प्युटर तथा सूचना प्रविधिसँग सम्बन्धित उपकरण जम्मा गरेर म्याग्दीको दुर्गम गाउँमा इन्टरनेट सुविधा पु¥याउनुभएको थियो । त्यसपछि उहाँले २०६९ सालदेखि राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर वैज्ञानिक खोज तथा अनुसन्धान सुरु गर्नुभएको थियो । सामाजिक क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने रोमन म्याग्यासेसे पुरस्कार प्रदान गरिएको थियो । सोही वर्ष उहाँलाई अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।
यसैबिच कृषिमन्त्री डा. परियारले किसानले समयमै किन मल पाउन सकेका छैनन् भन्नेबारेमा खोजी गरिने बताउनुभयो । “मन्त्रीको भर्खरै मात्र शपथ लिएको छु । किसानले समयमै किन मल पाउन सकेका छैनन्, त्यसबारे खोजबिन गरिने छ,” उहाँले भन्नुभयो, “किसानलाई समयमै मल उपलब्ध गराउनु पर्छ । किसानलाई मल अत्यन्तै आवश्यक हो । मल भएन भने किसानले उत्पादन बढाउन सक्दैनन् ।” उहाँले आफ्नो कामको सुरुवात किसानलाई हित हुने काम गरेर अघि बढ्ने वचन दिनुभयो ।