• ७ असोज २०८२, मङ्गलबार

स्वास्थ्य मन्त्रालय भवन प्रयोग गर्नै नमिल्ने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन अब प्रयोग गर्न नमिल्ने भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी गर्दा उक्त भवन पूर्ण रूपमा ध्वस्त भएको थियो । 

मन्त्रालयका सचिव डा. विकास देवकोटाले जुन डिजाइनले भवन बनाइएको थियो, त्यसको जग पूर्ण रूपमा क्षति भएकाले अब प्रयोग गर्न नमिल्ने बताउनुभयो । उहाँले इन्जिनियरिङ निरीक्षणपश्चात् भवन पूर्ण रूपमा ध्वस्त भएकाले प्रयोग गर्न नमिल्ने जानकारी गराएको बताउनुभयो । 

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले स्वास्थ्य मन्त्रालय जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएकाले प्रयोगमा ल्याउन नमिल्ने बताउनुभयो । सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरले गरेको अध्ययनबाट मन्त्रालयको भवन प्रयोग गर्न नमिल्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालय भवन विश्वको प्रख्यात आर्किटेक्ट लुई कानको शैलीमा पिल्लरबिनाको नमुना भवनका रूपमा चित्रण छ ।