एक्काइसौँ शताब्दी अर्थात् सूचना प्रविधिले क्रान्ति ल्याएको नवीन युगमा सञ्चार माध्यमको भूमिका दिनानुदिन बढिरहेको छ । आज हरेक व्यक्ति सूचना र सञ्चारबाट अलग भएर बाँच्ने सक्ने अवस्थामा रहेको पाइँदैन । मानिसका आधारभूत आवश्यकता भनेको ‘गाँस, बास र कपास’ हुन् भनेर पढिने पाठ्यक्रमको रूप बदलिएको छ । सूचना र सञ्चारलाई नयाँ प्रविधिसँग जोड्दै मानिसले आफ्नो आधारभूत आवश्यकता पूरा गरिरहेको छ । सूचना र सञ्चारको खेती गर्ने व्यावसायिक पत्रकारिता पेसामा अहिले ठुलो उथलपुथल आइरहेको छ । परम्परागत ढङ्गबाट समाचार सङ्कलन र सम्प्रेषण गर्ने व्यावसायिक पत्रकारहरूको सीमित सीमालाई आजको डिजिटल युगले ठुलो उथलपुथल ल्याइदिएको छ । पत्रकारिताको परम्परागत परिभाषाभन्दा माथि उठेर आमनागरिकले समेत सहजै सूचना, समाचार र विचार सम्प्रेषण गर्ने अवसर पाएका छन् । प्रत्येक नागरिकले ‘सञ्चारकर्मी’ को हैसियतमा सञ्चारीय भूमिका निर्वाह गर्दा ‘नागरिक पत्रकारिता’ को नयाँ बहस मात्र जन्मिएको छैन, त्योभन्दा बढ्ता यसको जिम्मेवारीको आयाम पनि फैलिरहेको छ ।
नागरिक पत्रकारिताको प्रभाव
नागरिक पत्रकारिताले स्थानीय घटनाक्रमको समाचार सङ्कलन, मनोरञ्जन र समाचारमूलक सामग्रीलाई स्वतन्त्र रूपमा प्रस्तुत गर्ने नयाँ बाटो खोलेको छ । यसले आमनागरिकलाई सामाजिक विकास र खबरदारीका लागि थप सक्रिय हुन प्रोत्साहन दिएको छ । धेरै जसो परम्परागत सञ्चारकर्मी र अनुसन्धानकर्ताले नागरिक पत्रकारिताबाट प्राप्त हुने जानकारीलाई महत्वपूर्ण स्रोतको रूपमा लिइरहेका छन् । यथार्थमा नागरिक पत्रकारिताले सूचना र समाचार छिटो, सजिलै र व्यापक रूपमा फैलाउने सामथ्र्य पाएको छ । यसले प्रत्येक मानिसलाई एउटा सबल र सक्षम ‘सञ्चारकर्मी’ बन्ने अवसर पनि दिइरहेको छ । विशेष गरी अहिलेको जेनजी पुस्ता यसैमा बढी रमेको पाइन्छ । एउटा एन्ड्रोइड मोबाइल फोन र इन्टरनेटको सहायतामा आज प्रत्यक्ष रूपमा सञ्चारक कर्म भइरहेको छ । उसले मूलतः सूचनामूलक सामग्री उत्पादन र प्रसार गर्दै आमसर्वसाधारणलाई समेत आफू व्यावसायिक पत्रकारभन्दा कम नभएको आभास दिइरहेको हुन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले जति छिटो सूचना प्रवाह गरिरहेको छ, त्यति नै बढी समुदायका क्रियाकलाप र मानिसका दैनिकी पनि चलायमान भइरहेको छ । कैयौँ परिघटनामा भने ‘नागरिक पत्रकारिता’ मा प्रत्यक्ष उत्तरदायित्व बहन नहुँदा सोको दुरुपयोग हुने गरेको छ । यसको परिणामस्वरूप सामाजिक थिति र विधिमा नकारात्मक असर परिरहेको देखिन्छ । यसैले सन्देशको प्रामाणिकता वृद्धि, सामाजिक सद्भावको अक्षुण्णता र कानुनी–नैतिक मापदण्ड परिपालन गर्ने सन्दर्भबाट नागरिक पत्रकारिता अझ बढी संवेदनशील बन्नुपर्ने अवस्था आएको छ ।
सङ्क्रमणकालमा नागरिक पत्रकारिता
नागरिक पत्रकारिताको मूल भोक्ता नै जेनजी पुस्ता हो । सन् १९९७ देखि सन् २०१२ को बिचमा जन्मेका व्यक्तिहरूको समूहलाई ‘जेनेरेसन जेड’ अर्थात् ‘जेनजी’ भनेर चिनिन्छ । यो पुस्तालाई ‘डिजिटल नेटिभ्स’ पनि भनिन्छ । उनीहरूले आफ्नो जीवनको अधिकांश समय इन्टरनेट, सामाजिक सञ्जाल र स्मार्टफोन जस्ता डिजिटल प्रविधिको बिचमा बिताएका छन् । यही पुस्ताले सामाजिक सञ्जालको बन्द हट्नुपर्ने तथा मुलुकमा सुशासन हुनुपर्नेलगायतको माग राखी गरेको प्रदर्शनबाट देश नवीन मोडमा आइपुगेको छ । जेनजी अभियानको प्रदर्शनसँगै प्रधानमन्त्रीको राजीनामा, राजनीतिक रूपमा सिर्जित समस्या र नयाँ सरकार गठनका सन्दर्भमा उठेका विमर्शले देश नवीन मोडमा उभिएको हो । यस्तो सङ्क्रमणकालीन अवस्थामा देशको गति र दिशा निर्देश गर्नका लागि पनि नागरिक पत्रकारिताको अहम् भूमिका हुने गर्छ । नागरिक पत्रकारितामा तथ्यपरक सूचना मात्र सम्प्रेषण हुन जरुरी छ । जनहित र देशभक्तिको भावनालाई मूल मन्त्र बनाएर निरन्तर आशावादी सूचना सम्प्रेषण गरिरहनु नै नागरिक पत्रकारिताको प्रमुख दायित्व ठहर्छ ।
दुःख र पीडाको क्षणमा नागरिक पत्रकारितामार्फत पीडितलाई थप पीडा दिने गरी कुनै पनि सूचनाजन्य सामग्री सम्प्रेषण हुनु हुँदैन । कोही पनि मृतक तथा घाइतेका बीभत्स दृश्य तथा भिडियो सम्प्रेषण नगर्नु नै उत्तम हुन्छ । व्यावसायिक पत्रकारितामा आएका विषय सन्दर्भ र सूचनालाई मिथ्या साबित गर्ने गरी कैयौँ सञ्जाल प्रयोगकर्ताले छद्मभेषी नाम राखेर यस्ता पीडादायी सामग्री सम्प्रेषण गरिरहेको अवस्थामा आमनागरिक पत्रकार चनाखो हुनुपर्ने भएको छ । त्यति मात्र नभएर अहिले त विभिन्न पक्ष र स्वार्थ समूहले एआईबाट नयाँ फोटो तथा भिडियो सिर्जना गर्दै भ्रम छर्ने काम गरिरहेका छन् । व्यावसायिक पत्रकारितामा जस्तो तथ्यहरूलाई प्रमाणित गर्ने, निष्पक्षता कायम गर्ने र समाचारलाई सन्तुलित रूपमा प्रस्तुत गर्ने जस्ता पेसागत मापदण्डहरू पालना गरिएको पाइँदैन । पेसागत मापदण्ड जस्तो कि ‘पत्रकारिताको आचारसंहिता’ र ‘पत्रकारिताका आधारभूत सिद्धान्त’ (सत्यता, निष्पक्षता, सन्तुलन आदि) पनि पालना गर्ने प्रवृत्ति घट्दो क्रममा देखिन्छ । सूचना वा समाचार सार्वजनिक गर्नुअघि तथ्य र स्रोतको गहन अनुसन्धान र प्रमाणीकरण गर्नुपर्नेमा विषयान्तर गरी कुतर्क तेर्साउनेबाट सबै जना बच्नुपर्ने हुन्छ । यस्तो भ्रमको पछाडि नलागी सच्चा विषय, सन्दर्भ मात्र उजागर गर्नुले नागरिक पत्रकारिताको सार्थकता पुष्टि गर्छ ।
चुनौती र संवेदनशीलता
सूचनाले संसार बदल्न सक्ने सामथ्र्य राख्ने हुँदा यसलाई निकै संवेदनशील मानिन्छ । अलिकति पनि गलत सूचना वा समाचार सम्प्रेषण हुनेबित्तिकै त्यसले ठुलो नकारात्मक असर पार्न सक्ने हुन्छ । एकैछिनमा व्यक्तिको सोच र चिन्तन बदल्न सक्छ । नागरिक पत्रकारितामा त संवेदनशीलताका अझ बढी बहुआयामिक पक्ष समेटिएर आएका छन् । संवेदनशीलताका पाटाहरू सूचना उत्पादनको अवस्था, निर्माणको अवस्था र सम्प्रेषणको अवस्थामा मात्र होइन त्यसको पृष्ठपोषणको अवस्थामा पनि निरन्तर जोडिने गर्छ । यसैले जिम्मेवार नागरिक पत्रकारले सबैभन्दा पहिले सूचना वा समाचारको सत्यता जाँच गर्नु आवश्यक हुन्छ । धेरै नागरिक पत्रकारहरूले सूचना वा समाचार प्रकाशित गर्दा तथ्य प्रमाणीकरण नगर्ने परम्परा रहिआएको अवस्थामा अब त्यतातिर बढी सजग हुनुपर्ने भएको छ । किनकि तथ्य प्रमाणीकरण नभई अपुष्ट सूचना र समाचारको प्रचारबाजी चल्दा सामाजिक स्तरमा भ्रम र अफवाह मात्र बढ्छ । सूचना वा समाचारको उद्देश्य कमजोर पार्ने गरी सनसनीपूर्ण र अतिशयोक्तिपूर्ण सामग्रीमार्फत मिथ्या प्रचार गर्ने प्रवृत्तिमा पूर्णतः बन्देज हुन आवश्यक छ । यसैले नागरिक पत्रकारितामा लाग्ने सच्चा सञ्चारकर्मीले आचारसंहिता, कानुनी नियम र जिम्मेवारीबारे पर्याप्त जानकारी लिएर मात्र आफ्नो सञ्चारीय भूमिका निर्वाह गर्दा सबैको हित हुने गर्र्दछ । यसैले ‘म, आफू र हामी’ मात्र नभएर ‘सबै’ भन्ने सर्वव्यापी र बहुआयामिक पक्षमा जिम्मेवार हुँदै सत्य र तथ्यपरक सूचना सम्प्रेषण गर्नु नागरिक पत्रकारमा निहित प्रमुख संवेदनशीलताको पाटो ठहर्छ ।
सुधारका उपाय र जिम्मेवारीबोध
नागरिक पत्रकारितालाई सबल, सक्षम र उन्नत बनाउनका लागि धेरै पक्षमा सुधार गर्नुपर्ने हुन्छ । यस्ता सुधारात्मक पक्ष निकै चुनौतीपूर्ण त छ नै तर पनि असम्भव भने छैन । यसका लागि सबैभन्दा पहिले डिजिटल साक्षरता र मिडिया साक्षरता बढाउनुपर्ने हुन्छ । अहिलेको विषम परिस्थितिमा मिडिया साक्षरता बढाउनका लागि विभिन्न तालिम, गोष्ठी, अनुशिक्षण तथा अन्तर्क्रिया जस्ता कार्यक्रम सञ्चालन गर्न ठुलो कठिनाइ छ । यसर्थ कुनै पनि विषय सन्दर्भमा सबैभन्दा पनि पहिले नागरिक पत्रकार आफैँले पठन, मनन र विश्लेषण गरेर मात्र सूचना सार्वजनीकरण गर्नु पर्छ । सम्प्रेषित सूचनाबाट कहीँ कतै हत्या, हिंसा, आतङ्क वा आपराधिक कार्य र मनोवृत्तिलाई पो प्रश्रय पुग्ने हो कि भनेर पटक पटक सोच्नुपर्ने हुन्छ । यदि त्यस्तो हुन सक्छ भन्ने अलि अलि मात्रै पनि शङ्का भएमा उक्त सम्भावित सूचना सम्प्रेषण गर्नु हुँदैन । यसका साथै इन्टरनेटमा पाइने जानकारीको विश्वसनीयता जाँच गर्न सक्ने क्षमताको विकास गरी गलत जानकारी र अफवाह फैलिनबाट रोक्नु पर्छ । समाजप्रतिको उत्तरदायित्व बोध गर्ने गरी सूचना सम्प्रेषणमा उत्प्रेरित गरिनु पर्छ । यस्तै व्यावसायिक पत्रकारले पनि सञ्जालमा आएका अफबाहलाई चिर्ने गरी निरन्तर कलम चलाउनुपर्ने हुन्छ ।
निष्कर्षतः नागरिक पत्रकारिताले सूचना र प्रविधिमा भएको क्रान्तिसँगै पत्रकारिताको परम्परागत स्वरूपलाई बदलिदिएको छ र हरेक नागरिकलाई ‘सञ्चारकर्मी’ बन्ने अवसर दिएको छ । कतिपय अवस्थामा यसले सूचनाको दुरुपयोग, सामाजिक सद्भावमा नकारात्मक असर र गलत समाचार फैलिन सक्ने जोखिम पनि बढाएको छ । त्यसैले, प्रत्येक नागरिक पत्रकारले तथ्यको प्रमाणीकरण, संवेदनशीलता र आचारसंहितालाई ध्यान दिँदै जिम्मेवारीपूर्वक जनता र देशको हित हुने गरी मात्र सूचना सम्प्रेषण गर्नुपर्ने हुन्छ । यस्तो सूचनाबाट देशको पुनर्निर्माण र विकासको अभियानमा लाग्न सबैलाई पे्ररित गरिरहोस् ।