नवराज कट्टेल
विराटनगर, भदौ २७ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगको उत्पादन तीन दिनयता ठप्प छ । उद्योगका सञ्चालक यो परिस्थितिका बारेमा केही बोल्न नसक्ने अवस्थामा रहेको प्रतिक्रिया दिन्छन् । चाडपर्व नजिकिँदै गर्दा बजार चलायमान हुने समयनजिक छ तर उद्योगका उत्पादन बन्द गरेर बस्नुपर्ने स्थिति धेरैका लागि तनाव बनेको छ ।
गत भदौ २३ गतेदेखि जेन जी पुस्ताले आन्दोलन सुरु गरेका थिए । त्यस दिनसम्म उद्योग सञ्चालनमा रहेका थिए ।
संविधान सभा सदस्य तथा नेपाल उद्योग परिसङ्घका अध्यक्ष पवन शारडाका अनुसार एउटा पुस्ताले देशमा सुशासनको माग गर्दै गरेको आन्दोलनलाई सरकारले ‘ट्याकल’ गर्न नसक्दा देशको समग्र प्रणाली ध्वस्त भएको हो ।
विद्यार्थीले गरेको आन्दोलनले २४ भदौमा लिएको ध्वंसात्मक रूप देशका लागि प्रत्युत्पादक बनेको शारडाको भनाइ छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरको सुरक्षा मजदुर आफैँले गरेका कारण क्षति नभए पनि त्यसपछिका दिन पीडादायी बनिरहेको शारडाले सुनाउनुभयो ।
उहाँका अनुसार उद्योग उत्पादनविहीन छ, बजार शून्यतामा र आयात निर्यात अन्योलको अवस्था अनि उद्योगी अभिभावकविहीन भएका छन् । “कहाँ जाने, कसलाई भन्ने ? ठाउँमा छौँ,” शारडाले भन्नुभयो, “हामी चिन्तामा छौँ, देश चिन्तामा देखिरहेका छौँ ।”
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको मत पनि शारडाभन्दा फरक छैन । उद्योग बन्द गरेर घरमै बस्नुपर्ने र उत्पादनमा जुट्ने कामदार तथा मजदुर बेरोजगार हुनुपर्ने अवस्था देशले फेरि बेहोर्नु परेको अध्यक्ष राठी बताउनुहुन्छ । कोरिडोरका पाँच सय उद्योगका प्लान्ट बन्द छन्, बजारका गतिविधि शून्य बनेर जमिरहेको देख्नुपर्दा विरक्त लागिरहेको अध्यक्ष राठीको भनाइ छ । देशले चाँडै निकास पाउनुपर्ने बताउँदै राठीले कुनै पनि हालतमा लोकतन्त्रको सुरक्षा गर्न जरुरी रहेको छ भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले फोनसमेत उठाएर कुनै प्रतिक्रिया दिन मन नलाग्ने अवस्था देखिरहेको बताउनुभयो । उहाँले केही बोलेर प्रतिक्रिया दिँदा त्यसको सुनुवाइ गर्ने अभिभावक हुनुपर्ने मान्यता आफूले राख्ने गरेको बताउनुभयो ।
औद्योगिक क्षेत्र मात्रै नभई बजारमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीसमेत अवरुद्ध भएको छ । उद्योगीमा भयको वातावरण नहट्दा व्यवसायीले समेत कारोबार गर्ने अवस्था छैन ।
नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगरमा भएको इन्धन पेट्रोल पम्पसम्म पु¥याउने ढुवानीका साधन गुडेका छैनन् । अर्को कुरा नेतृत्वविहीन आन्दोलन भएका कारण अति प्रज्वलनशील वस्तुको व्यापार गर्दा कुनै पनि बेला ठुलो जोखिम मोल्नुपर्ने बाध्यता सहनुपर्ने भयको सामाजिक मनोविज्ञान सर्वथा छाएको पेट्रोलियम व्यवसायी पारस पारख बताउनुहुन्छ ।
उद्योगी, व्यवसायी र सर्वसाधारण नागरिकले बुधबारदेखि केही शान्त महसुस गर्न थालेको बताउँछन् । यद्यपि ढुक्कले हिँड्न सक्ने अवस्था अझै नभएको उनीहरूको गुनासो छ । जलेर खण्डहर बनेका सरकारी संरचना देखिन्छ भन्ने मनोविज्ञानले बाहिरै निस्कन मन नलाग्ने गरेको विराटनगर–३, कन्चनबारीका आशाराम राजवंशी बताउनुहुन्छ ।