चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ २७ गते । प्रत्येक शुक्रबार बन्द हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार खुला गरिएको छ । दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै फुङ्लिङ बजार खुला गरिएको छ ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अनुसार चाडपर्वका अवसरमा उपभोक्तालाई आवश्यकीय सामग्री किनमेल गर्न सहज बनाउन बजार खुला गरिएको हो । उपभोक्ता तथा स्थानीय व्यवसायीको सहजताका लागि प्रत्येक शुक्रबारको साप्ताहिक बन्द खुला गरिएको ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो ।
बजार गरिएसँगै चाडपर्वका लागि आवश्यक पर्ने दैनिक उपभोग्य लगायतका वस्तु खरिद गर्नलाई सहज हुने भएको वाणिज्य सङ्घका अध्यक्ष गौतमको भनाइ छ । भदौ २७ गते शुक्रबारदेखि खुला भएको बजार दसैँ, तिहार र छठ पर्वको अवधिभर कायम रहने पनि वाणिज्य सङ्घले जनाएको छ ।
यता उपभोक्तालाई ताजा, गुणस्तरीय सामानहरु मात्र बिक्री वितरण गर्न पनि वाणिज्य सङ्घले व्यवसायीलाई आग्रह गरेको छ । म्याद गुज्रेका र गुणस्तरहीन वस्तुहरु बिक्री गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, कालो बजारी गर्नेजस्ता उपभोक्ताहित विपरीतका कार्य कसैले नगर्न र नगराउन पनि सबैलाई आग्रह गरिएको छ ।