• २७ भदौ २०८२, शुक्रबार

पोल्यान्डको सिमा नीति असन्तुलित : रूस

blog

मस्को, भदौ २७ गते । रूसले पोल्यान्डलाई बेलारुससँगको सिमाना बन्द गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ । बिहीबार, रूसको विदेश मन्त्रालयका प्रवक्ता मारिया झाखारोभाले उक्त जानकारी दिनुभएको हो ।

प्रवक्ताका अनुसार, पोल्यान्डद्वारा उठाइएको कदमले युरोपको केन्द्रमा विद्यमान परिस्थिति थप जटिल र तनावपूर्ण बनाउन सक्ने सम्भावना छ ।

उहाँले भन्नुभयो, ‘पोल्यान्डको एकपक्षीय निर्णयले ती अन्तर्राष्ट्रिय साझेदारहरूलाई कठिनाइ पुर्‍याउनेछ, जसले पोल्यान्ड–बेलारुस सिमानाबाट व्यापारिक गतिविधि सञ्चालन गरिरहेका छन् ।’

यसअघि, पोल्यान्डका  प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार  रूस र बेलारुसबीच सञ्चालन भइरहेका सैन्य अभ्यासका कारण बिहीबार मध्यरातबाट पोल्यान्डले बेलारुससँगको सिमाना पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको घोषणा गर्नुभएको थियो । उहाँले उक्त अभ्यासलाई अत्यन्त उग्र र चासोको विषय भन्नुभएको थियो ।

यता, प्रवक्ता झाखारोभाले भन्नुभयो, ‘उक्त सैन्य अभ्यासहरू नियमित रूपमा आयोजना हुने गरेका छन् ।’

यसै सन्दर्भमा, बेलारुसको विदेश मन्त्रालयले पोल्यान्डका कार्यवाहक प्रतिनिधिलाई बोलाई पोल्यान्डको निर्णयप्रति मौखिक आपत्ति जनाएको छ ।

बेलारुसी पक्षले भनेको छ, ‘पोल्यान्डको एकपक्षीय निर्णयले सम्पूर्ण युरोपेली सङ्घ–बेलारुस सिमानामा प्रभाव पार्नेछ, जसले सर्वसाधारण नागरिक तथा मालसामानको आवत–जावतमा गम्भीर अवरोध सिर्जना गर्न सक्छ  ।’  रासस/सिन्ह्वा