• २४ भदौ २०८२, मङ्गलबार

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

blog

रौतहटको बौधीमाई नगरपालिका–६ का वडाध्यक्ष स्व. गगनदेव राय यादव । तस्बिर : सौजन्य सामाजिक सञ्जाल

प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ २३ गते ।
रौतहटको बौधीमाइ नगरपालिका–६  का वडाध्यक्ष गगनदेव राय यादवको मृत्यु भएको छ । आइतबार साँझ करिब ७ः१५ बजे करेन्ट लागेर घाइते हुनुभएका यादवको  उपचारको क्रममा ८ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बौधीमाई नगरपालिका–६ बस्ने जगदीश राय यादवको खेतमा जाने क्रममा ११ हजार भोल्ट भएको तार चुडिएर भुइँमा रहेको अवस्थामा करेन्ट लागेर वडाध्यक्ष यादव घाइते हुनुभएको थियो ।

घाइते यादवको घोराहीमाई अस्पताल कोपवामा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याउँदा चिकित्सकले इसिजी गर्दा मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिनुभयो । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उहाँ नेकपा एसबाट निर्वाचित हुनुभएको थियो ।

कर्तव्य ज्यान मुद्दामा २०६८ सालमा जिल्ला अदालत गौरबाट सफाइ पाउनुभएको वडाध्यक्ष यादव  निर्वाचित भएको चार पाँच महिनामै उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जको आदेशले निलम्बनमा पर्नुभएको थियो । अहिले बौधीमाई नगरपालिका– ६ मा वडा सदस्य अर्जुन यादव र वडा  सदस्य उषा यादव पालैपालो ६/६ महिना  कार्यबाहक वडाध्यक्षको रूपमा काम गरिरहनु भएको नगर प्रमुख प्रदीप यादवले जानकारी दिनुभयो ।