सहदेव बस्नेत
जाजरकोट, भदौ २३ गते । जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा बसपार्क नहुँदा गाडी पार्किङ्ग गर्नलाई समस्या भएको छ । जिल्लामा मोटरबाटो पुगेको २० वर्ष पुग्दा समेत यातायातका साधान राख्ने ठाउँ समेत छैन । सदरमुकाम खलङ्गाको शान्तिचौतारामा अस्थानीय तथा साघुरो बसपार्क छ, त्यसमा बस खचाखच कोच्ने गरिएको छ ।
जाजरकोट डोल्पा सडकको जीरो प्वाइन्ट शान्तिचौतारा र तल्लोथाप्ले सडकमै यातायात पार्किङ्ग गरिदै आएको छ । फराकिलो तथा ब्यवस्थित बस पार्क नहुदा गाडी पार्किङ्ग गर्नलाई ठुलो समस्या भएको यातायात व्यवसायी दीपक बुढाले बताउनुभयो । गाडी राख्ने र मोड्नलाई फराकीलो ठाउँ नहुदा गाडी चालकलाई समस्या खट्केको बुढाको भनाइ छ ।
फराकिलो बस पार्कको अभाव हुँदा यातायातका साधनहरु होटल, पसल तथा स्थानीयका घर अगािड राख्दा स्थानीयलाई समस्या भएको छ । सडकमा बस पार्किङ्ग गर्ने गरिएको छ, यसले कुनै बेला दुर्घटना निम्त्याउने देखिन्छ, भेरी नगरपालिका–४ का वडा अध्यक्ष बसन्त प्रशाद शर्माको भनाइ रहेको छ । यो बाध्यता अन्त्यका लागि आफुहरुले पहल गरिरहेको अध्यक्ष शर्माको भनाइ छ ।
यातायातका साधनहरु बोरा, खरेखोला, शान्तिचौतारा, बागलुङ्ग होटेल, ठाँटीबजार, भेटनरीडाँडा, थाप्लेचौर, गैरीखाली, कारागार लगाएतका ठाउँमा पार्किङ्ग हुदै आएका छन् । बस पार्क बनाउने तर्फ जिल्लास्थित सरोकारवाला निकायको समेत ध्यान नपुगेको जाजरकोट यातायात व्यवसायी संघका अध्यक्ष नबराज सिंहले बताउनुभयो । जिल्लामा साना ठुला गरी दुई सयभन्दा बढी यातायातका साधन सञ्चालनमा रहेका छन ।