• २४ भदौ २०८२, मङ्गलबार

बस्ती जोगाउन तटबन्ध निर्माण गरिने

blog

दोधारामा भत्किएको बाँधको स्थलगत अनुगमन गर्नुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

कञ्चनपुर, भदौ २३ गते । गृहमन्त्री रमेश लेखकले बाढी विस्थापितका समस्याप्रति सरकार गम्भीर रहेको बताउनुभएको छ । दोधाराचाँदनी नगरपालिकाका बाढी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षणका क्रममा गृहमन्त्री लेखकले बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको बताउनुभएको हो । 

गत साता जोगबुढा नदीको बाँध भत्किएर दोधाराचाँदनी नगरपालिका–८, रामपुरे टापु, सुन्दर बस्ती, पटराखल्ला र जर्गामा बाढी पस्दा ५७ घर डुबानमा परेका थिए । उक्त भत्किएको बाँधको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले जोगबुढा नदीबाट बस्ती जोगाउन तटबन्ध निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट छुट्याइएको बताउनुभएको हो । बाढीबाट बस्ती जोगाउन महाकाली नदी र जोगबुढा नदीका धेरै स्थानमा तटबन्ध निर्माणको काम भइरहेको बताउँदै गृहमन्त्री लेखकले भत्किएका स्थान र अन्य ठाउँमा पनि यसै वर्षदेखि काम अगाडि बढ्ने जानकारी दिनुभयो । बाढीबाट विस्थापितले गृहमन्त्री लेखकलाई राहतभन्दा पनि बस्ती जोगाउन तटबन्ध निर्माणको माग गरेका छन् । 

यसै गरी गृहमन्त्री लेखकले शनिबार महाकाली प्रादेशिक अस्पतालमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै यसै महिनामा निजामती कर्मचारी ऐन पारित भएर राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यान्वयनमा आउने बताउनुभयो । वर्तमान सरकारले कानुनी नीतिगत सुधार गरेर सुशासनका काम गरेको उहाँको भनाइ थियो । गृहमन्त्री लेखकले सरकारले नागरिकतासम्बन्धी ऐन ल्याएर आमाका नामबाट समेत सन्तानले नागरिकता पाउने संविधानको व्यवस्थालाई सुनिश्चित गरेको बताउनुभयो । 

गृहमन्त्री लेखक शुक्रबार बिहान निर्माण व्यवसायी सङ्घ कञ्चनपुरको २८ औँ वार्षिक साधारण सभा एवं १५ औँ अधिवेशनको उद्घाटन गर्न कञ्चनपुरको महेन्द्रनगरमा आउनुभएको हो ।