• २४ भदौ २०८२, मङ्गलबार

प्राथमिकतामा राजमार्ग

blog

सडक पूर्वाधार नै विकासको जीवनरेखा हो । सडकबिना विकास सम्भव हुँदैन । सडक राजनीति हो, अर्थतन्त्र हो, कूटनीति पनि हो । समाजको अभिन्न अङ्ग हो, संस्कृति हो । अनि विकासको पूर्वाधार पनि । सडक सञ्जालको व्यापकताले दुरी छोट्याउने मात्र नभई गाउँको उत्पादनलाई सहरसम्म पु¥याउँछ, थातथालो छोड्नेको सङ्ख्यामा कमी आउँछ । सडकले गाउँ र सहरलाई जोड्छ । विकासको असन्तुलन घटाई सन्तुलनमा ल्याउँछ । सडक सञ्जालले नुन, तेल, खाद्यान्न तथा अन्य आवश्यक वस्तुको सहज उपलब्धता दिलाउँछ । त्यही भएर वर्तमान सरकारले सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सडक पूर्वाधारमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी जनताको जीवनस्तर उकास्ने उद्देश्य राखिएको छ । अहिले सङ्घीय सरकारले एकै पटक २१ वटा राजमार्ग निर्माण गरिरहेको छ । मुलुकको पूर्वबाट पश्चिम र उत्तरबाट दक्षिण सिमाना छिचोल्ने गरी राजमार्ग निर्माण भइरहेका छन् । तीमध्ये सडक विभाग अन्तर्गत २० वटा र नेपाली सेनाको व्यवस्थापनमा काठमाडौँ/तराई–मधेश द्रुतमार्ग निर्माण भइरहेको छ । पहाडमा चार घण्टा र तराईमा दुई घण्टाको पैदल दुरीमा पक्की सडक सुविधा पु¥याउने दीर्घकालीन सडक गुरुयोजना अनुसार राजमार्ग निर्माण भइरहेका हुन् । राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरी पूर्वपश्चिम जोड्ने तीन वटा र उत्तर दक्षिण सिमाना जोड्ने दुई राजमार्ग निर्माणाधीन छन् ।

मध्यपहाडी जिल्लालाई जोड्ने पुष्पलाल राजमार्ग (मध्यपहाडी लोकमार्ग) को काम अन्तिम चरणमा पुगेको छ । मुलुकलाई पूर्वपश्चिम जोड्ने पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो राजमार्ग हो । एक हजार ८७९ किलोमिटर कुल लम्बाइ रहेको यो राजमार्गको निर्माण आव २०६४/६५ देखि योजनाबद्ध रूपमा सुरु गरिएको हो । मुलुकको पूर्वबाट पश्चिमी सिमाना छिचोल्ने यस राजमार्गको निर्माण आव २०८४/८५ सम्म सम्पन्न गर्ने लक्ष्य छ । त्यस्तै तराई–मधेशका जनताको जीवनस्तर उकास्ने उद्देश्य राखेको हुलाकी राजमार्गको काम अब करिब एक तिहाइ मात्र बाँकी छ । तराईका २० वटै जिल्ला हुँदै निर्माण भइरहेको यस राजमार्गले त्यस क्षेत्रका ७५ प्रतिशत गाउँबस्तीलाई सडक सञ्जालसँग जोडी मुलुकको झन्डै आधा जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पु¥याउने विश्वास गरिएको छ । मुलुकको पूर्वपश्चिम जोड्ने चौथो राजमार्गका रूपमा निर्माणाधीन मदन भण्डारी राजमार्ग २०७५ जेठ ८ गते नेपाल सरकारले स्वीकृत गरेको थियो । एक हजार २५० किलोमिटर यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि चुरे भावर तथा भित्री मधेश छिचोल्दै पश्चिमी सीमा (महाकाली नदी) सम्म पुग्छ । यो राजमार्ग झापा बाहुनडाँगीबाट सुरु भई चुलाचुली, धरान, गाईघाट, सप्तरी, सिन्धुलीमादी, हेटौँडा, गैँडाकोट, रामपुर, तम्घास, सिमलटारी, प्युठानको मच्छी, घोराही, सुर्खेत, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्ने छ । त्यस्तै १४२ किलोमिटरको उत्तर–दक्षिण राजमार्ग अन्तर्गत कोशी कोरिडोरको निर्माण जारी छ । 

त्यसै गरी उत्तर–दक्षिण राजमार्ग अन्तर्गतकै कालीगण्डकी कोरिडोरको काम अब करिब एक चौथाइ मात्र बाँकी छ । यस कोरिडोरको कुल लम्बाइ ४९५ किलोमिटर छ । राष्ट्रिय गौरवका आयोजनामध्येको एक यो कोरिडोर निर्माणपछि १० जिल्लाका करिब १० लाख जनताले सिधा पहुँच पाउने छन् । यो कोरिडोर अन्तर्गत त्रिवेणीधाम, देवघाटधाम, राम्दीघाट, रानीघाट, रुद्रवेणी, सेतीवेणी, पूर्तिघाट, ज्यामिरेघाट, पाल्पा भैरवस्थान, बागलुङ कालिका, गलेश्वरधाम, कागबेनी, मुक्तिनाथ, दामोदरकुण्ड जस्ता महत्वपूर्ण तीर्थस्थल र १४८ वटा घाट छन् । कोरलाबाट २५७ किलोमिटर पार गरेपछि कैलाश मानसरोवर पुगिने भएकाले यो मार्ग धार्मिक पर्यटनका लागि समेत उत्तम मानिएको छ । त्यस्तै मुलुककै पुरानो सडक आयोजनाका रूपमा कान्ति लोकपथ रहेको छ । सङ्घीय राजधानी काठमाडौँ र बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो सडकका रूपमा रहेको यो राजमार्गको कुल लम्बाइ ७९ किलोमिटर छ जसमध्ये मकवानपुरतर्फ ५१ किलोमिटर र बाँकी ललितपुरमा पर्छ । त्यस्तै गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजना, महाकाली कोरिडोर अन्तर्गत ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर सडक, डुम्रेबेँसीसहर–चामे–मनाङ सडक, सगरमाथा राजमार्ग (गाईघाट–दिक्तेल खण्ड), मिर्चैया–कटारी– घुर्मी सडक, सेती राजमार्ग अन्तर्गत टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक, गोरखा सडक योजना, ककहवा–रुद्रपुर–सालझन्डी–सन्धिखर्क–ढोरपाटनलगायतका सडक निर्माण भइरहेका छन् । राष्ट्रिय महìवका यी सडक निर्माण सम्पन्न भएपछि मुलुकका सबै भाग सडक सञ्जालमा जोडिने छन् । मुलुकको समग्र विकासका लागि सडक सञ्जाल कोसेढुङ्गा साबित हुने छ ।