तुलसीपुर समाचारदाता
तुलसीपुर, भदौ २२ गते । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ ग्वारखोला तटमा बर्सांैदेखि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइएका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर १८ का अध्यक्ष माधव वलीको नेतृत्वमा ती क्षेत्रमा अतिक्रमित संरचना, रोपिएका बालीनाली र रुखबिरुवा हटाइएको हो । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधि, स्थानीय, नेपाल प्रहरी र नगर प्रहरीको सहभागितामा अतिक्रमित जग्गा खाली गराइएको हो ।
नगर प्रवक्ता वलीले विगतमा त्यस क्षेत्रमा सरकारी जग्गा हडप्ने गिरोहै सक्रिय भएको अवस्थामा सम्पूर्ण संरचना हटाएर त्यस क्षेत्रमा खेलमैदान र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बिक्रीवितरणका लागि टहरा निर्माण गरिएको बताउनुभयो । उहाँले वडाभित्र रहेका सम्पूर्ण राजनीतिक दल, सरोकारवाला पक्ष र सम्बन्धित टोलवासीबिच संयुक्त रूपमै निर्णय गरेर अतिक्रमित क्षेत्रमा गर्दै आएको बालीनाली र संरचना हटाउन सुरु गरेको बताउनुभयो ।
वडाध्यक्ष वलीले त्यस क्षेत्रमा टोलवासीको हकहित हुने गरेर खाली गरेको जग्गा उपभोगमा ल्याइने बताउनुभयो । प्रवक्ता वलीले अतिक्रमित जग्गालाई संरचना हटाइसकेपछि चारैतिर तारबार गरेर संरक्षण गरिनेसमेत बताउनुभयो । बालुवा टोल विकास संस्थाका सचिव ओमप्रकाश भट्टराईले खाली गरिएको जग्गामा त्यस गाउँकै हित हुने गरी संयुक्त रूपमा बगर खेती, फलफूल खेती वा सामूहिक प्रयोजनका लागि उपभोग गर्न सके सरकारी जग्गा संरक्षणमा स्थानीयको अपनत्वसमेत रहने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा समेत ग्वारखोला तटमा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर २५ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम निर्माणका लागि चारैतिर पर्खाल लगाइएको छ ।