• ७ वैशाख २०८१, शुक्रबार

गौरवमय सिम्रौनगढ

blog

बारा जिल्लाको सदरमुकाम कलैयाबाट करिब २२ किलोमिटर दक्षिण–पूर्वको यात्रापछि मध्य मधेशको रहनसहनयुक्त सिम्रौनगढ बजार पुगिन्छ । बजारको मध्यभागमा करिब आठ बिघा क्षेत्रफलमा फैलिएको शताब्दीयौँ पुरानो इशरा तलाउ छ । इतिहासको एउटा कालखण्डका रूपमा जीवित इशरा तलाउको पश्चितर्फ कङ्काली मन्दिरसहित केही धार्मिक पीठ रहेका छन् । जहाँ मूर्तिकलाको जीवन्त वैभव बोकेका केही खण्डित मूर्ति देख्न सकिन्छ । 

परिसरका पीपल चौतारा हुन् या तलाउ किनार, मूर्तिकलाको युगीन महत्त्व बोकेका सम्पदाका अवशेष असरल्ल छन् । इतिहास, कला, संस्कृति र सम्पदाका यी दसीको संरक्षण, खोज, अनुसन्धानमा राज्यको ध्यान किन जाँदैन ? इतिहास, कला, संस्कृति र सम्पदामा रुचि राख्दै सिम्रौनगढ पुग्ने जोकोहीले अवश्य यो प्रश्न आफैँलाई एक पटक सोध्छ नै ।

के हो सिम्रौनगढ ?

इतिहास केलाउँदा सिम्रौनगढलाई सिमरा, वनगढ र सिम्मनगाडाका रूपमा पनि चिनिन्छ । कर्णाटवंशी राज्यको स्थापना नान्यदेवले गरेका हुन् । फ्रान्सेली इतिहासकार सिल्भाँ लेभीका अनुसार नान्यदेव पहिला चालुक्य राजा विक्रमादित्य (छैटौंँ)का सेनापति थिए । चालुक्य राजाको शक्ति क्षीण हुँदै गएपछि उनले आफ्नो क्षेत्रलाई सार्वभौम बनाएको लेभीको मत छ । 

सन् १०९७ मा सिम्रौनगढमा राज्य स्थापना गरेपछि उनका उत्तराधिकारीहरू गङ्ग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव र हरिसिंह देवले राज्य चलाए । पूर्वमा कोसी, पश्चिममा गण्डकी, उत्तरमा महाभारत पर्वत शृङ्खला र दक्षिणमा गङ्गासम्म सिम्रौनगढको अधिपत्य कायम भएको थियो ।

नेपालको इतिहास अध्ययन गर्दा सन् १३२४ मा ग्यासुद्दिन तुग्लकको आक्रमणबाट सिम्रौनगढ राज्य ध्वस्त भएको थियो । युद्धमा पराजित राजा र भारदार उत्तर पहाडतिर पलायन भए । सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव (कतिपय इतिहासकारले हरसिंह पनि भनिएको) सिन्धुलीको तिपाट (हालको तीनपाटन) भन्ने स्थानमा गई केही समय बसे । 

तीनपाटनमै राजाको मृत्यु भएपछि रानी देवलदेवी, छोरा जगतसिंहसहित भारदारहरू तामाकोसी किनार पछ्याउँदै जाने क्रममा तामाकोसी सेलेघाटमा माझी झारोले रोक्ने प्रयास गरेका थिए । रानी देवलदेवीसहित भारदारहरू दोलखा, बनेपा हुँदै माइती भक्तपुरमा गएर शरण लिए भन्ने मत इतिहासकारहरूको छ । 

रानी देवल देवीले आफ्ना छोरा जगतसिंह देवको विवाह भक्तपुरका राजा रुद्र मल्लकी विधवा छोरीसँग गराइन् । देवल देवीले आफ्नी नातिनी (जगतसिंह देवकी छोरी)को विवाह पनि तीरहूतका युवकसँग गराइन्, जो पछि भक्तपुरको शासन व्यवस्थापमा जयस्थिति मल्लका नामले शक्तिशाली र प्रसिद्व भएका थिए । भक्तपुरको तलेजु (तुलजा) भवानी तिनै रानी देवल देवीले सिम्रौनगढ ध्वस्त भएपछि भाग्ने क्रममा राजकुलदेवीका रूपमा सँगै लिएर आएकी हुन् भन्ने भनाइसमेत इतिहासकारहरूको छ । 

सिम्रौनगढ क्षेत्रमा तलेजु भवानी मन्दिरको भग्नावशेष क्षेत्र भनेर अहिले पनि हरिहरपुरका स्थानीयले देखाउने गरेका छन् । जुन ठाउँमा दशकअघि उत्खननसमेत गरिएको थियो । उत्खननमा ढुङ्गाका कलात्मक स्तम्भ, ढोकाका भाग भेटिएका थिए । जो अहिले पनि सो क्षेत्रमा देख्न सकिन्छ ।

नेपाली कला, संस्कृति र सभ्यताको चर्चा गरिरहँदा सिम्रौनगढको सभ्यता बिर्सने गरेका छौँ । नेपाली कला र संस्कृतिको कुरा गर्दा लिच्छवी र मल्लकालीन कलाको कुरा मात्र गर्दै आएको पाइन्छ । यद्यपि १०औँ शताब्दीदेखि १४औँ शताब्दीसम्म कलाकौशलमा वैभवता कायम गरेको सिम्रौनगढको अध्ययनबिना नेपाली इतिहास, कला, सम्पदा र संस्कृतिको खोज अपूरो हुन्छ । 

इशरा तलाउ छेउको कङ्काली मन्दिर अगाडि एउटा ठूलो प्राचीन घण्टा रहेको छ । सो घण्टामा लं.सं ११९ अर्थात् विक्रम संवत् १३४९ उल्लेख गरिएको छ । घण्टा केही टुटफुटको अवस्थामा देखिन्छ । यो घण्टाले समेत इतिहासका रहस्य खोल्न सक्छ । १३औँ शताब्दीको इशरा तलाउ आफैँमा एउटा जीवित सम्पदाका रूपमा छ । सिम्रौनगढका राजा शिवसिंह (सिबैसिंह/शक्तिसिंह देव)ले आफ्नी प्रेयसी इशराका लागि यो तलाउ बनाइदिएको किंवदन्ती छ । 

सिम्रौनगढमा भेटिएका कलाकृति कर्णाटवंशी राज्य र गुप्तकालीन पुरातात्त्विक कलाकृति र पुरावशेष भएको पुरातत्त्वविद्हरूको   भनाइ छ ।


किन ओझलमा ?

सिम्रौनगढको गढ क्षेत्रभित्र कोटवाली, लक्ष्मीपुर, भगवानपुर, देवापुर, हरिहरपुर, कर्चोवा, अमृतजङ्ग र गोलागञ्जसहित केही साना गाउँ पर्दछन् । यो किल्ला उत्तरमा कोतवाली हुँदै श्रीनगर, नयकाटोला, खजहनी, झमरीलगायत गाउँ भएर दक्षिणतर्फ नेपाल–भारत सीमासम्म पुग्दछ । यद्यपि सिम्रौनगढ क्षेत्रले भारतको चम्पारन, मुजफ्फरपुर, दरभङ्गा, भागलपुर र पूर्णियालगायत जिल्ला पर्दछन् । 

यहाँ इशरा तलाउ, कङ्काली मन्दिरलगायत खण्डित रूपमा देवीदेवताका थुप्रै मूर्ति छन् । उत्खननमा भेटिएका केही खण्डित मूर्ति कङ्काली मन्दिर परिसरमा पुरातìव विभागले सङ्ग्रहित गरेको छ । यद्यपि त्यसको उचित सुरक्षा, संरक्षण र व्यवस्थापन हुन सकेको छैन । 

इशरा तलाउभन्दा करिब डेढ किलोमिटर पश्चिममा रनिवास मन्दिर रहेको छ । यो अलि उच्च स्थानमा अवस्थित छ । त्यस हिसाबले सिम्रौनगढको राजाप्रसाद यहीँ भएको सङ्केत गर्छ । यस मन्दिरका वरपर प्राचीन भग्नावशेषका साथै पुरातात्त्विक महत्त्वका सामग्री (माटाका खवटा, भाँडा, मूर्ति, मुद्रालगायत) पाइने गरेको स्थानीय बताउँछन् । 

मन्दिरको पश्चिमतर्फको कुनामा (मन्दिरलाई घेरिएका सत्तलभित्रै) पुरातात्त्विक महत्त्वको इनारसमेत रहेको छ । त्यस्तै मन्दिर प्रवेशको पूर्वतर्फको द्वारको दाहिनेतिर पनि पुरानो इनार छ । मन्दिर वरपर खण्डित मूर्तिहरू यत्रतत्र रहेका छन् । सो मन्दिरको पश्चिमतर्फ केही गहिराइमा सुन्दर कमलपोखरी रहेको छ । पोखरीको छेवैमा रहेका धाराको केही अवशेष मात्र बाँकी छन् ।

सिकार खेल्न जाने क्रममा श्री ३ जङ्गबहादुर राणा सो स्थानमा पुगेका थिए । केही अग्लो स्थान भएकाले सिकार क्याम्प सोही स्थानमा बनाउने क्रममा दरबार र मन्दिरको भग्नावशेष पाइएको इतिहासविद्हरू बताउँछन् । सिकारकै क्रममा जङ्गबहादुर राणाको निधन भएपछि छोरा जितजङ्गले बुबाको सम्झनामा राम मन्दिर निर्माण गराएका थिए । राम मन्दिरभित्रै राम सीताको मूर्तितिर फर्काएर जङ्गबहादुर र रानीहरूको मूर्तिसमेत प्रतिस्थापन गरिएको देखिन्छ । 

मन्दिरको वरिपरि सत्तलसमेत निर्माण गरी गुठीको व्यवस्था गरिएको थियो । तुर्क आक्रमणबाट ध्वस्त सिम्रौनगढको उत्खनन गरी सो मन्दिर निर्माणका क्रममा प्राप्त मूर्तिलाई मन्दिरको बाहिरी भाग र वरपर स्थापित गरिएको बताइन्छ । कर्णाटवंशी राज्यकालीन कला अहिले पनि सो मन्दिर परिसरमा  देख्न  सकिन्छ ।

मन्दिर बाहिरको चौघेरा सत्तलको दक्षिणतर्फको द्वारसँगै रहेको सिंहको अगाडि चालिस वर्षअघिसम्म एउटा शिलालेख रहेको स्थानीय बताउँछन् । त्यो शिलालेखमा नान्यदेवले राजधानी यही थलोमा बनाएको श्लोक कुदिएको थियो भन्ने भनाइ स्थानीय पाका व्यक्तिहरूको छ । 

रनिवास मन्दिरको एक किलोमिटर दूरीमा दक्षिणतर्फ खजहनी गाउँ छ । कर्णाटवंशी राजाहरूले खजाना राख्ने ठाउँ भएकाले यस ठाउँको नाम खजहनी भएको जनविश्वास छ । सो ठाउँमा अहिले पनि खेत, कुलो, माछापोखरी खन्ने क्रममा पुरातात्त्विक वस्तु तथा मूर्ति भेटिने गरेको बताइन्छ । खजहनी गाउँको वरपर विष्णु, शिव र दुर्गाका मूर्ति पनि विगतमा भेटिएको स्थानीय बताउँछन् ।

सिम्रौनगढ यतिबेला रहस्यको सहर हो । जहाँ अहिले पनि कर्णाटवंशी राज्यको पालको अवशेषका रूपमा इँटका फराकिला सुरक्षा पर्खाल छन् । कलाकृति र तलाउ छन् माछापोखरी खन्दा अद्भूत कलाकृति भेटिने गरेका छन् । खेतमा किसानले कुलो खन्दा सुनलगायत बहुमूल्य वस्तु भेटेर भारत पलायन भएका कथा भर्खरैका हुन् । यस्तो लाग्छ इतिहास, सभ्यता र कलाको रहस्य खोज्न बाँकी सहर हो, सिम्रौनगढ । इतिहास पुरेर त्यसमाथि बसेको सहर हो, सिम्रौनगढ । 

सिम्रौनगढको उत्खनन र अध्ययनका लागि राज्यले किन ढिला गरिरहेको छ ? यो आफैँमा एउटा गम्भीर प्रश्नसमेत भएको छ । सिम्रौनगढको उत्खनन गरी भूगर्भमा लुप्त इतिहास, कला र सम्पदाको संरक्षण गर्न सके नेपालको पर्यटन अर्थतन्त्रलाई समेत सिम्रौनगढले समृद्ध बनाउनेमा कुनै शङ्का छैन ।