• १७ साउन २०८२, शनिबार

सर्पदंशको उपचार गर्न नगहर गुरुवाको भर

blog

नागपूजा गर्दै कैलालीका नगहर गुरुवा ।

अविनाश चौधरी

धनगढी, साउन १६ गते । कैलालीको ग्रामीण क्षेत्रमा सर्पदंशको उपचार गर्न नगहर गुरुवाको भर पर्ने परिपाटी अझै कायमै छ । 

सर्पले डसेका बिरामीलाई उपचारका लागि बेलैमा अस्पताल नपुर्‍याए अकालमै ज्यान जाने गरे पनि ग्रामीण क्षेत्रमा अझै झारफुकमा विश्वास गर्ने कार्य भइरहेको छ । उपचारको लागि तुरुन्त अस्पताल वा सर्पदंश उपचार केन्द्र लग्नुपर्ने चेतनाको विकास र नजिक अस्पताल नहुँदा नगहर गुरुवाको भर पर्ने कार्य भइरहेको हो । 

कतिपयले अस्पताल वा सर्पदंश उपचार केन्द्र नजिक नभएका कारण झारफुकबाट उपचारका लागि नगहर गुरुवाको भर पर्नुपर्ने बाध्यता छ । कतिपय भने अज्ञानताको कारणले नगहर गुरुवा कहाँ पुगिरहेका छन् । 

विषालु सर्पले टोकेमा चिकित्सकले आफ्नो निगरानीमा एन्टिस्नेकभेनम दिएर उपचार गर्ने गर्दछन् । त्यस्तै, सर्पदंशका बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गर्न आवश्यक हुने गर्दछ । तर, अस्पतालको पहुँचभन्दा अलि टाढा रहेका र अज्ञानतामा जेलिएका बासिन्दा भने सर्पदंश उपचारका लागि नगहर गुरुवाको झारफुकमा भर परिरहेका छन् । झारफुकमा भर पर्दा कतिपय बिरामीको ज्यानसमेत गइरहेको छ । 

कैलालीको लक्कर, बनकट्टा, बेनौली, दुधिया, पृथ्वीपुर, टप्पा, जोशीपुर लगायतका गाउँमा नगहर गुरुवाहरु रहेका जनाइएको छ । यी गुरुवाहरुले आफूकहाँ आएका सर्पदंशका बिरामीलाई झारफुकसहित विष चुसेर उपचार गर्दै आएका छन् । कैलारी गाउँपालिका–२ लक्कर गाउँका नगहर गुरुवा रामप्रसाद पछलडङ्ग्याले जति विषालु सर्पले डसे पनि समयमा आएका बिरामीलाई आफूहरुको समूहले निको पार्ने गरेको जिकिर गर्नुभयो । विगत ५० वर्षदेखि आफ्नो समूहले सर्पले टोकेमा विष चुसेर उपचार गर्दै आएको जनाउँदै उहाँले अहिलेसम्म धेरैलाई ठीक पारेको उल्लेख गर्नुभयो । “कैलालीमा हामी दुई सय जति नगहर गुरुवाले विष चुसेर उपचार गर्ने कार्य गर्दै आएका छौं”, पछलडङ्ग्याले भन्नुभयो । 

कैलालीमा सेती प्रादेशिक अस्पताल धनगढी, मालाखेती अस्पताल, अत्तरिया, टीकापुर अस्पताल, टीकापुर र गौरीगङ्गा नगरपालिकाको बडैपुरस्थित नेपाली सेनाको राष्ट्रिय विकास गण दल ब्यारेखस्थित बडैपुर सर्पदंश उपचार केन्द्रमा सर्पदंशको उपचार हुँदै आएको छ । सर्पदंशको उपचार सुविधा रहेका अस्पताल र उपचार केन्द्र प्रायः सहरी र सुविधा भएको क्षेत्रतिरमात्रै छन् । गाउँघरतिर सर्पले डसेमा बिरामीहरु अस्पताल नगई उपचारका लागि आफूहरुकहाँ नै आउने गरेको कैलारी गाउँपालिका–६ बेनौलीको नगहर गुरुवाका अगुवा तेजराम चौधरीले बताउनुभयो । उहाँले चार दशकदेखि यो काम गर्दै आएको जनाउँदै विष चुसेर कैयौंको ज्यान बचाइसकेको उल्लेख गर्नुभयो । 

सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले सर्पदंशका बिरामीलाई उपचारका लागि सकेसम्म चाँडै पायक पर्ने अस्पतालमा नै पुर्‍याउन आग्रह गर्नुभएको छ । झारफुकमा भरपर्दा सर्पदंशका धेरै बिरामीले अकालमै ज्यान गुमाउने गरेको उहाँको भनाइ छ ।