• १७ साउन २०८२, शनिबार

नेपालमा मिडिया शिक्षाको विकास

blog

त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागको केन्द्रीय कार्यालय भवन ।

पृष्ठभूमि

विश्वमा पत्रकारिता तथा आमसञ्चार माध्यमको विकास भई जनमानसमा प्रभाव पार्न सफल भइसकेका बेला नेपालमा पत्रकारिताको आरम्भ भयो । जर्मनीका जोहानेस गुटेनवर्गले १५ औँ शताब्दीमै छापाखानाको आविष्कार गरे तापनि त्यस प्रकृतिको छापाखाना विसं १९०८ मा मात्र नेपाल भित्रियो । मुलुकमा कठोर राणा शासन भएकाले नेपाली भूमिमा पत्रपत्रिका प्रकाशन गर्ने वातावरण नभएकाले नेपाली भाषाप्रेमी, शिक्षित र बुजु्रकले राणा शासनको विरोध गर्दै भारतीय भूमिमै रहेर पत्रपत्रिका प्रकाशन गरेका थिए तर स्वदेशमै विसं १९५५ साउनमा प्रकाशन भएको ‘सुधासागर’ बाटै आधिकारिक रूपमा नेपाली पत्रकारिताको सुरुवात हुन्छ । विसं १९५८ वैशाख २४ गते प्रकाशन भएको पहिलो समाचारपत्र गोरखापत्रलाई आधार मान्दा नेपाली पत्रकारिताले १२३ वर्ष पार गरेको छ (खनाल, २०७९, पृ. १०४–१०५) । २००७ सालमा प्रजातन्त्र स्थापनादेखि २०३६ सालसम्म निजी तथा सरकारी पहलमा पत्रकारिताको विकास भए पनि त्यसले अपेक्षित उन्नति हासिल गर्न सकेन । खास गरी २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा व्यावसायिक पत्रकारिताको सुरु हुने सङ्केत मिलेको थियो । खनाल, २०६८, पृ.५३) । मुलुकमा लोकतन्त्र प्राप्तिसँगै मिडिया विकासको वातावरण सुरु भएपछि नै मिडिया शिक्षाले विस्तारित रूप लिएको तथ्यलाई बिर्सन मिल्दैन । सुरुमा छापा हुँदै सुरु भएको नेपाली मिडिया क्रमशः विद्युतीय, अनलाइन हुँदै डिजिटल युगमा प्रवेश गरिसकेको छ ।

प्रेस काउन्सिलका अनुसार नेपालमा दैनिक पत्रपत्रिका ७४० वटा, अर्धसाप्ताहिक ३१, साप्ताहिक दुई हजार ९०५, पाक्षिक ४०१, मासिक ६१२, द्वैमासिक ६१, त्रैमासिक १११, अन्य ३८ गरी चार हजार ८९९ को सङ्ख्यामा प्रकाशन दर्ता रहेको अभिलेख रहेको छ । यसै गरी चार हजार ६२२ अनलाइन दर्ता भएको, एक हजार १९३ रेडियो तथा २४६ टेलिभिजन सञ्चालनका लागि इजाजत लिएको देखिन्छ । (प्रेस काउन्सिल, वार्षिक प्रतिवेदन, २०८०/८१) । पत्रकार महासङ्घका अनुसार देशभर आठ हजारको हाराहारीमा पत्रकार यसका सदस्य छन् । (नेपाल पत्रकार महासङ्घ, २०८१) त्यसो त महासङ्घमा सदस्य नरहेका पत्रकारको सङ्ख्या पनि कम छैन । 

यसबाट नेपाली मिडियाको दायरा विस्तारित हुँदै गएको आभास मिल्छ र मिडिया व्यवसायलाई गुणस्तरीय बनाउन मिडिया शिक्षा र यसको अपरिहार्यता जोडिएको हो । अनि व्यावसायिकताभित्रै प्राज्ञिक बहस खोजिने गरिन्छ । 

आमसञ्चार व्यवसायलाई दक्ष, प्रशिक्षित तुल्याउनका लागि आमसञ्चार शिक्षा प्रणाली आएको हो । यसले सङ्गठित रूपमा यस क्षेत्रमा भएका अनुभव, प्रविधि, सिप तथा ज्ञानलाई बाँड्न सहयोग मात्र गर्दैन सञ्चारकर्मी बन्न आवश्यक शिक्षा र शिल्पी पनि सिकाउँछ । सन् १९८० र १९९० को दशकपछि मात्र आमसञ्चारका विभिन्न विधामा उच्च शिक्षा अध्ययन अध्यापनको परिपाटी थालनी भएको हो (रेग्मी, २०६३, पृ. २३१–३२) ।

युरोप, अमेरिका र अन्य देशमा पनि सञ्चारलाई पहिले भाषाशास्त्र अन्तर्गत अध्ययन गर्ने प्रचलन थियो । पछि क्रमशः त्यसलाई समाज, राजनीति, संस्कृति आदिसँग जोडेर, अनि पछि पत्रपत्रिकासँग आबद्ध गरेर अध्ययन गर्ने चलन बढेको हो । विश्वमा खास गरी मिडिया शिक्षाको विकास दोस्रो विश्वयुद्धपछि अमेरिकी र युरोपका विश्वविद्यालयबाट भएको हो । (कोइराला, २०६०, पृ.४९)

नेपालमा मिडिया शिक्षाको इतिहास 

पत्रकारिता क्षेत्रको तत्कालीन समस्याबारे अध्ययन गर्ने उद्देश्यले स्थापना भएको ‘प्रेस कमिसन’ को आफ्नो प्रतिवेदनमा मुलुकमा पत्रकारिता शिक्षा आवश्यकता छ भन्ने सिफारिस गरेको थियो (देवकोटा, २०२४, पृ. १९१–१९२) । समयक्रममा नेपालमा औपचारिक रूपमा पत्रकारिता शिक्षा विसं २०३३ साउन १ गतेबाट सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रत्नराज्यलक्ष्मी क्याम्पसले प्रवीणता प्रमाणपत्र तह (आइए) मा पत्रकारिता अध्यापनको परिपाटी सुरु गरेको हो । पत्रकारिता विषयको संस्थापक सहप्राध्यापक लालध्वज देउसा राई हुनुहुन्छ । यसै गरी २०३८ सालमा सोही क्याम्पसमा पत्रकारिता विषयमा स्नातक तह सुरु भयो भने त्रिविले आफ्नो ४२ वर्षको इतिहास पार गरेपछि अर्थात् २०५८ पुस २८ का दिन पत्रकारिता र आमसञ्चार विषयलाई पनि स्नातकोत्तर पाठ्यव्रmमका रूपमा स्विकार्दै पत्रकारिता र आमसञ्चार केन्द्रीय विभाग स्थापना ग¥यो (राई, २०६३, पृ. २२५) ।

विदेशमा पत्रकारितासम्बन्धी सानाठुला तालिम लिएका, अध्ययन गरेका तथा पत्रकारिताको अनुभव सँगालेका व्यक्तिको संलग्नतामा नेपालमा पत्रकारिता शिक्षामा योगदान पुगेको पाइन्छ । निजीस्तरमा पत्रकारितामा प्रमाणपत्र तह सुरु गर्ने क्याम्पस पिपल्स क्याम्पस हो । यसले २०४३ सालदेखि त्रिवि अन्तर्गतको पत्रकारिता पाठ्यक्रम अनुसार अध्यापन सुरु गरेको हो । त्यसपछिको एक दशकसम्म नेपालमा पत्रकारिता शिक्षालाई विस्तार गर्ने प्रयास भएको पाइँदैन । एक/दुई क्याम्पसमा मात्र सीमित रहेको पत्रकारिता शिक्षाले मौलाउने अवसर पनि पाएन ।

पत्रकारलाई सिप दक्षता चाहिन्छ भन्ने महसुस गरी वरिष्ठ पत्रकारको संलग्नतामा विसं २०४१ मा नेपाल प्र्रेस इन्स्टिच्युटको स्थापना भयो । स्वतन्त्र प्रेसको मूल उद्देश्य लिएको इन्स्टिच्युटले पत्रकारितामा डिप्लोमा तालिम सञ्चालन गर्दै आएको छ । पत्रकारिता शिक्षालाई बहुदल आएपछि अझ राम्ररी अगाडि बढाइयो । युरोपमा प्रजातान्त्रिक लहर सुरु भएपछि प्रजातन्त्र पत्रकारिता, प्रेस स्ततन्त्रता विषयमा डिस्कोर्स प्रारम्भ भयो । निजीस्तरमा मिडिया सञ्चालनमा आएपछि पत्रकारिता शिक्षाको क्षेत्र फराकिलो हुने सङ्केत मिल्यो । लोकतान्त्रिक आन्दोलनमा मिडियाको भूमिका निकै महत्वपूर्ण रह्यो । गणतन्त्रपछि मिडिया शिक्षा झन् बृहत् र फराकिलो बन्यो (अर्याल, २०८१, कुराकानीमा आधारित) ।

२०५४ सालदेखि उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ मा आमसञ्चार शिक्षालाई इच्छाधीन विषयका रूपमा अध्यापन गर्ने परिपाटी सुरु गरेलगत्तै काठमाडौँ उपत्यका र मोफसलमा समेत आमसञ्चार शिक्षा विस्तार हुँदै गइरहेको छ (खनाल, २०६८) । त्यसो त माध्यमिक शिक्षा परिषद्ले समेत विसं २०५८ देखि कक्षा ९ र १० मा पत्रकारिता ऐच्छिक विषयका रूपमा व्यवस्थित ग¥यो । विज्ञबाट पाठ्यक्रम लेखाइ प्रकाशन भए पनि नेपालभर न्यून सङ्ख्यामा विद्यालयमा मात्र पत्रकारिता विषयको पढाइ भएको पाइन्छ । यसले स्कुल तहमा आकर्षण कायम गर्न सकेको छैन ।

२०५८ साल लगभग एकैसाथ पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत ‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन’ र कान्तिपुर सिटी कलेजले पत्रकारिता तथा आमसञ्चारका स्नातकोत्तर कक्षा सञ्चालन गरेका हुन् ।

 मदन भण्डारी क्याम्पसले सामुदायिक स्तरमा सबैभन्दा पहिले पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातक तहमा अध्यापन गर्ने क्रम सुरु गरेको हो । यसले शैक्षिक सत्र २०६६÷६७ बाट पत्रकारिता आमसञ्चार विषयमा स्नातकोत्तर तहमा अध्यापन गराउन सुरु गरेको हो । २०६२ सालदेखि काठमाडौँ विश्वविद्यालयले पनि स्नातक तहमा पत्रकारिता तथा आमसञ्चार अध्यापन सुरु गरेर लोकप्रियता कमाएको छ । 

चाहे उच्च माध्यमिक होस् या स्नातक र स्नातकोत्तर किन नहोस्, नेपालमा यस विषयको आकर्षण बढेको छैन । केवल सरकारी क्याम्पसमा मात्र स्नातक तहको अध्यापन हुने गरेकामा निजी तथा सामुदायिक क्याम्पसमा गरी हाल ९० को हाराहारीमा क्याम्पसले स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषयको अध्यापन गराइरहेका छन् । अहिलेसम्म नेपालका नौ वटा विश्वविद्यालयमा मिडिया विषयमा अध्ययन अध्यापन हुन्छ । मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयले क्रमशः विसं २०७०, २०७२ र २०७४ ले समेत पाठ्यक्रम निर्माण गरी पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातक अध्ययन गर्ने परिपाटी सुरु गरेका छन् । विसं २०७९ देखि काठमाडौँ विश्वविद्यालयले मिडिया स्टडिजमा स्नातकोत्तर सुरु गरेको छ भने त्रिभुवन विश्वविद्यालयले विसं २०७४ देखि पत्रकारिता विषयमा एमफिल र विद्यावारिधि सुरु गरेको हो । नेपाल संस्कृत विश्वविद्यालयले सञ्चार विषयमा झन्डै एक दशकदेखि विद्यावारिधि तह सञ्चालन गराइरहेको छ भने काठमाडौँ विश्वविद्यालयले गत सालदेखि विद्यावारिधि कार्यक्रम सुरु गरेको छ ।

नेपाल खुला विश्वविद्यालयले २०७६ सालदेखि स्नातकोतर तहमा मास्टर्स इन मिडिया एन्ड कम्युनिकेसन स्टडिज र २०७९ सालदेखि स्नातक तहमा ब्याचलर इन मिडिया स्टडिज सुरु गरेको हो । त्यसो त पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पोलिगन कलेजले २०६८ सालदेखि स्नातकोत्तरमा आमसञ्चार र पत्रकारिता, सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले पनि सन् २००२ देखि नै स्नातकोत्तर तहमा मिडिया टेक्नोलोजी सुरु गरेको हो । विसं २०७६ देखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा पत्रकारिता र आमसञ्चार विषयको चारबर्से शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । नेपालमा पत्रकारिता शिक्षालाई हेर्दा ९, १० कक्षादेखि विद्यावारिधिसम्म बनाएर सामान्य ज्ञानदेखि उच्च तहको जनशक्ति उत्पादन गर्ने व्यवस्था गरेको पाइन्छ जसबाट नेपाली सञ्चार क्षेत्रको दायरा फराकिलो भइरहेको सन्दर्भमा योगदान पुग्ने आशा तथा विश्वास गर्न सकिन्छ । 

राजधानीबाहिरसमेत माध्यमिक तहदेखि स्नातकसम्मको पठनपाठन भए पनि दक्ष जनशक्ति अझ पुगेको छैन । उच्च शिक्षा हासिल गरेकालाई भन्दा पनि केही तालिम लिएका र मध्यमखाले शैक्षिक जनशक्तिलाई सञ्चार प्रतिष्ठानले रोजगारी दिएका छन् (आचार्य, २०७८) । 

पर्याप्त पाठ्यसामग्रीको अभाव, प्रयोगात्मक कक्ष (मिडिया ल्याब) को अभाव, अभ्यासको कमी, महँगो शुल्कका कारण, सैद्धान्तिक पक्षलाई बढी जोड दिइनेलगायतका परिपाटीका कारण यस विषयको प्रवर्धनमा कठिनाइ भएको महसुस गरिन्छ (खनाल, २०६६) । वास्तवमा पत्रकारिता अन्तरसाङ्ख्यिक विषय बनाई अध्यापन गर्ने परिपाटी बनाएमा अझ दक्ष जनशक्ति उत्पादन हुन सक्छ तर पनि नेपालमा मिडिया शिक्षा गुणात्मक र सङ्ख्यात्मक दुवै आयाममा प्रशस्त विकास भएको छ ।

नयाँ विश्वविद्यालयले सैद्धान्तिक र प्रयोगात्मक पक्षमा दुवैमा जोड दिएको छ, तर कतिपय विश्वविद्यालयले उत्कृष्ट जनशक्ति उत्पादन गरेका छन् । कतिपय विश्वविद्यालयले आफ्नो पाठ्यक्रम संशोधन र परिमार्जन गर्न लागेको पाइन्छ (अधिकारी, २०८१, कुराकानी) । कतिपयको पुरानै ढर्राको छ, समयानुकूल परिमार्जन भएको छैन । 

मुलुकमा सञ्चार क्षेत्रमा प्रचुर सम्भावना नभएपछि उच्च शिक्षा र रोजगारीका लागि बिदेसिने क्रममा तीव्रता आएपछि नेपालमा पछिल्ला दिनमा पत्रकारिता शिक्षाप्रति आकर्षण घट्दै गइरहेको देखिन्छ । शैक्षिक संस्थामा पनि विद्यार्थी सङ्ख्या कम हुँदै गएको छ । 

पत्रकारिता तथा आमसञ्चार शिक्षाको सामाजिक प्रभाव

मुलुकमा पत्रकारिता तथा आमसञ्चार, सञ्चार शिक्षाकै कारण यस क्षेत्रमा लागेर रोजगारीको अवसर मात्र प्राप्त गरेका छैनन्, आमशिक्षा, सूचना, मनोरञ्जनको माध्यमका रूपमा विकसित भएको छ । अनियमितता, भ्रष्टाचारबारे पहरेदारी गरेको छ । राज्यमा विधिको शासन र नियम, कानुन मान्ने परम्पराको विकास भएको छ । जागरणमार्फत विभिन्न जनआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा मिडिया क्षेत्रले पु¥याएको योगदानका बारेमा सबै जानकार छन् (खनाल, २०७९ । सूचना जानकारी सम्प्रेषणमार्फत अशिक्षा, कुरीति, कुसंस्कार, छुवाछुत, जातीय विभेद, सामाजिक विकृति कम गर्न र हटाउन सहयोग पुगेको छ । प्रजातान्त्रिक संस्कारको विकास गर्न, लोकतन्त्रको प्रवर्धन र संस्थागत विकासका लागि आमसञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने भएकाले आमसञ्चार वा मिडिया शिक्षाको विकासले ल्याएको बदलावको जति चर्चा गरे पनि कम हुन्छ । प्रविधिमा आएको व्यापक परिवर्तनले विश्वमा भइरहेको मोजमस्ती र उत्सवलगायतका सुखद घटनादेखि बाढीपहिरो, महामारी, भूकम्प जस्ता दुःखद घटनाबारे सेकेन्ड सेकेन्डमा जान्न, सुन्न र हेर्न सकिएको छ । स्वास्थ्य, कृषि, पर्यावरण, मानव अधिकार, नागरिक शिक्षालगायतका विषयमा नागरिकलाई जागरुक बनाउने तथा जागरण ल्याउने प्रशस्त काम भएको छ । 

पाठ्यक्रमसम्बन्धी केही सवाल

अहिले नेपालमा पत्रकारिता विषयमा स्कुलस्तरदेखि विद्यावारिधिसम्म अध्ययन अध्यापन हुने गरेको छ तर पाठ्यक्रमलाई विश्लेषण गर्ने हो भने कक्षा ११, कक्षा १२, स्नातक तह, स्नातकोत्तर तह, एमफिल विद्यावारिधिको पाठ्यव्रmमबिच सन्तुलन, समन्वय, तालमेल र सिलसिलाको अभाव छ । पाठ्यक्रममा सैद्धान्तिक पक्ष बढी छ भने प्रयोगात्मक पक्ष कम छ । त्रिविको स्नातक तहको पाठ्यक्रममा विश्वमा प्रविधिले ल्याएको परिवर्तनलाई छिटो आत्मसात् गर्ने तौरतरिका, विश्व परिवेश जस्तै डिजिटल सञ्चार, कृत्रिम बौद्धिकता र त्यसले ल्याएको असरबारे कम र पत्रकारिता तथा आमसञ्चारका क्षेत्रमा देखापरेका अत्याधुनिक प्रवृत्तिका बारेमा साक्षात्कार गर्ने खालका विषय र सन्दर्भसम्बन्धी सामग्री छैन । स्नातक तहको पाठ्यक्रम पत्रकार बनाउने खालको छ भने स्नातकोत्तर तहको पाठ्यक्रमले चिन्तक र विशेषज्ञ बनाउने प्रयास गरिएको छ तर विशेषज्ञको क्षेत्र निर्धारण गरिएको छैन । 

त्रिविको स्नातक र पूर्वाञ्चल विश्वविद्यालयका पाठ्यक्रममा धेरै समानता छ । त्रिविमा प्रयोगात्मक विषयको अङ्कभार ३० प्रतिशत छ भने पूर्वाञ्चलमा ४० प्रतिशत अङ्कभारको व्यवस्था गरिएको छ । प्रायः सबै विश्वविद्यालयमा भौतिक सामग्री र दक्ष शिक्षकको अभाव छ । प्रभावकारी मूल्याङ्कन पद्धति वैज्ञानिक र व्यावहारिक नहुनु अर्को गम्भीर र महत्वपूर्ण पाटो हो । एक/दुई विश्वविद्यालयलाई अपवादमा राखेर हेर्ने हो भने अन्यको पाठ्यक्रममा समयानुकूल पुनरवलोकन, संशोधन र परिमार्जन गरिएको पाइँदैन । धेरै जसो विश्वविद्यालयले पाठ्यक्रममा सिफारिस गरिएका पुस्तक पुराना, अद्यावधिक नगरिएका र बजारमा नपाइने, पाइएमा नेपाली सन्दर्भमा मेल नखाने, महँगो र भाषागत कठिनाइ छ । पछिल्लो समय नेपाली लेखकद्वारा लेखिएका पुस्तक बजारमा सहजै उपलब्ध हुने र उपयोगी हुने खालका पनि छन् तर तिनीहरूलाई पाठ्यक्रममा राखिएको पाइँदैन । विश्वपरिवेश बुझेर मात्र हुँदैन हामीलाई अहिले नेपाली परिवेश, सन्दर्भ र आवश्यकता अनुरूपको शिक्षा चाहिएको छ । हामीलाई माटो सुहाउँदो र नेपाली भूगोल अनुरूपको राज्य संयन्त्र, राजनीतिक परिवेश, सामाजिक समावेशीकरण, लैङ्गिक समानता, सीमान्तीकृत र अल्पसङ्ख्यकका मुद्दा, दिगो विकास, प्रविधिबारे अद्यावधिक जानकारी, मानव अधिकार प्रवर्धन, डिजिटल सञ्चारलगायतका विषय पाठ्यक्रममा समावेश गर्न आवश्यक छ । 

नेपालमा झन्डै ६० प्रतिशत जनता कृषिमा आधारित छन् । केही विश्वविद्यालयका पाठ्यक्रममा विकास सञ्चार भनी उल्लेख भएका छन् तर कृषि सञ्चारका बारेमा जानकारी दिने हिसाबले कृषि पत्रकारिताका बारेमा बृहत् जानकारी दिने पाठ्यव्रmम आवश्यक छ । केही राष्ट्रिय मिडियाले कृषिबारे दिएका जानकारी कृषक समुदायमाझ निकै लोकप्रिय छ । 

नेपालमा मिडियाको स्थापनापूर्व गरिने बेस लाइन स्टडी सीमित मात्रामा हुने गरेका छन् । मिडियाको सङ्ख्या बढिरहेको सन्दर्भमा गुणात्मक अध्ययन त्यति भएको पाइँदैन । मिडिया खोल्ने तर सन्देश प्रवाह पक्ष वा अन्तरवस्तुको प्रायः अध्ययन नै नगर्ने परिपाटी छ । केही विश्वविद्यालयका पाठ्यक्रममा केही एकाइ मात्र मिडिया प्रभावबारे उल्लेख भएको पाइन्छ । त्यसैले एक पेपरकै रूपमा अध्ययन गर्ने परिपाटीको विकास गर्न जरुरी छ । 

मिडिया साक्षरता मिडिया सामग्रीलाई पहिचान गर्ने, बुझ्ने, व्याख्या गर्ने र विश्लेषण गर्ने क्षमता हो । मिडिया साक्षरतालाई केही विश्वविद्यालयले केही एकाइ र अन्यले एक पेपरकै रूपमा पाठ्यक्रममा समेटे पनि धेरै विश्वविद्यालयको पाठ्यव्रmममा यसबारे अन्तरवस्तु छैनन् । मिडिया साक्षरताबिना मिडिया सामग्री उपभोग प्रतिफलमुखी हुँदैन । त्यसैले पनि यसबारे स्तर हेरी अनिवार्य एउटा पेपरकै रूपमा र मिडिया शिक्षाइतरका पाठ्यक्रममा समेत अनिवार्य रूपमा राख्न जरुरी छ । 

अधिकारी (२०६८) का अनुसार नेपाली विश्वविद्यालयका पाठ्यक्रम अमेरिकी पाठ्यक्रमबाट प्रभावित छ भने त्यसमा मौलिकताको अभाव छ । अधिकारी र पन्त (२०६८) ले उल्लेख गरे अनुसार पत्रकारिता जस्तो परिवर्तनशील विषयको पाठ्यक्रम गतिशील नहुनुमा विश्वविद्यालयको व्यवस्थापन, सरोकारवाला निकायको आवश्यकता र प्राथमिकतामा नपर्नुलगायतका कारण रहेका छन् । तेस्रो मुलुकले भोग्नुपरेका समस्या र यस क्षेत्रका नागरिकका पीडा एवं समृद्धिका मार्गका बारेमा पनि मिडियाले सामग्री पस्कनु पर्दछ । पत्रकारिता बहुविधात्मक विषय पनि भएकाले यसलाई पनि गम्भीरतापूर्वक पाठ्यक्रममा संलग्न गराइनुपर्ने हुन्छ । 

मिडिया शिक्षाको क्षेत्र

अहिलेसम्म हामीकहाँ पत्रकारिता पढेपछि पत्रकार नै बन्ने हो भन्ने अवधारणा छ । पढ्दैमा पत्रकार बन्न सकिँदैन र बन्नै पर्दछ भन्ने पनि छैन । मिडियाको शैक्षिक उपाधि हासिल गरेको जनशक्ति पत्रकारिताका अलवा सञ्चारका विविध विधामा मात्र पनि अटाउन सक्छ । जस्तै प्रेस कानुन, आलेख लेखक, वृत्तचित्र निर्माता, उद्घोषक, मिडिया व्यवस्थापक, फोटोग्राफर/फोटो पत्रकार, अतिरिक्त उनीहरू जनसम्पर्कका क्षेत्रमा, विज्ञापनका क्षेत्रमा, सञ्चार रणनीति निर्माणका क्षेत्रमा, सञ्चार विश्लेषक वा समीक्षक, सूचना अधिकारी, प्रवक्ता, मिडिया अनुसन्धानकर्ता वा अध्येता, अध्यापक वा प्रशिक्षक, विकास सञ्चारका क्षेत्रमा संलग्न हुन सक्छन् । पत्रकारिता तथा आमसञ्चार यस्तो बृहत् क्षेत्र हो जहाँ धेरै शीर्षकका जनशक्तिले रोजगारी पाउन सक्छन् । कोही आफैँ स्वरोजगार पनि बन्न सक्छ भने रोजगारी पनि सिर्जना गर्न सक्छ । त्यसका लागि समर्पण भाव, मेहनत, भाषामा दक्ष, सामान्य प्राविधिक ज्ञान, विषयवस्तुमा पोख्त, नैतिक, तीक्ष्ण दिमाग, स्वस्थ शरीर र दुःख खेप्न सक्ने क्षमता चाहिन्छ । अहिले राम्रा अङ्क ल्याएका, क्षमता एवं पहुँच भएकाहरू सरकारी एवं गैरसरकारी संस्थामा बढी संलग्न देखिन्छन् । 

नेपालमा ठुला मिडिया हाउस र गैरसरकारी संस्थाले आकर्षक तलब, सुविधाको व्यवस्था गरेको पाइन्छ तर औसतमा पत्रकारलाई जीवन धान्ने तलब, बिमा, पेसागत र भौतिक सुरक्षाको प्रबन्ध नभइरहेको सन्दर्भमा भविष्यमा पत्रकार बन्न चाहनेका लागि कस्तो जवाफ दिने यो गम्भीर प्र्रश्न यस विषयका प्रशिक्षक र अध्यापकसामु खडा भएको छ । अधिकांश शिक्षण संस्थाले बर्सौं पढाउने र प्रमाणपत्र मात्र दिने तर रोजगारी नदिने प्रणालीमा कहिले सुधार ल्याउने चिन्तन मनन गर्न ढिला भइसकेको छ । (खनाल, २०७३)

मिडिया शिक्षाको महत्व

शैक्षिक संस्थामा पत्रकारिता अध्ययन अध्यापन नभएका बेला सानाठुला तालिम लिएका व्यक्तिबाट पत्रकारिताको जनशक्ति व्यवस्थापन भएको थियो । जब शैक्षिक कार्यक्रम विभिन्न विश्वविद्यालयले सुरु गरे तब शैक्षिक जनशक्ति उत्पादन हुन थाले । मिडिया अभ्यासलाई गाइड गर्ने काम मिडिया शिक्षाले गर्छ । यसले विभिन्न विधाका लेखनी र प्रस्तुतिका ज्ञान एवं सिप सिकाउँछ । (अर्याल, २०८१) प्रसिद्ध अमेरिकी पत्रकार वाल्टर लिपम्यानले भनेका छन्, “आखिर पत्रकारिता विश्वविद्यालयमा सिक्ने विषय नै के छ र पत्रकारलाई चाहिने सबैभन्दा ठुलो कुरा भनेको शिक्षा हो ।” 

यस भनाइको अर्थ पत्रकारलाई शिक्षा कत्तिको महत्वपूर्ण हुँदो रहेछ भन्ने हो, शिक्षा चाहिँदैन भनेको होइन । पत्रकारिताको आधारभूत शिक्षा लिएर व्यावसायिक पत्रकारिता गर्नेले तुलनात्मक रूपमा राम्रो पेसागत दक्षता प्रस्तुत गरेको देखिन्छ । समकालीन समाज मिडिया केन्द्रित प्रविधिप्रदत्त समाज भएको हुनाले मिडिया साक्षरता सर्वसाधारणदेखि नीति निर्माता सबैका लागि अत्यावश्यक हुन्छ । मिडियाकै क्षेत्रमा पेसागत अवसरका लागि त मिडिया शिक्षा आवश्यकता छँदै छ त्यसका अतिरिक्त समकालीन समाजमा जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्नका लागि आधारभूत सञ्चारसिप आवश्यक पर्ने हुनाले मिडिया शिक्षाको उपयोगिता बढेरहेको छ (अधिकारी, २०८१) ।

मिडिया शिक्षाबारे विभिन्न विचारविमर्श र विश्वका अनुसन्धानले समेत मिडिया अभ्यासलाई गाइड गर्न मिडिया शिक्षा नै चाहिन्छ भन्ने देखाउँछ । आचार्य (२०७८) ले उल्लेख गरे अनुसार नेपालमा ठुला मिडिया हाउसले ठुला डिग्री लिएका व्यक्तिलाई रोजगारी र परामर्शका लागि अनुरोध नगरेको पाइन्छ । पर्याप्त शैक्षिक सामग्री तथा प्रयोगात्मक सिकाइको अभाव, शिक्षण संस्था र मिडिया हाउसबिच समन्वय नभएकाले त्यस्ता शैक्षिक संस्थाबाट उत्पादित जनशक्तिले रोजगारी नपाएको उनको दाबी छ । खनाल (२०८१) भने पछिल्ला दिनमा मिडिया शिक्षाको विकासले पत्रकारिता पढ्ने हो साथमा गर्ने पनि हो भन्ने कुरा स्थापित गराएको दाबी गर्छन् । 

नेपाली समाजले मिडिया शिक्षाकोे आवश्यकतालाई स्वीकार गरेका कारण गुणस्तरीय व्यावसायिक पत्रकारिताका लागि विश्वविद्यालयको मिडिया शिक्षा सबैका लागि आवश्यक छ तर अहिलेको आवश्यकता भनेको समकालीन समयको सञ्चार जगत्लाई प्रतिविम्बित गर्ने पाठ्यक्रमको हो । डिजिटल प्रविधिलाई आत्मसात् गर्दै कृत्रिम बौद्धिकताले ल्याएको चुनौतीको सामना गर्ने कुरा पाठ्यक्रमले समेट्नु पर्छ (राई, २०८१, कुराकानी) ।

पत्रकारिता प्रशिक्षणमा तालिम केन्द्रको योगदान

पत्रकारिताको सिप विकासमा तालिम केन्द्रले पु¥याएको योगदानको पाटो पनि त्यत्तिकै स्मरणीय छ । अग्रज पत्रकारहरू गोकुल पोखरेल, गोपालदास श्रेष्ठ, भारतदत्त कोइरालालगायतले त्यतिबेलाको पत्रकारिता क्षेत्रमा सिप विकासको आवश्यकता महसुस गरी नेपाल प्रेस इन्स्टिच्युटको स्थापना गरेका थिए । वातावरण पत्रकार समूह, मिडिया प्वाइन्ट, आवास, सञ्चारिका समूह, राष्ट्रिय विकास सञ्चार केन्द्र, मिडिया एक्सन नेपाल, मिडिया स्कुल, सेन्टर फर मिडिया रिसर्च नेपाल, सूचना तथा प्रसारण विभाग, पत्रकार महासङ्घ तथा तिनका शाखा कार्यालयलगायतका संस्थाले पत्रकारको व्यावसायिक दक्षता अभिवृद्धिका लागि काम गरेको पाइन्छ । 

अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै फ्रेडरिक इवर्ट स्टिफुङ, डानिडा, युनेस्कोलगायतले पनि नेपालमा पत्रकारिता शिक्षा र तालिमका क्षेत्रमा सहयोग पु¥याएका छन् । हुमागाईं र अन्य (२०६७) ले पत्रकारिता शिक्षामा प्रयोगात्मक अभ्यास कम भएको उल्लेख गरेका छन् । यद्यपि उनीहरूको जोड पत्रकारिता तथा आमसञ्चार शिक्षामा नभएकाले तालिमका पक्षमा केन्द्रित छ । धेरै जसो तालिमकेन्द्रले पाठ्यक्रमबिना नै तालिम सञ्चालन गरेकाले प्रभावकारी बन्न सकेको छैन तर नियमित तालिममा मात्र जोड दिने संस्थाले पाठ्यक्रम तयार पारी स्तरीय तालिम प्रदान गर्दै आएका छन् । मिडिया सम्बन्धित गैरसरकारी संस्था तथा तालिम केन्द्रहरू पनि डिजिटल परिवर्तनसँगै चल्नु पर्छ भने शैक्षिक संस्थाहरूले पनि सिपमा आधारित कार्यक्रम बनाउनु पर्छ (पाण्डे, २०२३, पृ. ७४) । शिक्षा बजारमा चल्ने र बिक्ने पनि हुनु पर्छ भन्नेमा दुईमत नरहला तर हामीकहाँ मिडिया अध्यापक, नीति निर्माता र विषयवस्तु उत्पादकबिच समन्वय र सहकार्य हुन सकेको छैन । 

पहिले पत्रकारितामा गुण मात्र चर्चा गर्ने तथा आदर्शका कुरा मात्र गरिन्थ्यो । प्रजातन्त्र आएपछि समालोचनात्मक ढङ्गबाट मिडिया शिक्षालाई हेर्न थालिएको छ । विश्वविद्यालयका विद्यावारिधि उपाधिका लागि अनुुुसन्धानमूलक शोधपत्रले मिडिया शिक्षाको आवश्यकता, औचित्य बोध गराएको छ भने यसले पत्रकारिता शिक्षा परिष्कृत र परिमार्जनको दिशा निर्दिष्ट गर्न सहयोग गरेको छ  (अर्याल, २०८१, कुराकानी) ।

नेपालमा मिडिया शिक्षाका शैक्षणिक कार्यक्रम

नेपालमा मिडिया शिक्षा माध्यमिक तहदेखि विद्यावारिधि तहसम्म पढाइ हुन्छ । यहाँ हाम्रा विभिन्न शैक्षिक संस्थाले सञ्चालन गरेका शैक्षिक कार्यक्रमबारे उल्लेख गरिएको छ :

  • राष्ट्रिय परीक्षा बोर्ड कक्षा ९ र कक्षा १० वार्षिक कार्यक्रम 
  • कक्षा ११ र कक्षा १२         वार्षिक कार्यक्रम
  • त्रिभुवन विश्वविद्यालय स्नातक ४ बर्से कार्यक्रम
  • स्नातकोत्तर (पत्रकारिता तथा आमसञ्चार)            ४ सेमेस्टर
  • एमफिल पिएचडी (पत्रकारिता तथा आमसञ्चार)    एमफिल २ सेमेस्टर
  • थेसिस छ महिना गरी न्यूनतम साढे दुई वर्ष

पूर्वाञ्चल विश्वविद्यालय स्नातक 

  • (आमसञ्चार र पत्रकारिता ) ८ सेमेस्टर
  • मिडिया टेक्नोलोजी (स्नातक) ८ समेस्टर
  • पूर्वाञ्चल विश्वविद्यालय 
  • स्नातकोत्तर (आमसञ्चार र पत्रकारिता ) ४ सेमेस्टर
  • विकास सञ्चार ४ सेमेस्टर
  • मिडिया टेक्नोलोजी (स्नातकोत्तर) ४ सेमेस्टर

काठमाडौँ विश्वविद्यालय (स्नातक) मिडिया स्टडिज ८ सेमेस्टर

  • स्नातकोत्तर ४ सेमेस्टर
  • पिएचडी इन कम्युनिकेसन न्यूनतम ३ वर्ष 
  • नेपाल खुला विश्वविद्यालय स्नातक (बिए इन मिडिया स्टडिज) ८ सेमेस्टर
  • स्नातकोत्तर (मास्टर्स इन मिडिया एन्ड कम्युनिकेसन स्टडिज) ४ सेमेस्टर

नेपाल संस्कृत विश्वविद्यालय 

  • विद्यावारिधि (सुरुमा सञ्चार, पछि आमसञ्चार, पत्रकारिता) तीन वर्ष
  • मध्यपश्चिम विश्वविद्यालय स्नातक (आमसञ्चार र पत्रकारिता) ८ सेमेस्टर
  • सुदूरपश्चिम विश्वविद्यालय स्नातक (आमसञ्चार र पत्रकारिता) ८ सेमेस्टर
  • पोखरा विश्वविद्यालय स्नातक (ब्याचलर इन इङ्ग्लिस एन्ड कम्युनिकेसन स्टडिज) ८ सेमेस्टर 

स्रोत– आचार्य, २०७८ तथा नेपाली विश्वविद्यालयका आधिकारिक वेबसाइटहरू

मिडिया शिक्षाका चुनौती 

मिडिया शिक्षाले समाचार कक्षसँग जोड्ने काम गर्दछ तर नेपालमा सञ्चार प्रतिष्ठानको आवश्यकता सुहाउँदो जनशक्ति शैक्षिक संस्थाले उत्पादन नगरेकोे शैक्षिक संस्थाको कक्षा र समाचार कक्षबिच रिक्तता रहेको पाण्डे (२०२३) को अध्ययनले देखाउँछ । समयानुकूल अद्यावधिक नगरिएका मिडिया शिक्षाका पाठ्यव्रmम, समाचार कक्षमा सीमित एक्स्पोजर, प्रयोगात्मक अभ्यासको कमी, आधुनिक डिजिटल समाचार कक्षमा काम गर्ने आत्मविश्वासको कमी रहेको उनको अध्ययनले देखाएको छ । दक्ष अध्यापकको अभाव, स्रोतसाधनको कमी, अन्तर्राष्ट्रिय मापदण्ड, मान्यता र माग अनुकूल मिडिया शिक्षा नभएको देखिन्छ तर मिडिया शिक्षाको सफलता समाचार कक्षले मागको जनशक्ति उत्पादन गर्नु मात्र नभई सञ्चारका विविध आयाम र क्षेत्रहरूमा काम गर्ने जनशक्ति आवश्यकता छ । मिडिया शिक्षा आर्जन गरेका सबैले पत्रकारिता गर्नैपर्ने तथा डिजिटल प्रविधि जान्नु मात्र यसको उपलब्धि होइन । लगानीमैत्री, अनुसन्धानमैत्री र प्रविधिमैत्री शिक्षा बनाउन सकिए मिडिया शिक्षा प्रतिफलमुखी र फलदायी हुन्छ । (पोखरेल, २०८१, कुराकानी) ।

डिजिटल मिडियाको मर्मलाई आत्मसात् गर्न सकिए मात्र मिडिया शिक्षाको औचित्य साबित हुने छ । नत्र मिडिया शिक्षाको महत्व धुमिल हुने सम्भावना रहन्छ । यतिबेला नागरिक पत्रकारिता र सोसल मिडिया जर्नालिज्म निकै पेचिलो बनेको छ । समाज प्रविधिबाट कहिल्यै छुट्टिन सक्दैन । त्यसो त कतिपय आमसञ्चार सिद्धान्त पुनरवलोकन गर्र्नुपर्ने बेला आइसकेको छ । प्रविधिकै कारण समाचारको परिभाषा नै परिवर्तन भइसकेको छ (खनाल, २०८१, कुराकानी) । 

नेपालको पत्रकारिता शिक्षा बढी सैद्धान्तिक भएको टिप्पणी गरिन्छ । नयाँ नयाँ प्रविधिबारे परिचित गराउन तालिमको भूमिका हुन्छ तर पत्रकारिताको शैलीमा व्यक्त गर्ने कुरा शिक्षाले सिकाउँछ । भाषाशैली कक्षाकोठामा सिक्ने मौका हुन्छ तर सम्पादकीय, अन्तर्वार्ता सिप कक्षाले मात्र सिकेर पुग्दैन तर नेपालमा विधागत पत्रकारिताबारे पाठ्यव्रmममा नसमेटिएको र प्रविधिका बारेमा पनि पाठ्यभार कम रहेको छ । (बस्नेत, २०८१, कुराकानी)

पन्त (२००९, पृ.२५) का अनुसार नेपालका विश्वविद्यालयमा मानविकी तथा सामाजिकशास्त्र प्राथमिकतामा नपरेको, बेवास्ता गरिएको र पर्याप्त कोष पनि नभएको सङ्कायका रूपमा पर्ने गर्दछ । शैक्षिक प्रशासक सामान्यतया पत्रकारिता विभागलाई इन्जिनियरिङ सरह स्रोतसाधन सम्पन्न पनि बनाउन चाहँदैनन् किनकि यसमा प्रतिफल वा उपार्जन त्यति हुँदैन तर पत्रकारिताका अन्तर्राष्ट्रिय स्कुलमा लगानी पनि धेरै गरिएको हुन्छ र शिक्षकलाई पनि आकर्षक पारिश्रमिक तथा सुविधा दिइएको हुन्छ । 

हाम्रा विश्वविद्यालयमा स्रोत र भौतिक संरचना नभएका शैक्षिक संस्थालाई पनि पत्रकारिता शिक्षा सञ्चालन गर्न सम्बन्धन दिने गरेका छन् । राजनीतिक शक्ति र पैसाको आडमा जथाभाबी सम्बन्धन दिएपछि कसरी सुधारको अपेक्षा गर्ने ? नियामक निकाय र अनुगमनको अभावमा मिडिया शिक्षा व्यवस्थित बन्न सकेको छैन । 

पन्त (२००९, पृ. ३०) ले उल्लेख गरे अनुसार मिडियाका शैक्षिक संस्था र मिडिया हाउसबिच समन्वयको अभावले पनि पत्रकारिता दर्शन र अभ्यासबिच रिक्तता हुन गएको हो । बस्नेत (२०८१) भने शैक्षिक संस्थाले सिकाएका कुरा मिडिया बजारमा बिकाउ नभएको र मिडिया हाउसले विश्वास नगरेको दाबी गर्छन् । केही शैक्षिक संस्थाबाहेक अन्यको अभ्यासका लागि मिडिया ल्याब र मिडिया संस्था नै छैन । त्यसैले शैक्षिक संस्थाले सम्भव भएसम्म आफ्नै पत्रपत्रिका, अनलाइन, टिभी च्यानल र रेडियो सञ्चालन गर्नुपर्ने उनी सुझाव दिन्छन् । 

सुधारका क्षेत्र

विश्वविद्यालयको शिक्षा सकिनासाथ समाचार कक्षमा खरो उत्रन सक्ने जनशक्तिको माग हाम्रा सञ्चार माध्यमले गर्ने भएकाले विश्वविद्यालयले पनि त्यस्तो आवश्यकतालाई परिपूर्ति गर्न सक्ने उत्पादन गर्नु पर्छ । प्रविधिमा आएको परिवर्तन र त्यसले मिडियामा पर्ने प्रभावलाई लिएर समय समयमा पाठ्यक्रममा परिवर्तन, संशोधन र परिमार्जन गर्नु पर्छ । 

आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्ने अध्यापक, शिक्षकलाई अभिमुखीकरण तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, कार्यशाला अतिरिक्त उच्च शिक्षा अध्ययन गर्ने परिपाटीको विकास गर्नु पर्छ ।

कतिपय शिक्षण संस्था वा विश्वविद्यालयले पूर्णकालीन शिक्षकको व्यवस्था नगरेका र सेवासर्तको ग्यारेन्टी नगरेको अवस्था छ । त्यसै गरी शिक्षकका लागि अनुसन्धान कोषको व्यवस्था गरी विषयगत अनुसन्धानको व्यवस्था तथा जर्नलहरूमा अनुसन्धान लेख प्रकाशन गर्ने व्यवस्था मिलाउनु पर्छ । आमसञ्चार र पत्रकारिता पढ्ने विद्यार्थीका लागि इन्टर्नसिप अनिवार्य, बृहत् र व्यवस्थित गर्नु पर्छ । 

सञ्चारविद्, प्रतिष्ठित पत्रकार, सम्पादक, प्राध्यापक, लेखक आदिलाई अतिथिका रूपमा आमन्त्रण गरी बेला बेलामा उनीहरूका अनुभवलाई विद्यार्थीमाझ साझेदारी गर्ने व्यवस्था गर्नु पर्छ । 

केवल प्रवचन विधि सिकाइ विधिबाट मात्र प्रशिक्षण गर्ने मात्र नभई सहभागितामूलक विधि, अवलोकन विधि, छलफल विधि, क्षेत्रगत अध्ययन (फिल्ड भिजिट) र प्रस्तुतिलाई पनि प्राथमिकता दिएर दिन सकिन्छ । 

अनलाइन र डिजिटल सञ्चारलाई जोड दिँदै शैक्षिक संस्थाले पनि डिजिटल फोटोग्राफीको व्यवस्था, अनलाइन पत्रिका, अनलाइन रेडियो, अनलाइन टिभी सञ्चालन गरी प्रशिक्षण र प्रयोगात्मक अभ्यास गराउनु पर्छ । सम्भव भएन भने मिडिया हाउससँग समन्वय गरी विद्यार्थीलाई अभ्यास गर्ने बन्दोबस्त मिलाउनु पर्छ । 

पत्रकारिता तथा आमसञ्चारका विषयका अतिरिक्त भाषा विषय जस्तै अङ्ग्रेजी वा नेपाली अनिवार्य अध्ययन गर्ने व्यवस्था गर्न सकिन्छ । एउटा राष्ट्रिय भाषा, अर्को अन्तर्राष्ट्रिय भाषा र स्थानीय भाषाको ज्ञान भएमा उत्तम हुन्छ । 

तल्लो कक्षादेखि नै सैद्धान्तिक र प्रयोगात्मक विषयलाई स्तर हेरी सन्तुलित बनाउनु पर्दछ । सम्भव भए सैद्धान्तिक भाग र प्रयोगात्मक भागलाई बराबर बनाउनु पर्छ ।  मिडिया पाठ्यव्रmमलाई वैश्वस्थानीकरण गर्नु पर्छ भने बहुविधात्मक बनाउनु पर्छ र विधागत पत्रकारितालाई स्थान दिनु पर्छ । 

निष्कर्ष

नेपालमा मिडिया शिक्षाको झन्डै पाँच दशक लामो इतिहास भए पनि कोसेढुङ्गा साबित हुने गरी विकास भएको देखिँदैन । यद्यपि मिडियाको सङ्ख्या बढिरहेको सन्दर्भमा मिडिया शिक्षाको आवश्यकता र औचित्यमाथि प्र्रश्न गर्ने ठाउँ रहन्न तर मिडिया शिक्षा व्यवहारमुखी, अद्यावधिक र समयसापेक्ष हुन आवश्यक छ । पाठ्यव्रmममा पनि सैद्धान्तिक र व्यवहार (प्रयोगात्मक अभ्यास) बिचको सन्तुलन मिलाउनु पर्छ । मिडिया अध्यापकको हकमा उनीहरूलाई पनि समय समयमा तालिम, अभिमुखीकरण, आधुनिक उपकरणको व्यवस्था गर्ने र अध्ययन अनुसन्धानमा लाग्ने परिपाटीको व्यवस्था गर्न सकिन्छ । यसै गरी मिडिया अध्यापन गराउने शैक्षिक संस्था र मिडिया हाउसबिच समन्वय र सहकार्यको खाँचो छ । सञ्चार क्षेत्रको जनशक्ति व्यवस्थापनमा राज्यको ध्यान पुगेको छैन । त्यसो त पछिल्लो पुस्ता पत्रकारितामा त्यति सबल ढङ्गले लागेको छैन । यसबाट मिडियालाई नै पेसा बनाएर काम गर्ने प्रवृत्तिमा ह्रास आउने देखिन्छ । मिडिया हाउस र विश्वविद्यालयको उत्पादनबिच रिक्तता छ । यसैले सरकारले अख्तियार गर्ने सञ्चार नीतिमा पनि मिडिया शिक्षा आर्जन गरेको जनशक्तिलाई स्वदेशमै रोजगारी दिने र संलग्न गराउने परिपाटीको अभाव छ । त्यसैले पनि होला विश्वविद्यालयका स्नातकहरू गैरसरकारी संस्थामा बढी संलग्न देखिन्छन् । 

सन्दर्भ ग्रन्थ सूची

  • अधिकारी, निर्मलमणि र पन्त लक्ष्मणदत्त (सम्पा.) (२०१४), नेपाली विश्वविद्यालयमा पत्रकारिता पाठ्यक्रम, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को तथा विकास सञ्चार समाज, काठमाडौँ । 
  • आचार्य, भानुभक्त (२०७८), आमसञ्चार र पत्रकारिता अध्ययन, काठमाडौँ : निमा पुस्तक प्रकाशन ।
  • कोइराला, अच्युतबाबु (२०६०), पत्रकारिताको विश्व इतिहास, भाग–१, काठमाडौँ : जेकेजी बुक्स एन्ड स्टेसनरी । 
  • खनाल, चिरञ्जीवी (२०६८), पत्रकारिता सन्दर्भ, काठमाडौँ : लेखक स्वयम् ।
  • खनाल, चिरञ्जीवी (२०६८), विश्वविद्यालयमा पत्रकारिता, काठमाडौँ : लेखक स्वयम् ।
  • खनाल, श्रीराम ( २०६६), अन्योलमा अघि बढिरहेको पत्रकारिता शिक्षा, नेपाल समाचारपत्र, साउन २१, पृ.४)
  • खनाल, श्रीराम (२०७३), नेपालमा पत्रकारिता तथा आमसञ्चार शिक्षाका अन्तर्वस्तु, गोरखापत्र दैनिक, वर्ष, ११६ अङ्क ८९, साउन १८, मङ्गलबार । 
  • खनाल, श्रीराम (२०७९), मिडिया नीतिशास्त्र र कानुन, सातौँ सं., काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
  • खनाल, श्रीराम (२०७९), जनसम्पर्क र विज्ञापनको परिचय, पृ. २३५–२३७, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार
  • देवकोटा, ग्रीष्मबहादुर (२०२४), नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, ललितपुर : साझा प्रकाशन । राई, लालदेउसा (२०६३), स्नातकोत्तर तहमा पत्रकारिता र आमसञ्चार शिक्षा, रत्नराज्यको अनुभव, वन्त, प्रत्युष र अन्य (सम्पा.), मिडिया अध्ययन, १ पृ. २२५–२३०, काठमाडौँ : मार्टिन चौतारी । 
  • प्रेस काउन्सिल, (२०८०), वार्षिक प्रतिवेदन, २०८०/८१), प्रे.का.नि. तिलगङ्गा : काठमाडौँ । 
  • रेग्मी, रामकृष्ण (२०६३), प्राङ्गण केसीसीको, शिक्षा आमसञ्चारको, वन्त, प्रत्युष र अन्य 
  • (सम्पा.), मिडिया अध्ययन १, मार्टिन चौतारी ।
  • हुमागाईं, देवराज, पराजुली, शेखर, महर्जन हर्षमान र पन्थी, अर्जुन (२०६७), मिडिया तालिम : नेपाली अभ्यासको लेखाजोखा, काठमाडौँ ः मार्टिन चौतारी । 
  • चारबर्से स्नातक तह पाठ्यक्रम, पत्रकारिता तथा आमसञ्चार (२०१९), मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डिन कार्यालय, कीर्तिपुर । 
  • स्नातकोत्तर तह पाठ्यक्रम, पत्रकारिता तथा आमसञ्चार (२०१४), मानविकी तथा सामाजिकशास्त्र संकाय, डिन कार्यालय, कीर्तिपुर । 
  • नेपाल पत्रकार महासङ्घ ­( २०८१), तिलगङ्गा, काठमाडौँ । 
  • Pandey, Lekhanath (2023). Brideing the Skills Gap: Aligning Journalism Education with Industrial Needs in Nepal. Humanities and Social Sciences Journal, RMC, Ratna Rajyalaxmi Campus,TU. 15 (pp.64-81), ISSN: 2594-3065
  • MCQuail, D. (2000). Mass Communication Theory,(4th ed.), London: Sage Publication.
  • Pant, L.D. (2009). Journalism and Media education in Nepal: A Critical overview. Kathamandu University: Bodhi Journal,3(1), 21-34, ISSN: 2091-0479

अन्तर्वार्ता

  • सहप्राध्यापक लालदेउसा राई (२०८१, कार्तिक ४ गते), पत्रकारिता शिक्षाका संस्थापक तथा पूर्वविभागीय प्रमुख, त्रिविवि ।
  • डा. निर्मलमणि अधिकारी (२०८१, भदौ २८ गते), सहप्राध्यापक, भाषा तथा आमसञ्चार विभाग, काठमाडौँ विश्वविद्यालय ।
  • डा. अर्याल, कुन्दन (२०८१, भदौ, ३० गते), सहप्राध्यापक तथा विभागीय प्रमुख, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिविवि ।
  • खनाल, चिरञ्जीवी (२०८१, भदौ, ३१ गते), प्राध्यापक तथा पूर्वविभागीय प्रमुख, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिविवि । 
  • बस्नेत, श्रीरामसिंह (२०८१, असोज, २ गते), पत्रकारिता प्रशिक्षक तथा पूर्वमहाप्रबन्धक, राष्ट्रिय समाचार समिति । 
  • पोखरेल, प्रबलराज (२०८१, असोज ४ गते, प्राध्यापक तथा पूर्वविभागीय प्रमुख पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, त्रिविवि । 

लेखक दुई दशकदेखि पत्रकारिता तथा आमसञ्चार विषयमा प्राध्यापनरत हुनुहुन्छ । 

प्रस्तुत आलेख ‘नेपालमा मिडिया शिक्षाको विकास ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।


Author

डा. श्रीराम खनाल