विजयकुमार साह
ढल्केबर, साउन १६ गते । कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको भीड लागेको छ । कृषि ज्ञान केन्द्रले स्यालो ट्युबवेल जडानका लागि आवेदन माग गरेपछि निवेदन बुझाउने किसानको भीड लागेको हो ।
केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले सुक्खा एवं खडेरीबाट तत्काल राहतका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रमअन्तर्गत स्यालो ट्युबवेल जडानका लागि आवेदन मागरिएको बताउनुभयो । उहाँले शुक्रबारसम्म ११ सयभन्दा बढी आवेदन प्राप्त भएको जानकारी दिनुभयो । उहाँका अनुसार निवदेन बुझाउने समय आइतबारसम्म रहेकाले यो संख्या अझै बढ्छ ।
प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवदेन प्राप्त भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कार्यालसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवदेन त्यसको दोब्बर प्राप्त भएको छ ।’
उहाँले प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाउने बताउँदै यस वर्ष प्रर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको बताउनुभयो ।
आवेदन दिन आएका किसान रामचन्द्र महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस वर्ष समयमा पानी परेन । खेत सबै सुक्खा छ । यसैगरीे सबैला नगरपालिकाका अर्का किसान श्यामबाबु यादवले सिँचाइको सुविधा नहुँदा धान खेती गर्न समस्या भएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र धनुषाले साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्नका लागि किसान १० रुपियाँको हुलाक टिकट टाँस भएको आवेदन फारम, नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि र जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायतका कागजातहरू माग गरेको छ ।