• २१ भदौ २०८२, शनिबार

शुभकामनाको मुनाफा साढे १२ लाख

blog

बेनी नगरपालिका–४, सिङ्गामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडको कार्यक्रममा सहभागीहरू ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ २१ गते । बेनी नगरपालिका–४, सिङ्गामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा साढे १२ लाख रुपियाँभन्दा बढी मनाफा गरेको छ । संस्थाको १८ औं वार्षिक साधारणसभामा सो कुरा जानकारी गराइएको हो । 

सहकारीले आर्थिक वर्ष २०८१–८२ मा दुई करोड ७५ लाख १० हजार सात सय ८८ रुपियाँ आम्दानी र दुई करोड ६१ लाख १६ हजार सात सय ५२ खर्च गर्दा खुद मुनाफा १२ लाख ५४ हजार ६ सय ३३ रुपियाँ भएको हो । 

सहकारीका अध्यक्ष गोविन्द पौडेलको प्रगति प्रतिवेदन अनुसार संस्थाको जगेडा तथा अन्य कोषमा गरी एक करोड ८५ लाख ९३ हजार दुई सय २४ रुपियाँ रहेको छ । दुई करोड ४९ लाख ७२ हजार पाँच सय शेयरपुँजी रहेको सहकारीको निक्षेपमा नौ करोड ४७ लखा ५७ हजार चार सय छ रुपियाँ रहेको छ ।

सहकारीले आर्थिक वर्ष २०८०–८१ मा नौ करोड ३३ लाख ५८ हजार सात सय ८१ रुपियाँ ऋण लगानी गरेकोमा गत आर्थिक वर्षमा लगानी बढेर नौ करोड ७० लाख ४८ हजार सात सय ५५ रुपियाँ पुगेको छ । सहकारीले एक लाख ९ हजार लिटर दुध कृषकबाट खरिद गरेर बजारीकरण गर्दा सम्पूर्ण खर्च कटाएर ८० हजार चारसय ७४ रुपियाँ खुद मुनाफा गरेको सहकारीका दुग्ध संयोजक कोपिलाल पौडेलले जानकारी दिनुभयो । 

सहकारीले निकट भविष्यमा संस्थाको आफ्नै ब्रान्डमा दुधको प्याकेजिङ तथा मिठाइ उत्पादनगरी व्यवस्थित ढङ्गले बिक्री वितरण गर्ने योजना बनाएको उहाँको भनाइ छ । दुग्ध सङ्कलन तथा विक्री वितरणतर्फ पाँच जना र कार्यालय सञ्चालनतर्फ छ जना गरी कुल ११ जनालाई सहकारीमा रोजगारी सिर्जना भएको संस्थाका सचिव देवेन्द्र बानियाँले जानकारी दिनुभयो ।

साधारणसभामा उत्कृष्ट ऋणी तर्फ सुन्तली खत्री, उत्कृष्ट बचतकर्ता तर्फ साङ्केतिक भाषा खाजा घरका सञ्चालक अमृत शर्मालाई सम्मान गरिएको थियो । त्यसैगरी वार्षिक तीन हजार छ सय टिलरभन्दा धेरै दुध सहकारीमा बिक्री गर्ने यामबहादुर खत्री, चिन्तामणि सुवेदी, काशिनाथ पौडेल, नर्मता पौडेल र कोपिलाल पौडेललाई पनि सम्मान गरिएको छ । 

बेनी नगरपालिका-४ का वडाध्यक्ष अणबहादुर खड्काले वडामा करिब एक हजार घरधुरी रहेको भए पनि सयभन्दा कम घरधुरीबाट मात्र दुध सङ्कलन हुनु दुःखद् भएको बताउनुभयो । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुवास रेग्मीले आफ्नो र पशुको समेत जिउधनको रक्षाका लागि पूर्ण खोप र बिमालाई अनिवार्य गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले विश्वका हरेक मुलुकमा खोपबिनाका पशुबाट उत्पादन हुने कुनै पनि खाद्यवस्तु प्रयोग नगरिने भएकाले खोपलाई महत्त्वका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सहकारीका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।