• १९ भदौ २०८२, बिहिबार

स्याउ पाके लटरम्म बाटो छैन बजारसम्म

blog

बाजुराको बुढीनन्दा नगरपालिका–९ का किसानको बारीमा पाकेको स्याउ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, भदौ १९ गते । बाजुरामा स्याउमा पाक्न सुरु भयो तर बाटो बन्द भएका कारण टिपेको स्याउ बारीमै थन्किएको छ । मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएपछि टिपेको स्याउ बारीमै थन्किएको हो । मार्तडी–कोल्टी गत असारदेखि नै बन्द भएको हो । 

अहिले स्याउ पाकेर बारी पूरै रातो भएको छ तर बेच्न कुनै उपाय नरहेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताउनुभयो । उहाँका अनुसार भदौको पहिलो हप्तादेखि अन्तिम हप्तासम्म स्याउ पाकेर सकिन्छ । त्यो बेलासम्म बेच्न नसके स्याउ सडेर जान्छ ।

बाजुराको बडिमालिका, गौमुल, बुढीगङ्गा, खप्तड छेडेदहलगायतका ठाउँमा थोरै थोरै मात्रमा स्याउ उत्पादन हुने गरेको भए पनि स्वामीकार्तिक खापर, जगनाथ, बुढीनन्दालगायतका पालिकामा भने स्याउ राम्रो उत्पादन हुन्छ । पछिल्लो समय यहाँका धेरै किसान स्याउ खेतीमा लागेका पनि छन् । उनीहरूले यहाँका स्थानीय स्याउभन्दा पनि बाहिरदेखि ल्याएको गोल्डेन गाभा, डेलिसिएसलगायतका स्याउ लगाएका छन् । 

यसरी स्याउ खेतीलाई नै मुख्य खेतीका रूपमा लगाउने गरेका यहाँका किसान बाटो बन्द भएर चिन्तित छन् । यता स्याउ पाक्यो उता बाटो बन्द भयो भन्ने उनीहरूको चिन्ता छ । 

आर्थिक वर्ष २०८०/८१ मा पनि यस्तै गरी बाटो नहुँदा कृषि ज्ञान केन्द्र बाजुराले खच्चडमा स्याउको ढुवानी गर्न अनुदानको व्यवस्था गरेको थियो । यस वर्ष भने त्यो व्यवस्था नभएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।  

बाजुरामा १७० हेक्टर जमिनमा अहिले स्याउ खेती गरिन्छ । गत वर्षमा बाजुरामा एक हजार २० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । पहिला लोकल स्याउ मात्र उत्पादन हुने गरेको बाजुरामा अहिले फुजी गाला र गोल्डेन जातको समेत स्याउ उत्पादन हुने गरेको छ ।

बर्खाको समय पानी पर्न नरोकिएकाले बाटो सञ्चालन गर्न निकै समस्या भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामले जनाएको छ । बुढीनन्दा नगरपालिका र बडिमालिका नगरपालिकासम्म बाटो खोल्न डोजरको समन्वय गरे पनि पानी पर्न नरोकिएकाले बाटो सफाइ गर्न समस्या भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।