• १९ भदौ २०८२, बिहिबार

अन्तर्राष्ट्रिय गतिविधि

विश्वव्यवस्थामा नयाँ समीकरण

blog

विश्वका आणविक सम्पन्न तीन शक्तिशाली राष्ट्र चीन, रुस र भारतका नेताहरूले विश्वलाई नयाँ सन्देश दिनुभएको छ । पश्चिमी हेराइमा अनुदार मानिए पनि देश र जनताका लागि महत्वपूर्ण काम गर्नुभएका चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एउटै मञ्चबाट विश्वव्यवस्था (ग्लोबल अर्डर) मा नयाँ समीकरण बनेको सन्देश प्रवाह गर्नुभएको हो । भूराजनीतिक विश्लेषकले पनि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पेलानका कारण उहाँहरूबिच नयाँ समीकरण र सन्तुलन बनेको बताएका छन् । 

चीनको तियान्जिन सहरमा आइतबार र सोमबार सम्पन्न साङ्घाई सहयोग सङ्गठन (एससिओ) को २५ औँ शिखर सम्मेलनमा सी, पुटिन र मोदीको भेटले विश्वलाई नयाँ सन्देश दिएको छ । अमेरिकासँगको चिसो सम्बन्ध र दबाबबिच भारत, चीन र रुसको निकटता बढ्दै गएको छ । जसले पश्चिमी वर्चस्वमा चुनौती दिने ठानिएको छ । शिखर सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले भन्नुभयो, “हामीले प्रभुत्व र शक्ति राजनीतिको विरोधमा स्पष्ट रूपमा उभिन जारी राख्नु पर्छ । यथार्थपरक बहुपक्षीयतावादको अभ्यास गर्नु पर्छ र बहुध्रुवीय विश्वलाई बढावा दिन र अन्तर्राष्ट्रिय सम्बन्धमा अझ बढी प्रजातान्त्रिक बन्न एउटा खम्बाको रूपमा उभिनु पर्छ ।”

सम्मेलनमा चीनले ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जिजिआई) को प्रस्ताव अगाडि सारेको छ । मानव सभ्यतामा समृद्ध बनाउन साझा भविष्यको चिन्तनलाई नयाँ शिराबाट अगाडि बढाइएको छ । राष्ट्रपति सीले सम्मेलनको आरम्भमै राख्नुभएको ‘ग्लोबल गभर्नेन्स इनिसिएटिभ’ (जिजिआई) प्रस्तावका सिद्धान्त विश्वको सुशासनका दिशामा दूरगामी प्रभाव पार्ने खालका छन् । जिजिआईका पाँच प्रमुख सिद्धान्तमा पहिलो सार्वभौमिक समानतामा अडिग रहनुपर्ने छ । दोस्रोले अन्तर्राष्ट्रिय कानुनी शासनको पालनालाई जोड दिएको छ । तेस्रो बहुपक्षीयताको अभ्यासको अग्रसरता छ । चौथो र पाँचौँ क्रमशः जनमुखी दृष्टिकोणको वकालत र वास्तविक काममा केन्द्रित हुनुपर्ने सिद्धान्तले अहिलेको विश्वमा देखिएका धेरै खालका समस्याको सम्बोधन प्रयास गरेको छ ।

मूलतः तीन नेताको भेटलाई एसियाको युग सुरु भएको सन्देशका रूपमा पनि हेरिएको छ, जहाँ भारतले रुस र चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन थालेको छ । यति बेला विश्व शक्ति अमेरिकासँग रुस र चीनको सम्बन्ध सहज छैन । राष्ट्रपति ट्रम्पको ‘कर युद्ध’ को मारमा पछिल्लो समय भारत पनि परेको छ । त्यसले भारत र अमेरिकाको सम्बन्धलाई चिसो बनाएको छ । रुसमाथिको प्रतिबन्ध, चीनसँगको प्रतिस्पर्धी व्यवहार र भारतमाथि लादिएको चर्को करका कारण अमेरिकासँग तीन वटै देश प्रताडित छन् । त्यस परिस्थितिमा सी, पुटिन र मोदीको हार्दिकतासहितको मिलनले विश्व राजनीतिमा नयाँ हलचल ल्याइदिएको छ । अहिले अमेरिकाले नै भारतलाई धकेलेर चीनको नजिक पु¥याएको हो । अमेरिकाले चीनलाई कमजोर बनाउन जापान, भारत र अस्ट्रेलियालाई प्रयोग गर्दै आएको थियो । 

अमेरिकापछि दोस्रो विश्व आर्थिक शक्ति बनेको चीनले यो साता दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ । चीनको राजधानी बेइजिङबाट १२० किलोमिटर दक्षिणपूर्वमा रहेको तटवर्ती सहर तियान्जिनमा आइतबार र सोमबार एससिओको शिखर सम्मेलन सम्पन्न गरेको छ । त्यसको पर्सिपल्ट बुधबार बेइजिङमा विशाल र भव्य सैन्य परेड कार्यक्रम गरेर विश्वको ध्यान आकर्षित गर्न सफल भएको छ । 

दुईदिने शिखर सम्मेलनले आगामी दशकका निम्ति विकासको रणनीति तय गरेको छ । सम्मेलनमा सङ्गठनका १० सदस्य–राष्ट्र, १४ संवाद साझेदार राष्ट्र र दुई पर्यवेक्षक राष्ट्र गरी २६ राष्ट्रका नेताहरूको सहभागिता थियो । त्यस्तै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसलगायत १० वटा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिताले सम्मेलनको गरिमा बढाएको थियो । यसलाई चीनले राष्ट्रप्रमुख, सरकारप्रमुख स्तरको स्तरीय कूटनीतिक अभ्यास मान्दै आएको छ ।

सन् २००१ मा चीन र छिमेकका पाँच वटा देश (रुस, कजाखस्तान, किर्गिजस्तान, ताजकिस्तान र उज्बेकिस्तान) मिलेर गठन गरिएको यस अन्तरसरकारी मञ्चमा हालैका वर्षमा आएर भारत, पाकिस्तान, इरान र बेलारुस थपिएका छन् । संवाद साझेदार १४ वटा देशमा नेपाल, श्रीलङ्का, माल्दिभ्स, म्यानमार, कतार, साउदी अरेबिया, टर्कीलगायतका मुलुक पर्छन् । पर्यवेक्षकमा अफगानिस्तान र मङ्गोलिया छन् । एससिओ सुरुमा सामूहिक सुरक्षाको अवधारणामा आधारित थियो । पछि विस्तार भएर यसले आर्थिक र व्यापारिक क्षेत्रलाई पनि समेट्दै आयो । विश्वभरको कुल गार्हस्थ उत्पादनको एक चौथाइ एससिओले ओगटेको छ । एससिओको यसपालिको आयोजना चीनमा पाँचौँ पटक हो । रुसका राष्ट्रपति पुटिन, भारतका प्रधानमन्त्री मोदी, इन्डोनेसियाका राष्ट्रपति प्रबोओ सुबियान्तो, मलेसियाका प्रधानमन्त्री अनबर इब्राहिम, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसको सहभागिताले सम्मेलन बहुआयामिक बन्यो । एससिओ बहुपक्षीय मञ्च हो । तसर्थ यसले गरेका अठोट र निर्णयले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रभावित पार्ने कुरामा सन्देह छैन । 

बुधबार चीनले बेइजिङमा भव्य सैन्य परेड गरी सैनिक शक्तिको प्रदर्शन गरेको छ । ८० वर्षअघि सकिएको दोस्रो विश्वयुद्धमा गुमेका सैनिक र गैरसैनिकको सम्झनास्वरूप तियानमेन चोकमा भव्य समारोह हुँदा राष्ट्रपति सी र आमन्त्रित सहभागी उपस्थित हुनुभयो । यस कार्यक्रमको विशेष आकर्षक भने रुसका राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ उनको सहभागिता रह्यो । सैन्यबल प्रदर्शनमा जनमुक्ति सेनाले तालिमप्राप्त सैनिकको परेड गराउनुका साथै परम्परागत हातहतियार तथा आधुनिक युद्धकलामा प्रयोग हुने क्षेप्यास्त्र, युद्धक विमान, ट्याङ्क, मानवविहीन गुप्तचरी संयन्त्र समावेश थिए । चीनको जनमुक्ति सेना २० लाख छ । अर्धसैनिक बल र जगेडा जोड्दा चीनलाई विश्वकै ठुलो आकारको सैन्यबल भएको देश हो । यसरी सामरिक शक्तिलाई अत्याधुनिक बनाए पनि चीनको सेनाले यसको प्रयोग गर्न युद्धस्थल सिर्जना गरेको छैन । जुनसुकै समस्याको समाधान शान्तिपूर्ण तरिकाले हुनुपर्ने चीनको अडान छ । यसले परराष्ट्रनीति सञ्चालनमा पञ्चशीलको आधार कायमै राखेको छ । ती हुन्–सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान, अनाक्रमण, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, समानता र आपसी लाभ र शान्तिपूर्ण सहअस्तित्व । यसलाई चीनले आत्मसात् गरेको छ । 

एक्लै पनि अमेरिकालाई टक्कर दिने क्षमता भएको चीनसँग अहिले रुस र भारतको मिलनले थप महत्व राख्छ । भारत, चीन र रुसको सामूहिक उपस्थितिले सहकार्यको सम्भावनालाई अरू घनीभूत बनाएको छ । एससिओमा जोडिएका देश र संस्थाहरूले सङ्गठनप्रतिको ऐक्यबद्धता यसपल्ट अझ मजबुत रूपमा प्रकट भएको छ । चीन र रुस त्यसै पनि एकअर्काका नजिक थिए त्यसमा हाल भारत जोडिन पुगेकाले विश्वशक्तिमा नयाँ समीकरण निर्माण भएको छ । यथार्थमा यस्तो समीकरण निर्माण गराउनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योगदान परेको छ किनभने उहाँले आफ्नो दोस्रो कार्यकालको पहिलो छ महिनामै केही यस्ता नीति अपनाएर निर्णय गर्नुभयो, जुन यो नयाँ समीकरणका कारक भएका छन् । ट्रम्पले उक्साएको ‘व्यापार युद्ध’ समेतका कारण विश्व नै एक हदसम्म भयभित भएको छ ।

भारतका उत्पादित मालवस्तु र सेवा अमेरिका आयात गर्दा लाग्ने सीमाशुल्क (भन्सार) एकाएक बढाएर ५० प्रतिशत पु¥याउने काम भयो । जसले गर्दा दिल्ली वासिङ्गटनसँग स्वतः चिढिएको छ । केही वर्षयता निकट रहँदै आएको भारत–अमेरिकी कूटनीतिक सम्बन्ध एकाएक विकट हुन पुगेको छ । अमेरिकाले भारतलाई रुससँग खनिज तेल खरिद गरेको विषय अगाडि सारेर आपत्ति जनायो, दण्डित गर्ने मनसुबा देखायो । भारतका परराष्ट्रमन्त्री एस जयशङ्करले त्यस्ता आरोपको सिधा प्रतिवाद गर्दै भारतले आफ्नो राष्ट्रिय हितमा काम गरेको हो भनी बचाउ गर्नुभयो । यस्तो स्थितिमा भारतको दीर्घकालीन हित के कताबाट हुन सक्छ भनेर त्यहाँको संस्थापनले विकल्प खोज्नु स्वाभाविक हो । भारतलाई दोब्बर कर लगाएपछि प्रधानमन्त्री मोदीले आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरालाई जोड दिनुभएको छ । उहाँले हरेक चिजमा भारतलाई आत्मनिर्भर बनाउने प्रणसमेत गर्नुभएको छ । 

विगतदेखि नै भारत–रुस सम्बन्ध सुमधुर छँदै थियो । भारतले यसबिचमा चीनसँग पनि निकटता बढायो । दुई देशबिचको सीमा–विवाद तथा पाकिस्तानप्रतिको चीनको निकटता जस्ता पक्षलाई अहिले एकातिर पन्छाएर चीनसँग हातमालो गर्नु नै दिल्लीलाई उचित लाग्यो । चीनका विदेशमन्त्री वाङ यी नयाँदिल्ली जानुभयो । उहाँको आगमन सीमावार्ताको २४ औँ चरणसँग गाँसियो । सीमा–व्यापार, हवाई सेवा, पर्यटन आदि विषयमा गरिएका प्रतिबद्धता सम्बन्ध सुधारका स्पष्ट सूचक हुन् । सीमा–व्यापारसम्बन्धी समझदारीमा लिपुलेक भञ्ज्याङ (पास) समावेश गरिँदा भारत र चीन दुवै देशको नेपालसँगको सम्बन्ध केही चिसिएको छ । यो समीक्षाको विषय हो । चीनका विदेशमन्त्री वाङ भारतपछि लगत्तै पाकिस्तान जानुभयो । त्यसपछि उहाँको टोली अफगानिस्तान पुग्यो । अफगानिस्तानको सत्तामा विद्रोही तालिबानको आगमनले दक्षिण एसियाकै वातावरण धमिलिएको छ । अफगान विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा चीन र रुसले आआफ्नो ढङ्गले कदम अगाडि बढाएका छन् । 

एससिओ शिखर सम्मेलनकै क्रममा आइतबार चीनका राष्ट्रपति सीसँग भारतमा प्रधानमन्त्री मोदीले एक घण्टा भेटवार्ता गर्नुभयो । दुई नेताबिचको यो भेटवार्ता निकै महìवपूर्ण रह्यो । भेटवार्तामा दुवै नेताले एकअर्काको राम्रो छिमेकी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रपति सीले राम्रो मित्र बन्नु नै दुवै देशका लागि उत्तम विकल्प रहेको मोदीलाई भन्नुभयो, “आजको विश्व अभूतपूर्व परिवर्तनबाट गुज्रिरहेको छ । अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल छ । यस्तो अवस्थामा दुवै पक्षका लागि उत्तम विकल्प भनेको राम्रो छिमेकी र मित्रवत् साझेदार बन्नु हो, जसले एकअर्काको सफलता सुनिश्चित गर्छ । हात्ती र ड्रागनले सँगसँगै नृत्य गर्नु भनेको यही हो,” राष्ट्रपति सीले भन्नुभयो । उहाँले दुई देश प्रतिद्वन्द्वीका रूपमा नभई साझेदारका रूपमा अगाडि बढ्दा सम्बन्ध दीर्घकालीन रूपमा स्थिर रहन सक्ने पनि बताउनुभयो । 

राष्ट्रपति सीको कुरामा मोदीले पनि सहमति जनाउनुभयो । उहाँले आपसी विश्वास र सम्मानका आधारमा सम्बन्धलाई अगाडि बढाउन भारत प्रतिबद्ध रहेको पनि स्पष्ट गर्नुभयो । “सीमामा तनाव कम भएको र सम्बन्ध सुधारतर्फ अगाडि बढिरहेको छ । हाम्रा २८० करोड जनताको हित आपसी सहकार्यसँग जोडिएको छ,” मोदीले सीलाई भन्नुभयो । सीसँग भेटका क्रममा मोदीले चीनमा सिधा हवाई उडान सुरु गर्ने घोषणा पनि गर्नुभयो । चीनबाट सुरु भएको कोभिड महामारीका कारण सन् २०२० को सुरुदेखि दुई देशबिचका सिधा उडान बन्द भएका थिए । मोदीले चिनियाँ नागरिकलाई टुरिस्ट भिसामा लगाएको प्रतिबन्ध यसअघि नै हटाइसक्नुभएको छ । चीनले पनि भारतीय तीर्थयात्रीका लागि मानसरोवर यात्रा खुला गरिसकेको छ ।

उता चीन र रुसको सम्बन्ध पुरानो हो । युक्रेन युद्धपछि दुई देशको सम्बन्ध अझै गहिरिएको छ । पश्चिमी प्रतिबन्धका कारण एक्लिएको मस्कोले ऊर्जा निर्यातदेखि सैनिक–रणनीतिक सहकार्यसम्ममा बेइजिङतर्फ ढल्किएको छ । चीनले पनि सस्तो रुसी तेल–ग्यास आयात र भूराजनीतिक गठबन्धनलाई आफ्नो फाइदामा प्रयोग गरेको छ । यी परिप्रेक्ष्यमा पुटिन, सी र मोदीबिचको भेटवार्ताले ठुलो अर्थ राखेको छ । 


Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।