गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १९ गते । बाल श्रम मुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–७ को आयोजना तथा नेपाल गुडवीभ फाउण्डेसन (एनजीएफ) को समन्वयमा उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रम कागेश्वरी मनोहरा –७ का वडा अध्यक्ष भक्तविक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । बाल अधिकार, बालबालिका र बाल श्रमसंग सम्बन्धित रहेर कार्यक्रम आयोजना गरिएको नेपाल गुडवीभ फाउण्डेसनका प्रशासन तथा लेखा प्रबन्धक उज्ज्वल पोखरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष थापाले बाल श्रम मुक्त नगरपालिका बनाउने दायित्व सबैको भएको जिकिर गर्नुभयो । थापाले सबै मिलेर बाल श्रम न्युनिकरणमा लाग्न आग्रह समेत गर्नुभयो । कार्यक्रममा नेपाल गुडवीभ फाउण्डेसनका कार्यक्रम प्रबन्धक हेमबहादुर मोक्तानले बाल अधिकार बालबालिका र बाल श्रमसंग सम्बन्धित विद्यमान ऐन कानुनमा रहेका व्यवस्थाको विषयमा आफनो धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिकाका महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तथा बालकल्याण अधिकारी सविनाकुमारी श्रेष्ठले कलकारखानाहरुमा बालश्रम लगाउन रोक र लगाए कारवाही हुने जानकारी दिन उक्त अन्तरक्रिया कार्यकमको आयोजना गरिएको बताउनुभयो ।
नेपाल गुडवीभ फाउण्डेसनले नेपालमा बालश्रमको मूल कारण सम्बोधन र श्रमिकको अधिकार संरक्षण गर्दै दीर्घकालिन एवं सकारात्मक परिवर्तन ल्याउने कायर्का लागि काम गर्ने गरेको फाउण्डेसनका प्रशासन तथा लेखा प्रबन्धक पोखरेलले बताउनुभयो ।