• १९ भदौ २०८२, बिहिबार

जिससमा वार्षिक प्रगति समीक्षा : ‘स्थानीय तहमा सेवा बढाऔंं’

blog

स्थानीय तह, सरकारी तथा गैरसरकारी कार्यालयहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रमका सहभागिहरु । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ १९ गते ।
स्थानीय तहलाई बलियो बनाउँदै लैजाने विषयमा अबको बहस चल्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको स्थानीय तह, सरकारी तथा गैर सरकारी निकायको वार्षिक समीक्षा कार्यक्रमका सहभागीले स्थानीय सरकार बलियो भएमा नागरिकले सहजै सेवा पाउने बताए ।

समीक्षामा जिल्लाका दश पालिकाले वर्षभरी गरेका भौतिक विकास निर्माण तथा प्रगतीबारे प्रस्तुतीकरण गरेका थिए । काम गर्दा आइपरेका चुनौतीलाई आगामी दिनमा समन्वय गरेर थप कार्यक्रम तय गर्ने, बजेट अभावले रोकिएका काम पुरा गर्न जनप्रतिनिधिले पहल गरिदिनुपर्ने समेत धारणा राखेका थिए । अहिले पनि ताराखोला र निसीखोला गाउँपालिकामा वनको सव–डिभिजन वा सेवा केन्द्र नभएकोेले ती स्थानमा सेवा केन्द्र राख्न आवस्यक भएको डिभिजन वन कार्यालयका प्रमुख सरोज पन्थीले बताउनुभयो ।

सरकारी कार्यालयहरुले आफ्नो भौतिक पूर्वाधारको समस्या र सवारी साधन नभएर काम चुस्त हुन नसकेको भन्दै कतिपय कार्यालयले सवारी साधनको माग पनि गरेका थिए । धौलागिरि आर्युवेद अस्पतालका प्रमुख डा. शरद पन्थीले भने अस्पतालमा पूर्वाधारको अभावले चाहेजति सेवा प्रवाह गर्न नसकेको भन्दै थप पूर्वाधारको माग गर्नुभयो ।

जैमिनी र बागलुङ नगरपालिकाले भने बागलुङ नगरपालिका– १० को एक्लेसाल पहिरोले पाएको सास्ती, नियमित सडक अवरुद्ध भएर नागरिकले पाएको दुःख र विकास निर्माणमा समेत परेको असरबारे जानकारी गराएका थिए । पहिलो नियन्त्रण गर्न दिगो योजनाका लागि बहुवर्षे ठेक्कामार्फत काम गर्न जैमिनीका नगरप्रमुख नरबहादुर पुनले प्रदेश र सङ्घीय सांसदको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य डिल्लीराम सुवेदीले प्रदेश संरचनाको प्रश्न र औचित्याबारे चर्चा भएपनि स्थानीय तह बलियो बनाउने कुरामा भने बहस केन्द्रित नभएको बताउनुभयो । ‘‘अहिले पनि हामी इलाका प्रशासन कहिले बन्छ भनेर तर्कबितर्क गरिरहेका छौं, तर स्थानीय सरकारबाटै नागरिकता लगायतको सेवा पाउने बहस चलाएका छैनौं’’ सुवेदीले भन्नुभयो, ‘पालिकाबाटै सेवा पाएमा इलाका प्रशासनको थप बोझ चाहिने छैन ।’’ गण्डकी प्रदेश सरकारले कार्यबोझ घटाउने अभियान चलाएपनि स्थानीय तहमा सेवा केन्द्रीत गर्ने काममा भने अझै गति नलिएको सुवेदीको भनाइ थियो ।

कार्यक्रममा पूर्व मन्त्री तथा गण्डकी प्रदेश सदस्य दिपेन्द्रबहादुर थापाले सबै क्षेत्रले आफ्नो क्षेत्राधिकारको काम सहज रुपमा गरिदियो भने नागरिकले सेवा छिटो पाउने बताउनुभयो । वर्षभरी गरेका कामबाट नागरिक कति सन्तुष्ट भए भन्ने कुरा महत्त्वपूर्ण भएको पनि उहाँको भनाइ छ । साना योजना बनाएर काम अलपत्र पार्ने काम हटाएर महत्त्वपूर्ण योजनाहरु समयमा सक्ने अवस्था आयो भने मात्र नागरिकले स्थानीय तह, सरकारी कार्यालय र गैरसरकारी निकायप्रति भरोसा गर्ने थापाले बताउनुभयो ।