काठमाडौँ, भदौ १९ गते । पछिल्लो समय संस्कृत भाषाको अध्ययनप्रति पाका व्यक्तिको आकर्षण बढ्दै गएको छ । विश्वको अति प्राचीन र जीवित मानिने संस्कृत भाषालाई नेपाली भाषाको जननीसमेत मानिन्छ ।
यो भाषाको महत्व बढ्दै जाँदा अहिले वाल्मीकि क्याम्पसलगायत नेपाल संस्कृत विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा पूर्वमन्त्रीदेखि पूर्वराजदूतसमेत संस्कृत पढिरहेका छन् । भर्ना भएकामध्ये कतिपयले संस्कृतको अध्ययनलाई सेवा निवृत्त समयलाई आनन्दसँग बिताउने माध्यमका रूपमा लिएका छन् । कतिपयले भने पहिलेदेखिकै रहर भए पनि व्यस्त जीवनबाट मुक्ति पाएपछि बल्ल यो भाषा अध्ययन गर्ने मौका मिलेकाले भर्ना भएको बताएका छन् ।
पूर्वउद्योगमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सचिव सोमप्रसाद पाण्डे अहिले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पसमा प्राक्शास्त्री कोर्स पढ्न भर्ना हुनुभएको छ । प्राक्शास्त्री अन्य विषयमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन सकेपछि फेरि स्नातकोत्तर तहमा संस्कृत भाषा पढ्न चाहने विद्यार्थीलाई सञ्चालन गरिने संस्कृत भाषा प्रशिक्षणसम्बन्धी कार्यक्रम हो ।
करिब १० महिनाको यो कोर्स उत्तीर्ण गरेपछि मात्रै शास्त्री तहमा भर्ना हुन पाइन्छ । संविधान सभाका सदस्यसमेत रहनुभएका पाण्डे पनि अहिले यो कोर्सको परीक्षाको तयारीमा हुनुहुन्छ । पाण्डेले कानुनमा स्नातक तह उत्तीर्ण गर्नुभएको छ भने नेपाल बार एसोसिएसन पाल्पाका पूर्वअध्यक्ष पनि हुनुहुन्छ । बाल्यकालमा पिता र गुरुहरूले संस्कृत पढाएका कारण आफूलाई संस्कृत भाषाप्रति रुचि भएको र सोही रुचि पूरा गर्न वाल्मीकिमा भर्ना भएको पाण्डेले बताउनुभयो । “संस्कृतको श्लोक, संस्कृत बन्दना, नीति श्लोक आदि त अहिले पनि आउँछ तर क्याम्पसमै गएर पढ्न त निकै गाह्रो हुँदो रहेछ, पाण्डेले अनुभव सुनाउनुभयो, तैपनि कोसिस गरिरहेको छु ।”
क्यानडाका लागि पूर्वनेपाली राजदूत कालीप्रसाद पोखरेलले पनि भर्खरै वाल्मीकि क्याम्पसबाट प्राक्शास्त्री कार्यक्रमको अध्ययन सकेर त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभागमा स्नातकोत्तर तहको अध्ययन गरिरहनुभएको छ । प्राक्शास्त्री कार्यक्रममा ९० प्रतिशत अङ्क ल्याएर उत्तीर्ण हुनुभएका पोखरेलले ऋषिमुनिहरूले हजारौँ वर्ष लगाएर अध्ययन गरेको भाषा भएका कारण संस्कृतको पढाइमा रुचि जागेको बताउनुभयो । “छ वटा पूर्वीय दर्शनको उत्पत्ति संस्कृतबाट भएको रहेछ । हामी ती सबै दर्शन पढ्छौँ तर संस्कृतबारे पूर्ण जानकार छैनौँ,” पोखरेलले भन्नुभयो, “तर यो भाषा पढ्न भने निकै गाह्रो रहेछ । तैपनि दैनिक दस घण्टासम्म पढ्ने गरेको छु । अहिले रमाइलो भइरहेको छ ।” स्नातकोत्तर तह तेस्रो सेमेस्टरको अध्ययन गरिरहनुभएका पोखरेलले हाल सामाजिक सञ्जाल तथा युट्युब च्यानलहरूबाट गीता, रुद्री, चण्डी सिकाउँदै आउनुभएको छ ।
हालै मात्र नेपाल सरकारको उपसचिवबाट निवृत्त हुनुभएका अम्बिकाप्रसाद अधिकारीले पनि बुढेसकालमा के गर्ने भन्ने अलमलबाट मुक्ति पाउन संस्कृत भाषा साहित्य पढिरहनुभएको छ । “संस्कृत भाषा, साहित्य पढ्दा समय बिताउन सजिलो हुन्छ । यसले मनलाई एकत्रित पार्छ,” वाल्मीकि क्याम्पसमै प्राक्शास्त्री कोर्समा भर्ना हुनुभएका अधिकारीले भन्नुभयो, “बाल्यकालमा बुवाले श्लोक पढेको सुन्दा निकै रुचि लाग्थ्यो । अहिले मैले पनि त्यही क्षेत्र समाउन पाउँदा खुसी लागेको छ । संस्कृत भाषा साहित्य पढ्दा मनमा बडो आनन्द पनि आउँदो रहेछ ।”
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलसचिव (रजिस्ट्रार) समेत रहनुभएका वाल्मीकि क्याम्पसका प्राध्यापक जगतप्रसाद उपाध्यायका अनुसार पछिल्लो समय संस्कृत भाषा, साहित्यको अध्ययनतर्फ युवादेखि पाका व्यक्तिको समेत आकर्षण बढेको बताउनुभयो । युरोपेली मुलुकमा यसको बढ्दै गएको प्रभावका कारण पनि नेपालमा संस्कृतको आकर्षण बढ्न थालेको उपाध्यायको बुझाइ छ ।
नेपाली भाषा, साहित्य, संस्कृतिबारे बुझ्न संस्कृत भाषाको अध्ययन अपरिहार्य रहेको वाल्मीकि क्याम्पसकै उपप्राध्यापक नवराज खतिवडाले बताउनुभयो । वाल्मीकि क्याम्पसमा अहिले नेपाल सरकारका निजामती सेवाबाट निवृत्त भएका तथा बहालवाला व्यक्ति, प्राध्यापक पेसाबाट निवृत्त भएका, वकालती पेसामा लागेका व्यक्तिहरू भर्ना भएका छन् ।
विशेष गरी युवाको रुचि कर्मकाण्डसँग सम्बन्धित विषयमा रहने गरेको छ । अन्य पेसा, व्यवसायबाट आउनुभएकाहरूको भने भाषा, साहित्य, वेद, उपनिषद्लगायतको अध्ययनतर्फ रुचि रहने गरेको छ । राज्यका उच्च तहमा पुगिसक्नुभएका व्यक्तिहरूको संस्कृत भाषा अध्ययनमा आकर्षण बढ्नु खुसीको विषय भएको वाल्मीकि क्याम्पसका प्रमुख प्राध्यापक अच्युतप्रसाद लामिछानेले बताउनुभयो ।
शास्त्री अध्ययनमा पूर्वप्राक्शास्त्री कार्यक्रममा भर्ना हुनुभएका काठमाडौँ कोटेश्वरका प्रद्युम्न पुडासैनीले पनि अन्य सङ्काय तथा विषयमा अध्ययन पूरा गरेर फेरि संस्कृततर्फको अध्ययनमा आकर्षण बढ्नु खुसीको विषय भएको बताउनुभयो । “यसले संस्कृत भाषाको महìव र औचित्य दर्साएको छ,” पुडासैनीले भन्नुभयो ।