• १८ भदौ २०८२, बुधबार

सहकारीका छाता सङ्घ नै छैनन् अद्यावधिक

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, भदौ १८ गते । प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन, नियमावली, मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उद्देश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अद्यावधिक भएका छैनन । कोशी प्रदेशमा बचत तथा ऋण, कृषि, बहुउदेश्यीय, तरकारी, फलफूल, सूचना तथा सञ्चार, चिया, जडीबुटी, सुपारी, दुग्ध उत्पादक, उपभोक्ता र जिल्ला सहकारी सङ्घलगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् । 

सहकारी संस्थाको सबैभन्दा माथिल्लो छाता सङ्घ राष्ट्रिय सहकारी महासङ्घको २०८० पुस २७ र २८ गते सम्पन्न ३१ औँ साधारण सभामा कोशी प्रदेशका ५६ वटा छाता सङ्घले निर्वाचन कार्यक्रममा भाग लिएका थिए । साधारण सभा र निर्वाचनमा भाग लिएका सङ्घसमेत अद्यावधिक भएका छैनन् । कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाले भदौ १५ गते ३५ दिने सूचना निकालेर प्रदेशका ३२ वटा छाता सङ्घसहित ५२३ वटा सहकारी सङ्घसंस्थालाई विवरण बुझाउन सूचित गरेको छ । विवरण नबुझाउनेमा झापाका सबैभन्दा बढी सहकारी रहेका छन् । झापाका छ वटा सङ्घ र १२५ वटा सहकारी संस्था रहेका छन् । 

सहकारी रजिस्ट्रार कार्यालय कोशी प्रदेशका सूचना अधिकारी मनोज कार्कीका अनुसार तेह्रथुम, धनकुटा, भोजपुर र उदयपुरका चार/चार वटा; सोलुखुम्बु र सुनसरीका तीन/तीन वटा र मोरङ, इलाम, पाँचथर, खोटाङ र ओखलढुङ्गाका एक/एक वटा सङ्घ अद्यावधिक भएका छैनन् । सहकारी सङ्घ नै अद्यावधिक नभएपछि प्रारम्भिक सहकारी संस्थाले पाउने शिक्षा, तालिम र प्रवर्धनका कार्यक्रम नै प्रभावित हुने सूचना अधिकारी कार्कीले बताउनुभयो । कार्कीका अनुसार सहकारी अभियानकर्मीकै सङ्घ नियमित छैनन् । लेखा परीक्षण गराउँदैनन्, साधारण सभा गर्न सक्दैनन् । अभियान सङ्लो नभएसम्म प्रारम्भिक सहकारी संस्था बलियो नहुने उहाँले बताउनुभयो । 

यता कोशी प्रदेश सहकारी सङ्घका अध्यक्ष डिल्ली पोख्रेलले सङ्घहरू अद्यावधिक भएर पनि विवरण नबुझाएका कारण रजिस्ट्रार कार्यालयमा अद्यावधिक नदेखिएको बताउनुभयो । उहाँले रजिस्ट्रार कार्यालयमा ३५ दिनभित्र विवरण नबुझाउने सहकारी सङ्घ खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो । पोख्रेलले भन्नुभयो, “सङ्ख्या देखाएर मात्र हुन्न । काम गर्न नसक्ने सङ्घ खारेजीमा जानु पर्छ ।”