• १८ भदौ २०८२, बुधबार

उच्च आर्थिक वृद्धिदर हुने गरी सहयोग गर्ने प्रतिबद्धता

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १८ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्‍व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच अर्थतन्त्र, सहरी भौतिक पूर्वाधार, लगानी, पर्यटन, वातावरणलगायतका विषयमा छलफल भएको छ ।

मङ्गलबार भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा अर्थतन्त्रका सूचकमा उल्लेखनीय सुधार आएको जानकारी दिँदै नेपालले नीतिगत, संरचनागत, निर्णय र कार्यान्वयन प्रक्रियामा सुधार गरेको बताउनुभयो । 

उहाँले विश्व बैङ्कले आगामी छ वर्षका लागि तयार पारेको नेपाल साझेदारी कार्यढाँचा नेपालमा विकासको आवश्यकता र सरकारको प्राथमिकतासँग तादात्म्य राख्ने रहेको उल्लेख गर्दै कार्यढाँचा अनुसारका आयोजना तथा कार्यक्रम तर्जुमा गर्न सरकारले विश्व बैङ्कसँग मिलेर काम गर्न चाहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा छलफलमा रहेको जानकारी गराउँदै विधेयक पारित भएसँगै निजी क्षेत्रसँग मिलेर प्रतिफल दिने आयोजनामा लगानी गर्ने बताउनुभयो । उहाँले विधेयकको लक्ष्य अनुसार अघि बढ्न विश्व बैङ्कबाट सहयोगको अपेक्षा गर्नुभयो । 

विश्‍व बैङ्कका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जुटले नेपालमा उच्च आर्थिक वृद्धिदर हुने गरी विश्व बैङ्कले सहयोग गर्ने बताउनुभयो । उहाँले विश्व बैङ्कले लुम्बिनी, काठमाडौँ उपत्यकाको सहरी पूर्वाधार, वातावरणीय प्रदूषण न्यूनीकरण र आर्थिक वृद्धिका लागि सहयोग गर्ने भन्दै निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उपाध्यक्ष जुटले नेपालको अर्थतन्त्रका परिसूचक सुधार हुनु सकारात्मक भएको उल्लेख गर्दै नेपालका लागि लगानी अझ बढाउन जरुरी भएको बताउनुभयो । उहाँले वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी कानुन बनेसँगै पूर्वाधार क्षेत्रमा लगानीका लागि थप नयाँ क्षेत्र पहिचान हुन सक्ने विश्वास व्यक्त गर्दै निजी क्षेत्रको लगानी आकर्षित गर्न र आर्थिक वृद्धिका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले लगानी र उत्पादकत्व वृद्धिमा केन्द्रित हुन पनि सुझाव दिनुभएको थियो ।