• ४ जेठ २०८१, शुक्रबार

भृकुटी कागज कारखाना खण्डहर

बाह्र वर्षमा पनि मजदुरले रकम पाएनन्

blog

खण्डहर बन्दै गएको भृृकुुटी कागज कारखाना ।तस्बिर :होमराज रानाभाट

होमराज रानाभाट 

गैँडाकोट, असार १२ गते । पूर्वी नवलपरासीको गैँडाकोटमा सञ्चालन भएको त्यस बेलाको मुलुककै सबैभन्दा ठूलो कागज कारखाना भृकुटी कागज कारखाना अहिले बन्द छ । बन्द भएको १२ वर्ष भइसकेकाले अहिले कारखानाका संरचना खण्डहरमा परिणत भएका छन् । २०३७ सालदेखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना २०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो । त्यसपछि केही समय सञ्चालन भएको यो कारखाना २०६७ देखि बन्द भएको हो । 

भृकुटी कागज कारखानामा कार्यरत ३४० मजदुरले कारखाना बन्द हुँदाको समयमा पाउने करिब १० करोड रुपियाँ अहिलेसम्म पाउन नसकेको स्थानीय मजदुर होमनाथ कँडेलले बताउनुभयो । मजदुरले सो रकम पाउन पटकपटक आन्दोलन गरी रकम बुझाउने कारखाना व्यवस्थापनले सहमति गरे पनि रकम बुझाउन आलटाल गर्दै आइरहेको छ ।भृकुटी कागज कारखाना खण्डहर बन्दा स्थानीय सुरक्षा जोखिम बढेको भृकुटी कागज कारखाना सरोकार समितिका संयोजक वेदप्रसाद गौडेल बताउनुभयो ।

गैँडाकोट नगरपालिका–२ को राजमार्गसँगै जोडिएको स्थानमा रहेको यो कारखाना खण्डहर बनेको र यसको दीर्घकालीन समाधान खोज्न भृकुटी कागज कारखाना सरोकार समिति गठन गरी यसको स्थानान्तरणमा ध्यान दिन स्थानीय सरकार नेपाल सरकार, प्रदेश सरकार र गोल्छा अर्गनाइजेसनलाई ध्यानकर्षण गराइएको संयोजक गौडेलको भनाइ छ । 

अहिले खण्डहर बनेको भृकुटी कागज कारखाना परिसर अजिङ्गर, विषालु सर्प, बाघ, स्याललगायतका जनावरको बासस्थान र कुलतमा लागेका युवा बस्ने अखडा बन्न थालेपछि यसको स्थानान्तरणमा ध्यान दिन आग्रह गरिएको सरोकार समितिका कोषाध्यक्ष हरिराम सापकोटाले बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले भृकुटी कागज कारखानाबारे नगर सभामा पनि छलफल गरी एउटा साझा एजेन्डा तय गरिने बताउनुभयो । कारखानाका पुराना संरचना र सामग्रीले नागरिकलाई असर पर्न नदिने गरी काम गर्ने नगरप्रमुुख अधिकारीले बताउनुभयो । कारखाना गैँडाकोट वडा नं. २, ५ र ६ को ५६ बिघा क्षेत्रफलमा फैलिएको छ । कारखानाभित्र क्लोरिनको सिलिन्डर रहेको र त्यो विस्फोट भए गैँडाकोट नै ध्वस्त हुने भन्दै स्थानीयवासीले सफाइको माग गरेको संयोजक गौडेलले बताउनुभयो ।