• ११ चैत २०८२, बुधबार

मेसिनले रोपियो चैते धान

blog

तौलिहवा समाचारदाता

तौलिहवा (कपिलवस्तु), चैत ११ गते । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२, राजपुरमा मेसिनले चैते धान रोपाइँ गरिएको छ । स्थानीय कृषक जयलाल भण्डारीले १० कट्ठा जमिनमा मेसिन प्रयोग गरी चैते धान रोप्नुभएको हो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ कपिलवस्तुको सहयोगमा सहभागितात्मक उन्नत प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत उक्त रोपाइँ गरिएको हो । परम्परागत रूपमा धान खेती गर्दै आउनुभएका कृषक भण्डारीले पर्ती रहेको खेतको सदुपयोग गर्ने उद्देश्यले पहिलो पटक मेसिनले चैते–५ जातको धान रोपेको बताउनुभयो ।

मेकानिकल राइस ट्रान्सप्लान्टर मेसिनको प्रयोगबाट १० कट्ठा जमिनमा करिब दुई घण्टामै रोपाइँ सम्पन्न भएको कृषक भण्डारीको भनाइ छ । उहाँले नयाँ प्रविधिको प्रयोगबाट श्रम, समय र लागत बचत हुने अनुभव भएको बताउनुभयो ।

चैते धान रोपाइँका लागि फागुन १५ गते ट्रेमा बिउ राखेर बिरुवा तयार गरिएको थियो । १५ देखि २० दिनमा बिरुवा रोप्नयोग्य हुने प्राविधिकले बताएका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्राविधिक नीरज खनालका अनुसार चैतेधान ११५ देखि १२० दिनभित्र उत्पादन हुन्छ । मेसिनबाट रोपाइँ गर्दा मजदुर खर्च करिब ४० प्रतिशतसम्म घट्ने र लागत कम हुने उहाँले बताउनुभयो । बिउ राख्ने चरणदेखि धान काट्ने समयसम्म प्राविधिक सहयोग उपलब्ध गराइने पनि उहाँले जानकारी दिनुभयो । सोही कार्यक्रम अन्तर्गत वाणगङ्गा नगरपालिका–२, ५, ६, १० र ११ तथा कपिलवस्तु नगरपालिका–११ मा गरी १२ हेक्टर क्षेत्रफलमा चैते धान खेती गर्ने कार्यक्रम रहेको जनाइएको छ ।