• ११ चैत २०८२, बुधबार

निर्वाचन प्रहरी

एक पीडा भुलेर आए, अर्को ‘भाइरल’ बनेर गए

blog

इन्द्राकुमारी बुढाथोकी / वसन्त सुनार

शङ्कर केसी/यामराज विष्ट 

शारदा (सल्यान)/पञ्चकोशी (दैलेख), चैत ११ गते । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएर यसको अन्तिम नतिजा पनि आइसकेको छ । निर्वाचन सम्पन्न गर्न खटिएका सुरक्षाकर्मी तथा सरोकारवालाको कथाकहानी भने अझै बाँकी नै छ । प्रत्येक निर्वाचनको बेला भर्ना गरिने ‘निर्वाचन प्रहरी’ का कथाकहानी कहिलेकाहीँ रोचक र पीडादायी दुवै हुने गरेको छ । 

यस पटक पनि एक लाख ३५ हजार निर्वाचन प्रहरी भर्ना गरिएका थिए । उनीहरूमध्ये धेरैको आ–आफ्नै कथा थिए । यस्तैमध्येका एक हुनुहुन्छ– सल्यानका इन्द्राकुमारी बुढाथोकी । 

श्रीमान्को वियोगमा भावविह्वल सल्यानको शारदा नगरपालिका–३, बडाखोलानिवासी ४३ वर्षीय इन्द्राकुमारी बुढाथोकी ‘शोकलाई शक्तिमा बदलेर’ निर्वाचन सुरक्षार्थ खटिनुभयो । परिवार शोकमै थियो, आँसु थामिएको थिएन, भविष्यको चिन्ता थपिँदै थियो तर पीडादायी परिस्थितिलाई सङ्घर्ष र आत्मविश्वासमा रूपान्तरण गर्दै उहाँ निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । 

श्रीमान् बितेको १५ औँ दिनमै बुढाथोकीले निर्वाचन प्रहरीमा भर्नाका लागि आवेदन दिनुभयो । छनोट हुनुभयो र निर्वाचन सुरक्षाको जिम्मेवारी पूरा गर्नुभयो । यससँगै इन्द्राकुमारी बुढाथोकीले साहस, आत्मनिर्भर र जिम्मेवारीको प्रतिमूर्तिको परिचय निर्माण गर्नुभयो । पुस १६ गते सकुशल घरबाट बाहिर निस्कनुभएका उहाँका श्रीमान् पूर्णबहादुर बुढाथोकी पुस १७ गते बाटोमै मृत अवस्थामा फेला पर्नुभएको थियो । इन्द्राकुमारीका अनुसार श्रीमान्को निधनपछि १३ औँ दिनमा पुस २९ गते शुद्धकार्य भयो । घरमा अझै शोककै वातावरण थियो । माघ १ गते उहाँले निर्वाचन प्रहरी भर्नाका लागि आवेदन दिन जाने निर्णय गर्नुभयो । उहाँले भन्नुभयो, “घर चलाउनुपर्ने, ऋण तिर्नुपर्ने जिम्मेवारी छ । आम्दानीको कुनै स्थायी स्रोत छैन । केही समय भए पनि रासनपानी चलाउन सजिलो होस् भनेर निर्वाचन प्रहरीमा आवेदन दिएँ ।”

आवेदन दिएपछि छनोट भई व्यक्तिगत पीडा मनमै राखेर उहाँले आफ्नो कर्तव्य पूरा गर्नुभयो । इन्द्राले यसअघि पनि विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा काम गरिसक्नुभएको छ । २०७० सालको निर्वाचन तथा यस पटकसहित उहाँले चार पटकसम्म निर्वाचन सुरक्षाको जिम्मेवारी समालिसक्नुभएको छ । 

“काम नगरी बस्ने अवस्था छैन । परिवारको जिम्मेवारी धेरै छ । त्यसैले जति सकिन्छ काम गरेर अगाडि बढ्नु पर्छ भन्ने लाग्छ,” उहाँ भन्नुहुन्छ । इन्द्राको पारिवारिक अवस्था पनि सहज छैन । जेठा छोराले विवाह गरिसकेका छन् र तीन वर्षको नाति पनि छ । तर बुहारीले नौ महिनाको बच्चा छाडेर घर छाडेपछि नातिको पालनपोषणको जिम्मेवारी पनि 

इन्द्राकै काँधमा आएको छ । घरव्यवहार, ऋणको बोझ र नातिको हेरचाहको जिम्मेवारीबिच पनि उहाँले हार नमान्ने निर्णय गर्नुभएको हो । 

सल्यानका प्रहरी प्रमुख डिएसपी डा. हेमबहादुर केसीले दुःख र समस्याबिच पनि इन्द्राको साहस प्रसंशनीय रहेको बताउनुभयो । “यस्तो पीडाको बेला धेरै मानिस घरबाहिर निस्कन सक्दैनन् तर उहाँले दुःखको बेला पनि परिवारका लागि कसरी सङ्घर्ष गर्न सकिन्छ भनेर देखाउनुभयो, यो वास्तवमै प्रेरणादायी कुरा हो,” उहाँले भन्नुभयो । यस पटकको निर्वाचन प्रहरीमध्ये निकै 

उच्च समस्यामा रहेका छ जना रहेका जानकारी दिँदै डिएसपी डा. केसीले उहाँहरूलाई सहयोगी हातहरू खोजेर थप सहयोगसहित बिदाइ गरिएको बताउनुभयो ।

कलात्मक प्रस्तुतिले चर्चामा 

दैखेलको दुल्लु नगरपालिका–९, पादुका १९ वर्षीय वसन्त सुनार सामाजिक सञ्जालमा चर्चामा आउनुभएको छ । घरको आर्थिक समस्यासँग सङ्घर्ष गर्दै निर्वाचन प्रहरी बनेका सुनार सामाजिक सञ्जालमार्फत आफ्नो कला प्रस्तुत गरेपछि भाइरल हुनुभएको हो । निर्वाचन प्रहरी भएर सेवा गरी घर फर्किएका उहाँ सानैदेखि घरको अनेक आवश्यकता र पारिवारिक जिम्मेवारीले घरमा बसेर दुःख गरेका अहिले धेरै युवाका लागि प्रेरणा स्रोत बन्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकमा ‘टाइगर ब्रो’ नामले परिचित वसन्त हास्यकलाकारको शैलीमा प्रस्तुति दिनुहुन्छ । 

चामुण्डा विन्द्रासैनी नगरपालिका–६ स्थित जनता माध्यमिक विद्यालयबाट चैत १९ देखि सञ्चालन हुने एसइई दिने तयारीमा रहनुभएका उहाँले समयको सदुपयोग, घरको आर्थिक समस्याका कारण निर्वाचन प्रहरी भएको बताउनुभयो । उहाँले छोटो समय भए पनि देश र जनताको सेवा गर्ने मौका पाएको बताउनुभयो । घरको आर्थिक समस्याका कारण परिवारको जिम्मेवारी समाल्नुपर्ने बाध्यता भएपछि उहाँ गत फागुन २१ को निर्वाचनका लागि निर्वाचन प्रहरी बन्ने निर्णय गरेको उहाँले बताउनुभयो । वसन्त भन्नुहुन्छ, “परिवारको जिम्मेवारी बोकेर केही दिन भए पनि निर्वाचन प्रहरी बन्ने रहर पलायो । त्यसैले निर्वाचन प्रहरी भएँ ।”

उहाँलाई अब बन्ने सरकारले उनी जस्ता युवालाई आफ्नै देशमा रोजगारी दिने विश्वास छ ।” निर्वाचन प्रहरी भएर मतदान केन्द्रमा सुरक्षा जिम्मेवारी निर्वाह गर्दै हास्यव्यङ्ग्य शैलीमा जनचेतनामूलक सन्देश दिइएका उहाँका भिडियो टिकटक र फेसबुकमा लाखौँ दर्शकले हेरेका छन् ।