विनय कर्ण
कल्याणपुर (सप्तरी), भदौ ६ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ । गाउँपालिका– ६ स्थित बभनगामा घर भएकी ६५ वर्षीया पवनदेवी यादवको खेतमै धान गोड्ने क्रममा लडेर मृत्यु भएको हो ।
बिहीबार बिहान करिब ९ः३० बजे आफ्नै खेतबारीमा धान गोड्दै गर्दा अचानक लडेर बेहोस भएकी उहाँलाई उपचारका लागि छिन्नमस्ता अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
मृतकमा विगतदेखि नै उच्च रक्तचापसम्बन्धी स्वास्थ्य समस्या रहेको बताइएको छ । यादवको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज पठाएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।