• ६ भदौ २०८२, शुक्रबार

विद्युत् उत्पादन अन्तिम चरणमा

blog

सुलीकोट समाचारदाता

सुलीकोट (गोरखा), भदौ ६ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिकाको सिमानामा रहेको १० मेगावाट क्षमताको मध्य सुपर दरौँदी जलविद्युत् आयोजनाको निर्माण विद्युत् उत्पादनको अन्तिम चरणमा पुगेको छ । बारपाक दरौँदी हाइड्रोपावर कम्पनीले आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म ८० प्रतिशत काम समपन्न भएको छ । जनसम्पर्क अधिकृत पन्थीले भन्नुभयो, “कम्पनीले निरन्तर रूपमा काम अघि बढाएकाले पनि अब दुई महिनाभित्र काम सम्पन्न गरेर विद्युत् उत्पादन सुरु हुन्छ ।” अजिरकोट गाउँपालिका–१, धन्सिराको फेदीमा बाँध बाँधिएको छ भने बाँध स्थलबाट ३.८ किलोमिटर तल राङरुङ पावरहाउस निर्माण गरिएको विद्युत् उत्पादन कम्पनीले जनाएको छ । 

पावरहाउस निर्माण सम्पन्न भइसकेकाले पावरहाउसमा मेसिन, उपकरण जोडेर स्विचयार्ड पनि तयार भइसकेको छ । सस्ट्याङ र पेनस्टक लाइनको दुई सय मिटरको काम अबको केही दिनमा सुरु हुने आयोजनाका भोजराज भट्टराईले बताउनुभयो । राङरुङको पावरहाउसमा उत्पादन भएको विद्युत् भीमसेन थापा गाउँपालिका–१, घ्याम्पेसालको सबस्टेसनस्थित केन्द्रीय ग्रिडमा ल्याएर जोडिने जनसम्पर्क अधिकृत पन्थीको भनाइ छ । 

आयोजना निर्माण सम्पन्न गर्न १८ किलोमिटरमध्ये १२ किलोमिटर ट्रान्समिसन लाइन तान्ने काम सम्पन्न भइसकेको र जम्मा छ किलोमिटर बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ । २०७८ सालमा कुल एक अर्ब ६० करोड रुपियाँ लागतमा सुरु भएको आयोजनाको काम झन्डै चार वर्षमा सम्पन्न हुने बताइएको छ । आयोजना निर्माणका लागि प्राइम कमर्सियल बैङ्कको ७० प्रतिशत र कम्पनी सञ्चालक डाक्टर सन्दीप खड्काको ३० प्रतिशत लगानीमा आयोजना निर्माण गरिएको सञ्चालक खड्काले बताउनुभयो ।