• ६ भदौ २०८२, शुक्रबार

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

blog

तिलक घर्तीमगर 
रोल्पा, भदौ ६ गते ।
रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थित तिलाको जङ्गलमा अरिङ्गालले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना बालबालिका घाइते भएका छन् ।

श्री विरेन्द्र माध्यमिक विद्यालयबाट घर फर्किने क्रममा विद्यालय छुट्टी भएपछि जङ्गलको बाटो हुँदै हिँडिरहेका विद्यार्थीहरूलाई सोमबार साँझ करिब ४ः३० बजे अरिङ्गालले टोकेको थियो । घाइतेमध्ये ७ वर्षीय मोहन परियारको उपचारका क्रममा भदौ ५ गते राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

अन्य पाँच जना घाइतेको अवस्था मध्यम रहेको र थप उपचारका लागि उनीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

घटनामा परी घाइते हुनेहरूमा त्रिवेणी गाउँपालिका–७ बस्ने १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ८ वर्षीय कमल परियार र ४ वर्षीय आशिष परियार रहेका छन् । घाइतेहरूलाई घटनापछि साँझ ९ बजे रोल्पा अस्पताल, रेउघा ल्याइएको थियो ।

मृतक मोहन परियार त्रिवेणी गाउँपालिका–७, धाक्रीपानीका भाइरती परियारका छोरा हुन् । स्थानीयका अनुसार उक्त जङ्गल क्षेत्रमा अरिङ्गालको सक्रियता पहिलेदेखि नै रहेको बताइएको छ । सुरक्षाका दृष्टिले जंगल आसपासको क्षेत्रमा सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।