प्रवीण कुमार शर्मा
चन्द्रपुर (रौतहट), भदौ ६ गते । रौतहटको चन्द्रपुर नगरपालिकाले अभिलेखिकरणमा छुट भएका घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । २०८२ साउन २५ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार २०७८ असार मसान्तसम्म निर्माण सम्पन्न भइ अभिलेखिकरण गर्न छुट भएका घरहरूको जरिवाना लिइ अभिलेखीकरण गर्ने निर्णय भएको नगर प्रमुख संजय कुमार काफ्लेले बताउनुभयो ।
पुराना घरधनीलाई अन्तिमपटक एक महिनाको समय दिएर अभिलेखिकरण खुला गरिएको चन्द्रपुर नगरपालिकाका इन्जिनियर भरत प्रसाद श्रीवास्तवले जानकारी दिनुभयो । २०७८ असार मसान्तसम्म निर्माण भएका घरहरू अभिलेखिकरण गर्न नगरपालिकाले पटक–पटक आह्वान गरे पनि यसपटक अन्तिम मौका दिने गरी निर्णय भएको इन्जिनियर श्रीवास्तवले बताउनुभयो । नक्सा पास नगराई तथा कार्यालयको अनुमति नलिइ निर्माण गरिएका घर भवन तथा अन्य संरचनाको अभिलेखिकरणका लागि २०८२ भदौ ३ देखि २०८२ असोज २ गतेसम्मको समय नगरपालिकाले प्रदान गरेको छ ।
निर्धारित शुल्क अनुसार पुराना घर अभिलेखिकरण गर्न प्रति स्क्वायर फीट ८ रुपियाँ लाग्नेछ भने २०७३ चैत मसान्तसम्म निर्माण भएका घरहरुमा सय प्रतिशत जरिवाना तथा २०७३ वैशाखदेखि २०७८ असार मसान्तसम्म निर्माण भएका घरहरुको अभिलेखिकरणमा दुई सय प्रतिशत जरिवाना लाग्ने इन्जिनियर श्रीवास्तवले बताउनुभयो ।
यस अघि नगरपालिकाले बारम्बार जारी गरेको सूचना अनुसार चन्द्रपुर नगर क्षेत्रमा करिव एक हजार पाँच सय जनाले पुराना घरको अभिलेखीकरण गराएको नगरपालिकाका सव इन्जिनियर अन्जन कुमार साहले जानकारी दिनुभयो ।
यस अघिको सूचना अनुसार अभिलेखिकरण गराउने घरधनीलाई नगरपालिकाले जरिवाना लिएको थिएन ।
तोकिएको समय सिमा भित्र अभिलेखिकरण नगर्ने घरधनीलाई आगामी दिनमा घरको अभिलेखीकरण नहुने सव इन्जिनियर साहले बताउनुभयो ।
चन्द्रपुर नगरमा घरको नक्शा पास नगरिकन घर निर्माण गर्ने कार्यलाई निरुत्साहित पार्न नगरपालिकाले ठोस कदम चाल्न आवश्यक रहेको देखिन्छ । बैंकमा ऋण लिने प्रयोजनका लागि मात्र नक्सा पास गराउने हालको अवस्था रहेको छ ।