• ६ भदौ २०८२, शुक्रबार

छ्यापछ्याप्ती कर्णालीको स्याउ

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ ६ गते । चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्ज र कोहलपुरमा अहिले कर्णालीका स्याउ बजारभर छन् । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादित अर्गानिक स्याउ स्थानीय बजारमा आउन थालेपछि भारत र चीनबाट आयात गरिने स्याउ हाल बजारबाट हराउन थालेका छन् । 

केही दिनपहिलेसम्म भारत र चीनबाट आयात गरिएको स्याउले ओगेटेको बाँकेको नेपालगन्ज र कोहलपुर बजारमा अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ ।

स्थानीय फलफूल व्यवसायी रमजान कबडियाले भारतबाट भित्रिएका महँगो स्याउको ठाउँमा सस्तो र गुणस्तरीय नेपालकै स्याउ बजारमा आएपछि अहिले चारैतिर सोही स्याउ बिक्री भइरहेको बताउनुभयो । उहाँले भारतीय स्याउ प्रतिकिलो २५० रुपियाँमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ किलोको १५० रुपियाँको आसपासमा पाइन थालेपछि भारतीय स्याउको बिक्री बन्द भएको बताउनुभयो । 

कर्णालीका जुम्ला र कालीकोटबाट ठुलो परिमाणमा स्याउ कोहलपुरमा ल्याएर बिक्री सुरु गरिएकाले भारत र चीनबाट ल्याइने स्याउको बिक्री बन्द भएको स्याउका कोहलपुरस्थित थोक विक्रेता केपी अधिकारीले बताउनुभयो । उहाँका अनुसार अहिले कोहलपुर, नेपालगन्ज र खजुरामा जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक रहेको अधिकारीको भनाइ छ । 

उहाँका अनुसार बाँकेको कोहलपुरस्थित कृषि उपज केन्द्रमा दैनिक करिब तीनदेखि पाँच टनसम्म कर्णालीको स्याउ बिक्री भइरहेको छ । 

यसै गरी नेपालगन्जस्थित फलफूलका अर्का थोक विक्रेता शमशेर मियाँले अहिले बजारमा जताततै कर्णालीकै स्याउको माग उच्च रहेकाले अरू स्याउ ल्याउन छाडेको बताउनुभयो । उहाँले नेपालगन्जको फलफूल थोक बजारमा अहिले दैनिक पाँच टनभन्दा बढी स्याउ बिक्री हुने गरेको जनाउँदै सीमापारि भारतमा समेत कर्णालीको स्याउ जान थालेको बताउनुभयो । 

यस क्षेत्रमा कर्णालीको स्याउको माग बढ्दै गएपछि कोहलपुरस्थित भेरी शीतभण्डार सहकारी संस्थामा ठुलो परिमाणमा स्याउ भण्डार भइरहेको र आउने क्रम अझै जारी रहेको भेरी शीतभण्डारले जनाएको छ ।