गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ ६ गते । रोजगारीको खोजीमा विदेश जाने नेपाली श्रमिकको सङ्ख्या बढेका बेला उच्च पदको रोजगारीका लागि नेपालमा आउनेको सङ्ख्या घटेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या आर्थिक वर्षको २०८०/८१ को तुलनामा आवमा २०८१/८२ मा पाँच प्रतिशतले घटेको हो । यस्तो घट्ने क्रम विगत तीन वर्षदेखि नै निरन्तर छ ।
नेपालबाट रोजगारीका लागि दैनिक औसतमा दुई हजार २०३ जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा ठुलो सङ्ख्या सामान्य दक्ष, अर्धदक्ष र अदक्ष जनशक्ति हो । यसबाहेक असाध्यै सानो सङ्ख्यामा उच्च दक्ष जनशक्ति पनि बाहिरिने गरेको छ ।
विभागका अनुसार अघिल्लो आवमा नवीकरण र नयाँ गरेर दुई हजार ६८५ विदेशी नागरिकले नेपालमा काम गर्न अनुमति लिएकामा गत आव असारसम्म दुई हजार ५५९ रहेको छ ।
नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति दिइने गरेको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि लगभग ७४ देशका नागरिकले श्रम स्वीकृति लिएका छन् । यीमध्ये सबैभन्दा बढी चिनियाँ छन् ।
विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका ठुला चिनियाँ परियोजनामा धेरै चिनियाँ नागरिक आउने गरेको बताउनुभयो । नयाँभन्दा पनि पाँचदेखि सात वर्षसम्म सञ्चालन हुने परियोजनामा काम गर्ने प्राविधिकले श्रम स्वीकृति नवीकरण गराउने गरेको उहाँको भनाइ छ ।
विकास साझेदारको लगानीमा नेपालमा सञ्चालित परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशीको सङ्ख्या क्रमशः घट्दो दरमा रहेको देखिन्छ ।
अघिल्लो आवमा नेपालमा काम गर्ने ७६ देशका नागरिकमध्ये चिनियाँको हिस्सा ७९ प्रतिशत अर्थात् एक हजार ६३९ रहेको छ । यसै गरी दोस्रोमा बेलायत ११४, जापान एक सय, अमेरिका ८०, कोरिया ७५ र भारत ५६ रहेका छन् ।
यसै गरी खेलाडी (क्रिकेट, फुटबल), कोच र म्यानेजर गरेर एक सय जनाले श्रम इजाजत लिएको विभागको विवरणमा उल्लेख छ । ३० जना भिक्षु र २४० जना स्वयंसेवकले पनि स्वीकृति लिएको विभागले जनाएको छ ।
विदेशी नागरिकको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका, २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था गरेको छ तर नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको सङ्ख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष श्रमिकसमेत नेपालमा आउने गरेको पाइन्छ ।
श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् ।
त्रिशूली, मध्य भोटेकोशी, काबेली, दोहा इन्जिनियरिङ कम्पनी, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा उच्च प्राविधिक विदेशी श्रमिकले श्रम स्वीकृति लिएर काम गर्ने गरेका छन् ।