• ६ भदौ २०८२, शुक्रबार

मलको कोटा बढाइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ ६ गते । मधेश प्रदेशलाई हाल छुट्याइएको रासायनिक मलको कोटा वृद्धि गरिने भएको छ । हाल देशका लागि उपलब्ध कुल मलको करिब २७.१६ प्रतिशत अनुदानको मल मधेश प्रदेशलाई छुट्याइएको छ । 

गत आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख ५० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न कोटा निर्धारण गरिएको थियो । गत आवमा तीन लाख ९२ हजार मेट्रिक टन मल आयात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । 

लामो समयसम्म पानी नपरेपछि सङ्घीय सरकाले गत साउन ७ गते मधेश प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । उक्त घोषणापछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको नेतृत्वमा जनकपुर पुगेका सांसद, मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दनसिंह क्षेत्रीसहितको मङ्गलबार बसेको बैठकले रासायनिक मलको उपलब्धता र वितरणलगायतका विषयमा छलफल गरी कोटा बढाउनुपर्ने निर्णय गरेको हो ।

बैठकले मधेशका सुक्खा क्षेत्रमा तत्काल सिँचाइको व्यवस्था गर्न र दीर्घकालीन व्यवस्थाका लागि पहल गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले जानकारी दिनुभयो ।

बैठकले उखु किसानलाई यसअघि दिँदै आएको अनुदान रकम उपलब्ध गराउनुपर्ने निर्णय पनि गरेको छ । उखु किसानलाई प्रतिक्न्टिल ७० रुपियाँ उपलब्ध गराइँदै आएकामा त्यसलाई कटौती गरी प्रतिक्विन्टल ३५ रुपियाँमा झारिएको थियो । उखुमा दिइँदै आएको अनुदान कटौती गर्न नहुने माग राखेर विभिन्न जिल्लाका किसान काठमाडौँमा आएका छन् । किसानले विभिन्न राजनीतिक दलका नेतालाई भेटेर उखुमा अनुदान कटौती नगर्न माग गरेका छन् । सङ्घीय कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले छलफलमा उठेका विषयलाई तत्काल सम्बोधन गर्न सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक पहलकदमी लिने बताउनुभयो ।