• ६ भदौ २०८२, शुक्रबार

अलपत्र ‘बागलुङ बसपार्क’ चलाउन २५ वर्षे सम्झौता

blog

बसपार्क सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षरपछि नगरप्रमुख बसन्त कुमार श्रेष्ठ र आरबी कन्स्ट्रक्सन प्रा.लि. प्रतिनिधि केदारप्रसाद रिजाल । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा
बागलुङ, भदौ ६ गते ।
बागलुङ बसपार्क सञ्चालन गर्न बागलुङ नगरपालिकाले नयाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । नगरपालिका र आरबी कन्स्ट्रक्सन प्रा.लि. पोखराबिच आगामी २५ वर्षसम्म बसपार्क सञ्चालन गर्ने सम्झौता भएको हो ।

गत असोजमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भव्य कार्यक्रमका बिच बसपार्क उद्घाटन गरेपनि सञ्चालनमा आउन सकेको थिएन् । बागलुङ नगरपालिका–४ को उपल्लाचौरस्थित दाबगरामा निर्माण भएको बसपार्क २५ वर्षका लागि आरबी कन्स्ट्रक्सन सञ्चालन गर्न सहमत भएपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा र कन्स्ट्रक्सनका प्रतिनिधि केदारप्रसाद रिजालले बिहीबार सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

ठेकेदार पक्ष आरबी कन्स्ट्रक्सनले हरेक वर्ष नगरपालिकाको खातामा १६ लाख २५ हजार, मुअक दुई लाख ११ हजार र अग्रिम आयकर २७ हजार पाँच सय ४३ रुपियाँ तिर्ने गरी सम्झौता भएको हो । २५ वर्षमा कन्स्ट्रक्सन प्रालिले बसपार्क सञ्चालन गरेबापत बागलुङ नगरपालिकालाई आठ करोड ५५ लाख ६१ हजार रुपियाँ भुक्तानी गर्नेछ ।

भदौ दोस्रो साताबाटै बागलुङ बसपार्कबाट बस छुटाउने कन्स्ट्रक्सनको तयारी छ । ‘‘बसपार्क सञ्चालन गर्न नयाँ सम्झौताले बाटो खुलेको छ’’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भन्नुभयो । बसपार्क उद्घाटनपछि धौलागिरि गण्डकी यातायात कम्पनीले ११ लाख रुपियाँमा एकवर्षे सम्झौता गरेपनि बसपार्क सञ्चालन गरेका थिएनन् ।

टर्मिनल भवनसहित १७ रोपनी जग्गामा बसपार्क फैलिएको छ । बसपार्कमा तीन टिकट काउन्टर, १७ सटर र तीन वटा कर्मचारी कक्ष छन् । बसपार्कमा १८ वटा शौचालय छन् । मोटर ग्यारेज, ईभी चार्ज स्टेशन र खानेपानीको व्यवस्था गरिएको छ । यसअघि बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कलाई स्थानीयको मागअनुसार व्यवसायिक क्षेत्र बनाउने तयारी गरेको नगरप्रमुुख श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले नगर विकास कोषको नौ करोड ऋण सहयोगमा गण्डकी प्रदेशकै नमुना बसपार्क बनाएको हो । २०५८ मा दावगरा र आसपासका बासिन्दाले साढे १७ रोपनी जमिन निःशुल्क दिएपछि बसपार्क निर्माण गरिएको हो । २०५८ सालमा बसपार्कको काम सुरु भए पनि ढिलासुस्तीले २०७७ जेठमा बसपार्क निर्माण सकिएको थियो । पाँच वर्षअघि बसपार्क बनेपनि सञ्चालनमा आउन सकेको थिएन ।

बागलुङ नगरपालिकाले राजपत्र प्रकाशित गरेर बसपार्क सञ्चालन तथा व्यवस्थापन ऐन २०८१ समेत जारी गरेको छ । बसपार्क निर्माणका लागि स्थानीय ६० परिवारले ५९ रोपनी जग्गा दिएका थिए । १७ रोपनीमा बसपार्क बनिसकेपछि बाँकी जग्गा घडेरी बनाएर उपभोक्तालाई हस्तान्तरण गर्ने शर्त छ ।