• ५ भदौ २०८२, बिहिबार

अस्तित्वमै नभएका स्कुलको किनबेच

blog

काठमाडौँ, भदौ ५ गते । संस्था सञ्चालनको अनुमति लिने तर सञ्चालनै नगरी मोटो रकम कमिसन खाएर वर्षैपिच्छे किनबेच गर्ने प्रवृत्ति निजी तथा संस्थागत विद्यालयमा पनि देखिएको छ । 

यस्तो प्रवृत्ति देखिएपछि काठमाडौँ महानगरपालिकाले केही विद्यालयको सञ्चालन अनुमति नै खारेज गर्न लागेको छ । सञ्चालन अनुमति खारेज गर्न महानगरपालिकाले त्यस्ता विद्यालयको सेयर स्वामित्व तथा अन्य कागजपत्र अध्ययन गरिरहेको छ । कम्पनी रजिस्टार्डको कार्यालयबाट सञ्चालन अनुमति लिएका तर सञ्चालन नभएका यस्ता विद्यालयको सङ्ख्या पत्ता लगाउन महानगरपालिकाले अध्ययन गरिरहेको छ । अध्ययनबाट पत्ता लागेका केही विद्यालयको नाम पनि महानगरपालिकाले गोप्य राखेको छ । “कम्पनी रजिस्टार्डको कार्यालयबाट आवश्यक कागजपत्र अध्ययन गरेपछि मात्रै कुन कुनको सञ्चालन स्वामित्व खारेज हुन्छ भन्ने यकिन हुन्छ,” महानगरपालिका शिक्षा विभागका एक अधिकृतले भन्नुभयो । महानगरपालिकाका अनुसार स्वामित्व परिवर्तन गरिपाऊँ भनी केही विद्यालयले निवेदन दिएपछि यस्तो पत्ता लागेको हो । निवेदन दिएका केही विद्यालयका कागजपत्र अध्ययन गर्दा सञ्चालनमा नरहे पनि किनबेच भने भइरहेको पत्ता लागेको थियो । कामपा शिक्षा विभागले यस्ता विद्यालयको स्थलगत अनुगमन गरी खारेजीका लागि थप प्रक्रियामा जाने तयारी गरेको कामपाले जानकारी दिएको छ । 

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पनि नगर शिक्षा समितिको बैठकबाट यस्ता विद्यालयका दर्ता खारेज गर्ने निर्णय भएको तर यस्ता विद्यालय कति छन् भन्ने विषयमा यकिन तथ्याङ्क सङ्कलन भइरहेको बताउनुभयो । काठमाडौँ महानगरपालिकाभित्र छ सयभन्दा बढी निजी तथा संस्थागत विद्यालय सञ्चालनमा छन् । 

समितिले महानगरपालिकाभित्रका २५ वटा विद्यालयको नाम परिवर्तनका लागि अनुमति दिएको छ । यी विद्यालयको नाम अङ्ग्रेजीमा भएकाले नेपालीपन झल्कने नाम परिवर्तन गर्न अनुमति दिइएको हो । नगर शिक्षा समितिको बैठकले वैकल्पिक विद्यालय महिला ज्योति, जायना र जेम्स नमुनालाई स्थानान्तरण अनुमति दिएको छ । 

त्यस्तै रानीबारीस्थित रानीदेवी माध्यमिक विद्यालयलाई शैक्षिक सत्र २०८२ देखि कक्षा १० सञ्चालन गर्न अनुमति दिइएको छ भने पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारमा कक्षा १२ मा सिभिल र कम्प्युटर इन्जिनियरिङ विषय थप गर्न अनुमति प्रदान गरिएको छ । संस्थागत विद्यालयको कक्षा र विषय थपका लागि १२ वटा विद्यालयलाई अनुमति दिने तयारी पनि कामपाले गरेको छ । 

सामुदायिकबारे अध्ययन गर्न कार्यदल

महानगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि महानगरपालिका अन्तर्गतको सहरी योजना आयोगका विज्ञ सदस्य डा. सुरजराज काफ्लेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलमा महानगरपालिकाका शिक्षा विभाग तथा विज्ञहरू सदस्य हुनुहुन्छ । 

कार्यदललाई विद्यालय सञ्चालनको मापदण्ड, सामाजिक र स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ । 

 

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।