साहारा लिम्बू
फुङलिङ, भदौ २ गते । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारलाई सम्मान गरेको छ । जिल्लका पत्रकारद्वय खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई सम्मान गरिएको हो ।
उहाँहरूलाई आइतबार सम्पन्न भएको पाथिभरा क्षेत्र विकास समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा मार्फत सम्मान गरिएको छ । पूर्वको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरको समाचार मार्फत प्रचारप्रसार गरेको भन्दै सम्मान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।
उहाँहरूलाई नगद ११/११ हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । अधिकारी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ भने फुरुम्बो नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका सचिव हुनुहुन्छ ।
योसँगै अन्य विभिन्न व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको छ । जसमा पूर्वमन्त्री मणि लामा, पूर्व जिविस सभापति दीपेन्द्रकुमार सेन्दाङ, अग्रज व्यक्तित्व ताराबिर थापा रहनुभएको छ ।
त्यस्तै लेखक राजेश्वर थापा, गीत तथा सङ्गीतकार अनिल खड्का, फोटोग्राफर हर्कराज गुरुङ, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायत सम्मानित हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित सार्वजनिक सुनुवाइमा विभिन्न सरोकारवाला तथा सर्वसाधारण नागरिकले विभिन्न सवालहरू उठाएका थिए ।
सरोकारवाला तथा अन्य नागरिकले उठाएका सवालहरुको पाथीभरा क्षेत्र विकास समितिका पदाधिकारी, कार्यकारी निर्देशक लगायतले जवाफ दिनुभएको थियो ।