गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यको मूलधारमा आउन गुरुङ समुदाय आफैले जोड दिनुपर्ने बताउनुभएको छ ।
राज्यको निर्णायक तहमा जनजातिहरुमध्ये, गुरुङ समुदायका पुस्ता निकैपछि परेको बताउँदै उहाँले शैक्षिकस्तर वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो ।
काठमाडौंमा आज मुसारा फिल्मस् प्रालि तथा नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजित “लिपेमा फुल्ने लालीगुँरास फूल” शिर्षकको वृत्तचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा मन्त्री गुरुङले उक्त धारणा राख्नुभएको हो । उहाँका अनुसार गुरुङ र मगर समुदायले नेपाल एकिकरणमा महत्वपुर्ण योगदान दिएको इतिहास भए पनि समय सापेक्ष राज्यको नीति निर्माण गर्ने स्थानमा अझै पुग्न नसकेको बताउनुभयो ।
सरकारले आरक्षण कोटा सुविधा दिँदा समेत निजामति सेवामा अन्य समुदायभन्दा गुरुङ समुदायले यो सुविधाको प्रशस्त प्रयोग गर्न चुकिरहेको पनि प्रष्ट पार्नुभयो । उहाँले लाहुरे संस्कृतिले गर्दा राज्यको मुलधारबाट पलायन भई विदेशी भुमि र संस्कृतिमा रमाउन थालेका गुरुङ समुदायले अब भने राष्ट्र र पहिचानका पक्षमा युवा पुस्तालाई जागृत गराउनु पर्ने सुझाव दिनुभयो ।
“हाम्रा युवा पुस्तालाई पहिचान र राष्ट्रको अस्तित्व बुझाउनैपर्छ । त्यसैले स्वदेशमै रोजगार र भविष्य निर्माण गराउने कुरामा अभिभावकले जोड दिनुहोस्”, उहाँले कार्यक्रममा भन्नुभयो, “राज्यले दिएको सेवा सुविधालाई भरपुर प्रयोग गर्नुपर्छ ।” त्यस्तै, उहाँले अबको पुस्ताले एआइ शिक्षा, सुचना प्रविधिमा पोख्त शिक्षा र आधुनिक व्यवसायको क्षेत्रमा भविष्य बनाउन सक्ने सम्भावना खोज्न जोड दिनुभयो ।
कार्यक्रममा वृत्तचित्रमार्फत लम्जुङ जिल्लाको दुधपोखरी तथा दोर्दी गाउँपालिकाको सिमाना अन्तर्गत पर्ने लिपे डाडाँ पर्यटन प्रवर्धनको लागि उपयुक्त गन्तव्य रहेको देखाइएको थियो । लिपे डाँडामा थरीथरी रंगका लालिगुँरास फूलको दृश्य र पैदलयात्रीका लागि पछिल्लो आकर्षणको केन्द्र बन्दै गएको छ।