काठमाडौँ, भदौ २ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिएआइए) को आगमन कक्षमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ ।
सोमबार जिल्ला होटल व्यवसायी सङ्घको आयोजनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय संसद्का सांसद नगेन्द्र कुमाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा सहायता कक्षको उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विदेशी तथा स्वदेशी यात्रुलाई सहज वातावरण दिने उद्देश्यले स्थापना गरिएको सहायता कक्षले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल भित्रिने यात्रुलाई पहिलो छाप विमानस्थलमै पर्छ । यदि उनीहरूले सहज र सकारात्मक अनुभव पाए भने, पुन: नेपाल आउने वातावरण बन्छ ।”
मन्त्री पाण्डेले विमानस्थलका कर्मचारीलाई अन्तर्राष्ट्रिय भाषामा दक्ष बनाउनुपर्ने आवश्यकता औंल्याउँदै होटल, यातायातलगायत सेवा–सुविधा सम्बन्धी जानकारी प्रभावकारी रूपमा दिन सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक हंशराज पाण्डेले निजी क्षेत्रको सहकार्यमा आगमन क्षेत्रमा पिपिपी मोडेलमार्फत बनेको सहायता कक्ष उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।
होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरु थापाले यो पहल धेरै वर्षअघिदेखि गरिआएको भएपनि अब आएर मूर्त रूप लिन सकेकोमा सन्तोष व्यक्त गर्नुभयो ।
त्यस्तै, जिल्ला होटल व्यवसायी सङ्घका अध्यक्ष सुरेश बरालले विमानस्थलको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय बजारमा पर्न जाने भएकाले पर्यटन छवि सुधार्ने उद्देश्यले सङ्घले सहायता कक्ष निर्माण गरेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा मन्त्री पाण्डेले यात्रु सहायता कक्ष सञ्चालक समिति संयोजकलाई सम्पूर्ण अख्तियारीसहित कक्षको साँचो हस्तान्तरणसमेत गर्नुभयो ।