शेरबहादुर राई
ओखलढुङ्गा, भदौ १ गते । ओखलढुङ्गाको घट्टेखोलामा डुबेर एक जना वृद्धको ज्यान गएको छ । मोलुङ गाउँपालिका –४ घलेगाउँ नजिकको घट्टेखोलमा डुबेर रोल्पाको छलङ गाउँपालिका –९ का ६२ वर्षिय चुकेन्द्र बुढामगरको ज्यान गएको हो ।
सुनकोशी गाउँपालिका –१० कटुन्जे ओखलढुङ्गा ससुराली बस्दैआएका बुढामगर आइतबार माछा मार्न भनी घरबाट हिडेको र नफर्केपछि खोजी गर्ने क्रममा घट्टे खोलामा पानीभित्र घोप्टो परेको अवस्थामा मृत फेला परेका थिए ।
घटनाबारे जानकारी आएलगतै इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले बताउनुभयो । आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक कार्कीको भनाइ छ । घटनास्थल इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट करिब दश किलोमिटर पश्चिममा पर्छ ।
यसैविच, गएराति चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ । मोलुङ गाउँपालिका –४ माझखर्कका ४० वर्षिय वीरबहादुर तामाङको चट्याङ लागेर ज्यान गएको हो । अन्य सात जना घाइते भएका छन् ।
घाइते भएकाहरुमध्ये एक गर्भवती सहित दुई जनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको वडा अध्यक्ष भोलाराज राईले बताउनुभयो ।