• २ भदौ २०८२, सोमबार

खानेपानीमा दलीय चुनाव, मिश्रित नतिजा

blog

टीकापुर नगरपालिका–१ स्थित खानेपानीको मुख्य कार्यालय । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना
टीकापुर, भदौ २ गते ।
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइँ संस्थामा नेतृत्व चयनका लागि दलीय उम्मेदवारहरु खडा भए पनि नतिजा मिश्रित आएको छ । खानेपानीमा नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले प्यानलसहितको उम्मेदवारी दिएका थिए ।

नौ सदस्यीय कार्यसमितिका लागि साउन ३० गते भएको निर्वाचनमा तीन हजार ६९३ मतदाताले मतदान गरेका थिए मतगणना आइतबार राति सकिएको छ । मतगणनाको नतिजा अनुसार नेपाली कांगे्रसको प्यानलबाट अध्यक्षमा खडग धामीले एक हजार २३८ मत, कोषाध्यक्षमा हीरासिंह विष्ट एक हजार ११० मत, उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)बाट सीतादेवी चौधरी एक हजार ५१ मत र सचिवमा नेकपा (एमाले) बाट प्रकाश खड्का सात ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

यसैगरी, सदस्य पदमा नेपाली कांग्रेसका डम्बरबहादुर नायक, जानकी आचार्य, नेकपा (एमाले)बाट बमबहादुर ओली, जाल्पा भट्टराई र एकीकृत समाजवादीबाट तेजे ठकुल्ला निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार सृजना शर्मा पण्डितले चार ४४ मत पाउनुभयो भने नागरिक उन्मुक्तिबाट अध्यक्षका उम्मेदवार विश्राम चौधरीले तीन ८८ मत पाउनु भयो ।

कूल आठ हजार ६७० उपभोक्ता रहेको खानेपानीमा असार मसान्तमा बील भुक्तानी गरेका छ हजार ७९२ जना मतदाता सूचीमा थिए । खसेका मतमध्ये दोहोरो चिन्ह लगायका, कोठा बाहिर चिनो लगाएका र खाली छोडेका गरी नौ सय ३७ मत बदर भएकाे निर्वाचन अधिकृत श्यामराज पाण्डेले जानकारी दिनुभयो ।

नयाँ निर्वाचित अध्यक्ष खड्ग धामीले आफूले गरेको संस्थामा आर्थिक पारदर्शिता र स्वच्छ खानेपानी वितरण गर्ने प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ ।

खानेपानीका यसअघिका कार्यसमितिले संस्थाको लाखौं रुपियाँ पेश्की लिएर व्यक्तिगत काममा खर्च गरेका थिए । सचिव मनीष बलायरले सात लाख ७० हजार पेश्की लिएर कार्यकालभरी चलाउनु भएको थियो भने अघिल्ला कार्यसमितिका उपाध्यक्षले लिएको दस लाख पेश्की अझै असूल भएको छैन । १५ लाख ७५ हजार लिटर क्षमताका चारवटा आकाशे ट्याङ्कीमार्फत पानी वितरण गर्दै आएको खानेपानीले गत वर्ष पानी महसुल र धारा जडानबाट ६६ लाख र पानीको महसुलबाट तीन करोड ४२ लाख आम्दानी गरेको छ । खानेपानीले नगर विकास कोषको १३ करोड आठ लाख ऋण तिर्न बाँकी छ ।