नवराज नेपाली
बागलुङ (गलकोट), भदौ ३ गते । वर्तमान उच्चशिक्षालाई समय अनुसारको र रोजगारी सिर्जना गर्ने खालको बनाउनुपर्ने बागलुङमा आयोजित एक कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
धवलागिरी बहुमुखीक्याम्पस बागलुङको ६३ औँ स्थापनादिवसको अवसरमा आयोजित धवलागिरीमा उच्च शिक्षा : सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले वर्तमानशिक्षाले विद्यार्थीलाई माटासँग जोड्न नसक्दा समस्या भइरहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले नेपालमा केही नभएका कारण विदेशीय भन्नु गलत भाष्य भएको बताउनुभयो । ‘‘नेपालमा केही छैन त्यसकारण सबै विदेश गए भनेर भन्नु गलत छ’’ उहाँले भन्नुभयो, ‘‘नेपालमा केही न केही भएको छ । जति हुनुपर्ने हो त्यति भएको छैन । हामीले यही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भरोसा सिर्जना गर्न नसकेका कारण विदेश जानेक्रम बढेको हो ।’’ नयाँ सीप र क्षमता विकास गर्न र शिक्षा आर्जनका लागि विदेश जान दिनुपर्ने उहाँको मत छ ।
कार्यक्रममा बागलुङ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले धवलागिरी क्याम्पसलाई सबैको क्याम्पस बनाउन आग्रह गर्नुभयो । ‘‘अहिले क्याम्पस यहाँआउने विद्यार्थी, प्राध्यापक, कर्मचारीहरुका लागि मात्रै क्याम्पस भएको छ,’’ उहाँले भन्नुभयोे, ‘‘यसलाई सबैको क्याम्पस बनाउनका लागि क्याम्पसले मेहनत गर्नुपर्छ । त्यसो भएको खण्डमा मात्रै यहाँको समुदायले पनि दिलखोलेर सहयोग गर्छ ।’’ उहाँको क्याम्पसले स्पष्ट कार्ययोजना लिएर आए नगरपालिकाको सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नेपाली कांग्रेस बागलुङका सचिव एवम् जैमिनी नगर उपप्रमुख हरिहर शर्मा, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष एवम् काठेखोला गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले शैक्षिक संस्थाहरुले विद्यार्थीलाई चाहे जसरी विकास गर्नुपर्नेमा जोड दिन आग्रह गर्नुभएको थियोे
धवलागिरी बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य जगन्नाथ आचार्य, बागलुङ नगरपालिकाका पूर्व प्रमुख जनकराज पौडेल, म्याग्दी बहुमुखी क्याम्पस प्रमुख श्रीधर शर्मा, पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटा, स्वतन्त्र विद्यार्थी युनियन धवलागिरी क्याम्पसका अध्यक्ष आस्मिन शेख, शिक्षक भूमिराज गौतम, पूर्व स्ववियु अध्यक्ष सुदिपसागर कँडेल, चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठ, धवलागिरी बहिरा आवासीय टेक्स विद्यालयका प्रध्यानाध्यापक रेशम श्रीस, विद्यामन्दिर माविका प्रअ छविरमण रेग्मी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यल गायतले सुझाव राख्नुभएको थियोे ।
कार्यक्रममा धवलागिरी बहुमुखी क्याम्पस बिबिएका पूर्ण संयोजक विप्लव शर्माले बिबिएमा क्याम्पसले गरेको प्रगति बारेमा जानकारी गराउनुभएको थियोे भने डा. देवबहादुर क्षेत्रीले पछिल्लो समय विद्यार्थीले छनोट गर्ने विषयहरुका बारेमा अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।
वि.सं. २०१९ साल जेठ १ गते स्थापना भएको क्याम्पसमा भदौ २ गतेबाट औपचारिक पठन–पाठन सुरु भएको दिन पारेर स्थापना दिवस मनाइएको हो । क्याम्पसले श्रीपञ्चमीमा वार्षिकोत्सव मनाउने गरेका कारण यो दिन ओझेलमा परेकाले यसलाई पनि उजागर गर्न अहिले कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ ।