बबई समाचारदाता
बबई (बर्दिया), भदौ ३ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दियाको बबई पुलको छेउछाउ पछिल्ला वर्ष गोहीको प्राकृतिक वासस्थानका रूपमा विकसित हुँदै गएको छ । पुलको तल्लो भागमा अहिले एक दर्जनभन्दा बढी मगर र घडियाल गोही देख्न सकिन्छ, जसका कारण यो स्थान पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
नेपालमा दुई प्रकारका मगर गोही र घडियाल गोही पाइन्छन् । मगर गोही घडियालको तुलनामा आक्रामक हुन्छ र मानिसलाई समेत आक्रमण गर्न सक्छ भने घडियाल गोही अपेक्षाकृत सहज हुने र आहाराका लागि माछा मात्र खाने गर्छ । घडियाल गोहीको मुख चुच्चो हुन्छ भने मगर गोहीको मुख गोलो हुन्छ । मगर धमिलो पानीमा पनि बस्न सक्छ भने घडियाललाई भने सफा पानी र बालुवा आवश्यक पर्छ । यिनै कारणले बबई पुल मगर गोहीका लागि उपयुक्त वासस्थान बन्दै गएको हो । राजमार्गसँग जोडिएको पुल भएकाले यहाँबाट यात्रुले सजिलै गोही देख्न सक्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको पुल क्षेत्रमा सवारीसाधन रोक्न नदिइए पनि धेरै यात्रुले चालकलाई बिस्तारै गाडी चलाउन आग्रह गरी गोही अवलोकन गर्ने गरेका छन् । बारबर्दिया–९ का विवेक भण्डारीका अनुसार पुलमा पुग्ने यात्रुको पहिलो चासो नै गोही अवलोकन हुने गरेको छ ।
हिउँदमा बबई सिँचाइ आयोजना अन्तर्गत निर्माण गरिएको बाँधमा पर्याप्त पानी रहने भएकाले गोहीको उपस्थिति अझ बढी देखिन्छ । बाँधमा कार्यरत कर्मचारी गणेशबहादुर भण्डारीका अनुसार बबई पुलवरिपरि मगर र घडियाल दुवै प्रजातिका गोही पाइने गरेका छन् र पछिल्ला वर्षमा तिनको सङ्ख्या निरन्तर बढ्दो क्रममा छ । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार निकुञ्जको भित्री क्षेत्रमा पहिले नै गोहीको वासस्थान रहेको भए पनि बबई पुलमा पनि प्राकृतिक रूपमा वासस्थान विस्तार भएको छ ।