• ३ भदौ २०८२, मङ्गलबार

मिलनचोक–सालिजा कृषि सडक कालोपत्रे सुरु

blog

मिलनचोक–सालिजा सडक अन्तर्गत खोलाखेतमा सडक कालोपत्रे गरिँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 
म्याग्दी, भदौ ३ गते ।
पर्वतको जलजला गाउँपालिका-७, मिलनचोकदेखि वडा नम्बर ६ सालिजा जोड्ने कृषि सडकअन्तर्गत वडा नम्बर ४ खोलाखेतमा सडक कालोपत्रे गर्न थालिएको छ ।

गत आर्थिक वर्षमा सङ्घीय सरकारबाट विनियोजन भएको पाँच करोड १५ लाख रुपियाँ लागतमा पहिलो चरणमा लुङ्दीखोला मोटरेबल पुलदेखि खोलाखेत गाउँसम्म सडक स्तरोन्नति योजना थालिएको थियो ।

सडक डिभिजन कार्यालय पोखराले गत आर्थिक वर्षको फागुन र वैशाखमा गरेर दुई वटा प्याकेजमा ठेक्का लगाएर सडक स्तरोन्नतिको काम अगाडि बढाएको हो ।

सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न कार्यालयले माछापुच्छ्रे निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो । निर्माण व्यवसायीले खोलाखेतमा सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर ६ मिटर चौढाइ र  सात सय ४० मिटर दूरीमा कालोपत्रे गर्न प्राइम कोट (बिटुमिन) बिछ्याउन थालेको सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर लोकेश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम अनुकुल भए १० देखि १५ दिन भित्रमा यो खण्डमा कालोपत्रे गर्ने काम सकिने छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्म ठेक्काको म्याद भए पनि विभिन्न कारणले योजना सम्पन्न गर्न ढिलाइ भएकाले आगामी पुस मसान्तसम्म म्याद थप गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलोपटक थपिएको म्याद भित्र नै सडक स्तरोन्नति योजना सक्ने गरी उपकरण र जनशक्ति परिचालन गरेको निर्माण व्यवसायी कलाधर आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पहिलो खण्डअन्तर्गतको सडक निर्माणको काम १५ दिन भित्रमा सक्ने तयारी छ । दोस्रो खण्ड लुङ्दी खोला मोटरेबल पुलदेखि खोलाखेत गाउँसम्मको सडक निर्माणको काम मङ्सिर महिनाभित्र नै निर्माण सम्पन्न गर्न प्रयाप्त मात्रामा उपकरण र जनशक्ति परिचालन गरी सडक निर्माणको काम भइरहेको छ ।’’

करिब दुई दशक अघि ट्रयाक खोलिएको मिलनचोक–लेखफाँट–सालिजा जोड्ने सडक स्तरोन्नति नहुँदा कृषि उत्पादनको बजारीकरण र आवतजावतमा समस्या हुने गरेको र अहिले सडक स्तरोन्नति हुनथालेपछि स्थानीयहरू उत्साहित भएको खोलाखेतका स्थानीयवासी धनबहादुर हमालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कच्ची सडक हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोले सास्ती भएको थियो । अब भने सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि धुलो र हिलोबाट मुक्ति पाउने भइयो ।’’  

कच्ची, जीर्ण र साँघुरो सडकका कारण कृषि उपजको बजारीकरण र आवतजावतमा सर्वसाधरणहरूले वर्षौँदेखि समस्या भोग्दै आएका छन् । ट्रयाक खोलेको दुई दशकपछि सडक स्तरोन्नतिसहित कालोपत्रे थालिएपछि स्थानीयहरू खुसी भएका छन् ।

यसैगरी, गण्डकी प्रदेश सरकारले गत वर्ष विनियोजन गरेको एक करोड ७९ लाख रुपियाँ बजेटले  मिलनचोक बजारदेखि लुङ्गदी खोलाको मोटरेबल पुलसम्म करिब १५ सय मिटर दूरीको सडक स्तरोन्नति गर्ने योजना पूर्वाधार विकास कार्यालय पर्वतले अगाडि बढाएको छ ।

योजनामा सडक फराकिलो पार्ने, पक्की नाली निर्माण, सडक ढलान, कालोपत्रे र सोलिङ गर्ने योजना भए पनि प्रदेश सरकारले गत आर्थिक वर्षमा काम गरेअनुसारको रकम निर्माण व्यवसायीलाई भुक्तानी गर्न नसक्दा काम रोकिएको छ ।   

निर्वाचनका बेला सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए अनुसार उक्त सडकलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजनका लागि पहल गरेको पूर्व मन्त्री तथा पर्वतबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पदम गिरीले बताउनुभयो । आगामी दुई वर्ष भित्रमा मिलनचोक–लेखफाँट–सालिजा सडक कालोपत्रेसहित स्तरोन्नति योजना सम्पन्न गर्न आफूले पहल गरिरहेको उहाँको भनाइ छ ।  

खोलाखेतमा सडक स्तरोन्नति योजना सञ्चालन हुने स्थानीयहरू उत्साहित भएको जलजला गाउँपालिका–४ का वडाध्यक्ष भरत जिसीले बताउनुभयो ।

उहाँका अनुसार सडक स्तरोन्नति भएपछि जलजलाको वडा नम्बर ४ खोलाखेत, ५ को रातामाटा, लेखफाँट, ६ को भोटेडाँडा, सालिजा र ठोटनेरीका स्थानीयहरू लाभान्वित हुने छन् । मिलनचोकदेखि सालिजा सम्मको सडक निर्माण गर्न अझै करिब दस करोड रुपियाँभन्दा बढी लाग्ने भएकाले सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।