• ३ भदौ २०८२, मङ्गलबार

लोकतान्त्रिक योद्धा वासुदेवशरणको निधन

blog

स्वर्गीय वासु (वासुदेवशरण) कोइराला

काठमाडौं, भदौ ३ गते । नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, त्यागी र समाजसेवी वासु (वासुदेवशरण) कोइरालाको ९३ वर्षको उमेरमा आज भदौ ३ गते  बिहान निधन भएको छ । 

उहाँको निधनमा नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । काभ्रेको खोपासीमा जन्मिनुभएका स्वर्गीय कोइराला २०१२ सालदेखि नेपाली कांग्रेसको नीति, कार्यक्रममा समर्पित हुनुहुन्थ्यो । २०१५ सालको निर्वाचन, सुवर्ण शम्शेरको नेतृत्वको २०१८ को तथा बीपी कोइरालाको आह्वानको २०३०–३२ को सशस्त्र सङ्घर्ष एवं २०४२ को सत्याग्रहमा सक्रिय सहभागी रहनुभएका स्वर्गीय कोइरालाले लामो समय यातनापूर्ण कारावास र ४ वर्ष निर्वासित जीवन बिताउनुभएको थियो ।

 उहॉ नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापतिका साथै पटक–पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहनुभयो । २०७१ मा नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाको उहाँ उपाध्यक्ष हुनुहुन्थ्यो । 

किसान आन्दोलनको नेतृत्व गर्नुभएका स्वर्गीय कोइराला पार्टीको भ्रातृ संस्था नेपाल किसान सङ्घको केन्द्रीय अध्यक्षसमेत हुनुभयो ।

शैक्षिक क्षेत्रको उन्नयनमा उहॉको उल्लेख्य योगदान रह्यो । 

उहँले काठमाडौं र सर्लाहीमा ‘नवजीवन विद्याश्रम’ नामक स्तरीय विद्यालय स्थापना र सञ्चालन गरी निःशुल्क पठन–पाठनको व्यवस्था गर्ने कार्यमा विशिष्ट भूमिका निर्वाह गर्नुभएको थियो ।

हाल उहाँ सर्लाहीको जुटपानी (नवलपुर) स्थित आफ्नै निवासस्थानमा वृद्धाश्रम स्थापना गरी वृद्ध–वृद्धाहरूको सेवामा समर्पित हुनुहुन्थ्यो । उहाँले आफ्नो पार्थिव शरीर पनि बी.पी. कोइरालाको नाममा स्थापित धरानको स्वास्थ्यविज्ञान प्रतिष्ठानलाई चिकित्सा विज्ञान अनुसन्धान गर्ने विद्यार्थीहरूको सहयोगार्थ दान दिनुभएको थियो । 

उहाँका श्रीमती मञ्जु कोइराला, छोरीहरू— मीनु र रेबिका (रश्मि) र छोरा नीरज हुनुहुन्छ ।

नेपाली समाजका एक आदर्श पुरूष, नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी कोइरालाको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ । 

नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभएको छ— “नेपाली कांग्रेस ज्येष्ठ राजनीतिज्ञ सभाका पूर्व उपाध्यक्ष, नेपाल किसान सङ्घका पूर्व अध्यक्ष, नेपाली कांग्रेस सर्लाहीका पूर्व जिल्ला सभापति एवं नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा, प्रजातन्त्र सेनानी वासु (वासुदेवशरण) कोइरालाको निधनको खबरले मलाई अत्यन्त दुःखित र स्तब्ध बनाएको छ । पार्टी र भ्रातृ संस्थाको विभिन्न पदीय जिम्मेवारीमा रहेर स्वर्गीय कोइरालाले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनासाथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”