विसं २०४६ तिरको कुरा हो । त्यसबेला ब्रोडसिट पेपरका रूपमा गोरखापत्र मात्र थियो । गोरखापत्र सर्वाधिक बिक्री हुने र अत्यन्तै लोकप्रिय पत्रिका थियो । पत्रिका बिहानै बजारमा आउँथ्यो । पत्रिका किनेर पढ्न आतुर भइन्थ्यो । पत्रिकामा खास गरी मुख्य पृष्ठ र सम्पादकीयले ध्यान खिच्थ्यो । त्यस पत्रिकामा खेलकुदका समाचार, लेख बिरलै पढ्न पाइन्थ्यो । खेलकुदका समाचारलाई पनि अलिक स्थान दिनु पर्यो भनेर सम्पादकसँग अनुरोध गर्दा खेलकुद कसैले पढ्दैनन्, त्यो समाचार अनुत्पादक हुन्छ भन्छन्, हेरौँला केही गर्न सकिन्छ कि भनेर जवाफ आउने गथ्र्याे ।
त्यसपछि फुटबलको लिग म्याच चल्यो । लिग म्याचको समाचार छापिएन । समाचार लिएर म आफैँ गोरखापत्र संस्थान पुगेको थिएँ । समाचार प्रकाशित गरिदिन अनुरोध गर्दा खेलकुदको न्युज कसैले पढ्दैनन् के छाप्नु, तैपनि प्रयास गरौँला भनेपछि म खेलकुद परिषद् फर्किएको थिएँ । त्यसबेला म परिषद्मा कर्मचारी थिएँ । पत्रपत्रिकामा खेलकुदका गतिविधि जबसम्म प्रकाशित हुँदैनन्, तबसम्म सर्वसाधारणले खेलकुदबारे थाहा पाउँदैनन् । जनतासम्म पुग्ने एक सशक्त माध्यम हो पत्रिका । पत्रिकामा समाचारका लागि स्थान दिलाउन धेरै पापड बेल्नु परेको थियो । हामीले पुर्याइदिएका समाचार सम्पादकका लागि विश्वसनीय नहुने अनि पत्रकार खटाएर समाचार सङ्कलन गर्न नसक्ने स्थिति थियो ।
पत्रपत्रिकालाई समय र परिस्थितिले पनि प्रेसर पार्छ । गोरखापत्रलाई पनि त्यस्तै नभएको होइन । राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण समाचार सम्प्रेषण गर्ने काम गोरखापत्रले गर्नु पर्यो । राजाले समुद्घाटन गरेको समाचार, युवराज, अधिराजकुमारले पुरस्कार वितरण गरेको समाचार विभिन्न खेलको राष्ट्रिय रेकर्ड तोडेका समाचार, अञ्चल अञ्चलले जितेका पदक सङ्ख्या, मेडल तालिका आदि गोरखापत्रमा सानसँग प्रकाशित हुने गर्दथे । यसै गरी दक्षिण एसियाली खेलकुदका सम्पूर्ण घटना गोरखापत्रले राम्रोसँग छापेको सम्झना छ । सरकारको सवारी र पुरस्कार वितरणलाई विशेष स्थान दिएर छाप्न पथ्र्यो । नयाँ राष्ट्रिय रेकर्ड कायम गर्ने खेलाडीको तस्बिर छापिन्थ्यो । यसरी जनताले खेलकुदलाई स्वागत गर्न थालेका थिए गोरखापत्रका माध्यमबाट । अतः खेलकुद सकिएपछि पनि खेलप्रेमीले खेलकुदका घटना जानकारी प्राप्त गर्ने अभिलाषा राखे गोरखापत्रसँग ।
एउटा कुरो के हुँदो रहेछ भने नेतृत्व वर्गले खेलकुदलाई नकारात्मक दृष्टिले हेर्न थाले भने समाचार छापिन रोकिँदा रहेछन् । किन हाम्रो समाचार छापिएन भनेर सोध्यो भने माथिबाट नै नकारात्मक दृष्टिले हेरिएको छ । हामी केही गर्न सक्दैनौँ भन्थे रिपोर्टरहरू ! उनीहरूको कुराबाट के थाहा हुन्थ्यो भने नेतृत्व वर्गसँग समन्वय गर्न आवश्यक छ । समय परिस्थितिलाई सकारात्मक दिशातर्फ मोडदिन नेतृत्व वर्गसँग समन्वय पनि गर्नु प¥यो ।
हुँदा हुँदा एउटा बेला यस्तो आयो कि अहिले खेलकुदको समाचार छैन भने पत्रिका नै भेटिन्न । हामीले यस सम्बन्धमा एउटा सर्भे गरेका थियौँ । त्यो सर्भे एक सय जना (रेन्डम) माथि गरिएको थियो । एक सय जनालाई एउटै प्रश्न सोधिएको थियो । “तपाईं गोरखापत्रमा सबभन्दा पहिले कुन समाचार पढ्न रुचाउनुहुन्छ ?” ५० प्रतिशतले राजनीतिक समाचार, लेख पढ्न रुचाउनुभएको पाइयो । त्यसै गरी (त्यसबेला) ३० प्रतिशतले खेलकुदका समाचार, लेख पढ्ने रहेछन् र २० प्रतिशतले विविध समाचार हेर्न मन पराउने रहेछन् ।
हामीले यो सर्भे गोरखापत्रको नेतृत्व वर्गसमक्ष पुर्याएका थियौँ तर तपाईंहरूको हावादारी सर्भे नतिजाको केही मूल्य छैन भनेर फर्काइयो । समयले अर्कै मोड लियो । बजारमा अरू राष्ट्रिय ब्रोडसिट पत्रिकाको उदय भयो । खेलकुदलाई विशेष स्थान दिन थालियो । खेलकुदका रिपोर्टर नियुक्त भए । खेलकुद डेस्क खडा भयो । खेलकुदको पेज तय भयो ।
यसरी नै गोरखापत्रले आफ्नै रिपोर्टर डेक्स, आफ्नै पेज तय गर्यो । फलस्वरूप पत्रिकाको अन्तिम पृष्ठमा खेलकुद पढ्न पाइने भयो । गोरखापत्रले साना, ठुला खेलकुदका घटनालाई समेट्न थाल्यो । शनिबारको पृष्ठमा कहिलेकाहीँ खेलकुदसम्बन्धी विचारप्रधान लेख, अन्तर्वार्ता पनि प्रकाशित हुन थाले ।
जति जति पत्रकारले खेलकुदका घटनालाई जनतासमक्ष सम्प्रेषण गर्दछन्, त्यति नै मात्रामा जनताप्रति खेलकुद भावना सकारात्मक बन्दै जान्छ । ‘राष्ट्रका लागि खेलकुद’, ‘स्वास्थ्यका लागि खेलकुद’ नारा सफल हुँदै जान्छ । फलस्वरूप यसको प्रभाव शिक्षामा पनि पर्दछ । गोरखापत्रलगायत अन्य पत्रपत्रिकाको सकारात्मक प्रयासले विद्यालयमा खेलकुद अनिवार्य बन्न लागेको छ ।
लोकतन्त्रपछि खेलकुद पत्रकारिताको आवश्यकता, महत्व झन् झन् बढ्दै गएको छ । प्रायः ब्रोडसिट पत्रिकामा खेलकुदका समाचार पढ्न पाइन्छ । गोरखापत्रमा मात्रै होइन, प्रायः सबै ठुला पत्रपत्रिकाले खेलकुद एक अनिवार्य विषय हो भन्ने बोध गराइसकेका छन् । खेलकुदका घटना (प्रतियोगिता, प्रेस सम्मेलन) आदि हुनेबित्तिकै सबै पत्रिकाका खेलकुद रिपोर्टर समाचार सङ्कलन गर्न पुगेका हुन्छन् ।
खेल पत्रकारिताको विकासमा गोरखापत्रको यात्रा सुखद छ । गोरखापत्रले सङ्गठित रूपमा खेलकुद पत्रकारिताको आवश्यकताबोध नगराएको होइन । गोरखापत्रलगायतको प्रयासबाट नेपालमा खेलकुद पत्रकारिताको संस्थागत विकास भएको छ । यसको ज्वलन्त उदाहरण ‘नेपाल खेलकुद पत्रकार मञ्च’ नै हो । ‘खेलकुद पत्रकार मञ्च’ को उदय भएपछि खेलकुद पत्रकारको मान, मर्यादा, इज्जत बसेको छ । यस मञ्चमा खेलाडीहरूको कदर हुने गरेको छ । प्रशिक्षक व्यवस्थापक र खेलाडीलाई एक भव्य कार्यक्रमबिच विभिन्न पुरस्कार, सम्मान वितरण गरिन्छ । साथै यस मञ्चले खेल पत्रकारको हकहितका लागि पनि काम गर्ने गरेको छ ।
यहाँ मैले २०४६ सालतिरको एक सम्झना गरिरहेको छु । खेल पत्रकारिता अन्तर्गत नौला विषयलाई स्थान दिने काम गोरखापत्रले गरेको कुरा मलाई सम्झना छ । त्यसताका म भर्खरै जर्मनीबाट स्पोर्ट्स साइकोलोजीमा एमएस गरेर फर्किएको थिएँ । खेल मनोविज्ञान सर्वथा नेपालमा एक नौलो विषय थियो । भारतको पटियाला गान्धीनगरमा गएर खेलकुद विज्ञान पढ्नेले खेल मनोविज्ञान विषय पनि पढ्थे । खेलाडीको खेल खेल्ने मानसिकताको उतारचढाव, प्रतियोगिताअगाडिको तनाव नर्भसनेस, हतासी, असन्तुलित संवेगलाई खेल मनोविज्ञानले हेर्दछ । अध्ययन गरेर निराकरण हुन्छ भन्ने कुरा खेल मनोविज्ञानमा प्रयोग गरिन्छ । थोरै खेलाडीलाई न्युज, पाठकलाई खेल मनोविज्ञान थाहा होला । अझ कसै कसैले त खेलकुदमा मनोविज्ञान हुन्छ भन्ने कुरा विश्वास नै गर्दैनथे । खेल त एक प्राविधिक विज्ञान हो, यो प्रशिक्षणपश्चात् सिकिन्छ भन्थे उनीहरू तर प्राविधिक विज्ञानलाई पनि गर्व गर्ने मनोविज्ञान नै हो । मन स्वस्थ, हुनु पर्छ अस्वस्थ मनले खेल खेल्नै सक्दैन । आदि इत्यादि कुरा जनतासमक्ष पुर्याउने कसरी ? यो एक आवश्यक कुरा हो । नेपालका खेलाडीलाई जतिसक्दो छिटो खेल मनोविज्ञानसम्बन्धी ज्ञान दिने चिन्ताको विषय भइरहेका बेला तत्कालीन प्रमुख पत्रिका गोरखापत्रमा अनुरोध गरेर लेख प्रकाशित गर्ने विचार गरियो । यस काममा वरिष्ठ पत्रकार भाषाविद् शरच्चन्द्र वस्तीले मलाई पूर्ण सहयोग गर्नुभयो । “नेपालको सन्दर्भमा यो एक नौलो विषय हो । यसलाई जनतासमक्ष पुर्याउने हाम्रो जिम्मेवारी हो । तसर्थ साप्ताहिक रूपमा केही खेल मनोविज्ञानसम्बन्धी जनताले बुझ्ने किसिमले लेख लेखेर दिनुहोस्, हामी प्रकाशित गर्छौं,” उहाँले भन्नुभयो । नभन्दै २०४६ सालतिर ‘खेलकुदको पनि मनोविज्ञान हुन्छ’ भन्ने लेख प्रकाशित भयो । खेल पत्रकारिताका माध्यमले सो लेख खेलाडी, प्रशिक्षक, व्यवस्थापक सबैले मन पराए । त्यसपछि ‘प्रतियोगिता अगाडिको आतेस’ (माघ २८, २०४६), ‘दुविधा’ ‘किन हतास हुन्छन् खेलाडीहरू’ (पुस ८, २०४६), ‘खेलकुदमा प्रत्यक्षीकरणको महत्व’ (२०४७ वैशाख १५) लगायत अन्य केही लेख गोरखापत्रमा प्रकाशित भयो । गोरखापत्रले खेलकुदमा मनोविज्ञान अनिवार्य हुन्छ भन्ने कुरा बोध गराइदिएको थियो । तत्पश्चात् नेपालमा खेल मनोविज्ञान व्यावहारिक रूपमा प्रयोग हुन थाल्यो । यो क्रम अहिलेसम्म निरन्तर चलिरहेको छ । यसक्रममा खेलकुदले गोरखापत्रलाई सधैँ सम्झिएको छ ।
आज समय धेरै अगाडि बढिरहेको छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा गोरखापत्रले पनि आफ्ना प्रतिनिधि पठाएर समाचार सङ्कलन गर्ने गरेको छ । खेल पत्रकारिताको विकासमा गोरखापत्रले सुरुको अवस्थादेखि नै अहम् भूमिका निर्वाह गरिरहे पनि अझ गर्नुपर्ने केही काम छन् । जसलाई गोरखापत्रले ध्यान दिनु पर्छ भन्ने मेरो विचार छ ।
१. मुलुकको सबैभन्दा जेठो अखबारका रूपमा रहेको गोरखापत्रले सरकारलाई समय समयमा खेलकुदसम्बन्धी सुझाव दिनु पर्दछ, अझ भनौँ ‘वाच डग’ को भूमिका निर्वाह गर्नु पर्छ ।
२. खेल पत्रकारिताको कुरा गर्दा गोरखापत्रले खेलकुदमाथि मन्थन गर्ने, मूल्याङ्कन गर्ने लेखलाई स्थान दिनु पर्दछ । लेखहरू आह्वान पनि गर्नु पर्दछ । उदाहरणका लागि गोरखापत्रले काभा महिला प्रतियोगिता सकिनासाथ मन्थन, मूल्याङ्कन गरेर समीक्षात्मक लेख प्रकाशित गर्न सके उत्तम हुने छ । यसै गरी अन्य खेल पुरुष क्रिकेट, महिला क्रिकेट, फुटबलसम्बन्धी लेख्न सकिने थुप्रै विषय छन् । गोरखापत्रले मन्थन, मूल्याङ्कन गर्ने परिपाटी सुरु गर्यो भने अरूले पनि यो परिपाटी सुरु नगर्नलान् भन्न सकिन्न । नेपालमा यस कुराको कमी छ । यसको अभाव पूर्ति गोरखापत्रबाट नै सुरु हुने छ ।
३. गोरखापत्रले न्युज स्पेस घटाउनुको सट्टा बढाउनु पर्छ । २०४६ सालदेखि स्पोर्ट्स कभरेज भएको पत्रिका पूरा पेजमा खेलकुदको रिपोर्टिङ गरिनु पर्छ, खुम्चिनु राम्रो होइन ।
४. प्रदेश खेलकुद गतिविधिलाई पनि विशेष स्पेस दिनु पर्छ ।
५. आवश्यक भएमा स्पोर्ट्स रिपोर्टर थप गर्नु पर्छ । स्पोर्ट्स डेक्स सुविधासम्पन्न बनाउनु पर्छ ।
६. अनलाइन कभरेज पनि विस्तृत बनाइनु पर्छ ।
७. प्रायः शनिबार अन्य लेख प्रकाशित हुने हुँदा अन्य कुनै दिन खेलकुदसम्बन्धी लेखलाई स्थान दिनु पर्छ ।
८. स्पोटर्स सप्लिमेन्ट पाक्षिक रूपमा प्रकाशित गर्नु पर्छ ।
९. स्पोर्ट्स म्यागजिन पनि प्रकाशित गर्नु पर्छ ।
अन्त्यमा माथि उल्लेख गरिएका कुरालाई गोरखापत्र जस्तो महत्वपूर्ण पत्रिकाले लागु गर्न सक्यो भने साँच्चै खेल पत्रकारिताको विकासमा ठुलो योगदान हुने छ ।
सन्दर्भ सूची
विभिन्न समयका गोरखापत्र, ‘मधुपर्क,’ ‘दी राइजिङ नेपाल’,
पत्रपत्रिका हाते किताब, NPI
David Waif Wright, Journalism Made simple
प्रकाशनको दिग्दर्शन : प्रेस काउन्सिल
एनपिआईका विभिन्न नोट
लेखक वरिष्ठ खेलकुद पत्रकार हुनुहुन्छ ।
प्रस्तुत आलेख ‘ खेल पत्रकारिताको अगुवा गोरखापत्र ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।