गोविन्द शर्मा
बाँके, भदौ ३ गते । नेपालगन्ज–गुलरिया सडक खण्डअन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पुल निर्माण प्रक्रिया अघि बढेको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लिलाबहादुर भण्डारीले वर्षातको समयमा नालाको पानी सडक भएर बग्ने समस्याको अन्त्यका लागि पुल निर्माणको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो ।
योजना प्रमुख भण्डारीले भन्नुभयो, “वर्षातको समय सकिनासाथ निर्माण कार्य सुरु भई वैशाखभित्र पुल निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता सम्पन्न भइसकेको छ ।”
पेडारी नाला पुल निर्माणका लागि २०८२ जेठ १९ गते सम्झौता भइसकेको छ । नारायणम निर्माण सेवासँग २०८३ वैशाख १८ गते भित्र निर्माण सम्पन्न गर्ने गरी भ्याटसहित आठ करोड ९६ लाख रुपियाँमा ठेक्का सम्झौता भएको हो ।
खजुरामा चारलेन सडक भए पनि वर्षौ पहिले निर्माण भएको साँघुरो र जीर्ण पुल भएका कारण सानो वर्षातमा समेत नालाको पानी सडक भएर बग्दा वर्षायाममा पटक पटक आवागमन प्रभावित हुने गरेको छ ।
नयाँ निर्माण गर्न लागिएको पुल २२ मिटर चौडाई र ३४.४ मिटर लम्बाईको छ । यसैगरी पुलको दुबैतर्फ दुई सय मिटर एप्रोच सडक पनि निर्माण गरिने छ ।
खजुराका स्थानीय बासिन्दा समेत रहनुभएका लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्व मन्त्री रत्न खत्रीले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्नका लागि निरन्तर खबरदारीसँगै समन्वय र सहकार्य गर्ने बताउँदै खजुरावासीले अबको अर्को वर्षातसम्म पुलका कारण भोग्नुपरेको समस्या हल हुने विश्वास व्यक्त गर्नुभयो ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले नेपालगन्जदेखि बर्दियाको गुलरीया जोड्ने हुलाकी सडकअन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बग्ने गरेको बताउनुभयो ।
वर्षातको समयमा आवागमनमा कठिनाइ भए पनि पालिकाले ट्याक्टरको प्रयोग गरेर पनि यात्रुहरूको उद्धार गर्ने गरेको बताउनुभयो । उहाँले पुल निर्माणमा आवश्यक सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले पेडारी नाला पुलको दक्षिणतर्फ खोलाको भागमाथि आएको र साँघुरो भएको भन्दै स्थानीय तहसँग सहकार्य गरी तटबन्धन र अन्य निर्माण कार्य अघि बढाउने जनाएको छ ।