• ३ भदौ २०८२, मङ्गलबार

शरीरबाट गोलीको छर्रा निकालियो

blog

शल्यक्रियाबाट गोलीको छर्रा निकालिंँदै ।

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ ३ गते ।  २० वर्षअघि सशस्त्र द्वन्द्वकालको समयमा तत्कालीन विद्रोही पक्षसँग भएको भिडन्तका क्रममा प्रहरी सहायक निरीक्षकको बायाँ खुट्टामा लागेको गोलीको छर्रा शल्यक्रिया गरेर निकालिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हुच्छे प्रधानले शल्यक्रिया गरेर लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक इन्द्रनाथ योगीको बाँया खुट्टाबाट गोलीको छर्रा निकालिएको बताउनुभयो । 

उहाँले सो अस्पतालमा कार्यरत हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायब उपरीक्षक डा. श्यामकृष्ण लौडारी, प्राविधिक प्रहरी निरीक्षक वृन्दा चापागार्इं, प्राविधिक प्रहरी नायब निरीक्षक प्रगति खड्का र प्रहरी जवान शान्ति सुनारलगायतको टोलीले शल्यक्रिया गरेर गोलीको छर्रा निकालेको जानकारी दिनुभयो । 

प्रहरी सहायक निरीक्षक योगीको बायाँ खुट्टा दुख्ने समस्या भई बुधबार अस्पतालमा परीक्षणका लागि आउनुभएकोमा परीक्षण गरेर बायाँ खुट्टाको माथिल्लो भागमा गोलीको छर्रा रहेको पुष्टि भएपछि शल्यक्रिया गरिएको लुम्बिनी प्रदेश प्रहरी 

अस्पतालले जनाएको छ । अस्पतालका अनुसार २०६२ सालमा द्वन्द्वकालका समयमा प्रहरी सहायक निरीक्षक योगीको बायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो । अस्पताल प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. प्रधानले हालै मात्र सो अस्पतालमा निर्माण पूरा गरेर सञ्चालनमा ल्याइएको अत्याधुनिक अपरेसन थिएटर भवनका कारण पश्चिम नेपालका बिरामी, प्रहरी र उहाँका परिवारका सदस्यको जटिल शल्यक्रिया पनि गर्न सहज भइरहेको बताउनुभयो ।