• ३ भदौ २०८२, मङ्गलबार

सहरमा ज्येष्ठ नागरिक खोज्दै गाउँपालिका

blog

गलकोट समाचारदाता

बागलुङ (गलकोट), भदौ ३ गते । जिल्लाको तमानखोला गाउँपालिका सेवाग्राही खोज्दै सहर पस्ने तयारी थालेको छ । गाउँ र वडा कार्यालयमा सेवाग्राहीको उपस्थिति कम भएपछि गाउँपालिकाले विभिन्न सहरमा शिविरको आयोजना गरेर सेवा प्रदान गर्ने तयारी थालेको हो ।

गाउँपालिकाले एक सूचना प्रकाशित गर्दै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीले प्रत्येक आर्थिक वर्षको भदौ मसान्तभित्र नवीकरण गर्ने व्यवस्था भएबमोजिम यस तमानखोला गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको नवीकरण गर्न देशका विभिन्न सहरमा पुग्ने जानकारी गराएको छ ।

तमानखोला गाउँपालिकाको सामाजिक सुरक्षा भत्ताका लाभग्राही ठुलो सङ्ख्यामा देशका मुख्य सहर काठमाडौँ, पोखरा र भैरहवामा रहेको तथा वर्षायामको समयमा नवीकरणका लागि वडा कार्यालयमा उपस्थित हुन समस्या हुने भनी विभिन्न माध्यमबाट गुनासो आएकाले गाउँपालिका नै सहर पस्ने तयारीमा लागेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लाभग्राही धेरै जसो गाउँपालिकाभन्दा बाहिर बसोबास गरिरहनुभएको छ । बर्खामा उहाँहरू वडा कार्यालयसम्म आएर कागजपत्र नवीकरण गर्न नसक्ने भन्ने गुनासो आइरहेको छ । नागरिकको घरदैलोको सरकारले नागरिकलाई सहज सेवा उपलब्ध गराउनु पर्छ भन्ने ठानेर नागरिक भएको ठाउँमा जाने तयारीमा रहेको जानकारी उहाँले दिनुभयो ।

सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राही नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै अनिवार्य उपस्थित हुनुपर्ने भएकाले ज्येष्ठ नागरिकलाई समस्या परेकाले यो निर्णय लिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लाभग्राही विवरण नवीकरणका लागि सम्बन्धित व्यक्ति नै अनिवार्य हुनुपर्ने, ल्याप्चे लगाउनुपर्ने र अनुहार मिल्नुपर्ने भएका कारण धेरै उमेर पुगेका र विभिन्न सहरमा रहेका हाम्रा लाभग्राही ज्येष्ठ नागरिकलाई गाउँ फर्किन समस्या परेकाले हामी नै सहरतर्फ जान थालेका हौँ ।” 

लाभग्राही कति जिल्लाबाहिर रहेका छन् भन्ने निश्चित नभए पनि दुईदेखि तीन सयको हाराहारीमा तमानखोलाका सामाजिक सुरक्षा भत्ताका लाभग्राही सहरी क्षेत्रमा रहेको भन्दै गाउँपालिकाले भदौ १ बाट एक हप्तासम्म सेवाग्राही खोज्दै सहर पसेको जानकारी दिनुभयो । 

भदौ २ गते पोखरा, भदौ ४ र ५ गते काठमाडौँ र भदौ ७ गते भैरहवामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीको कागजपत्र नवीकरणका लागि तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले बताउनुभयो । लाभग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न गाउँपालिकाले आवश्यक जनशक्ति र सामग्रीसहित टोली खटाउने बताइएको छ ।